पाँच हजार घुससहित विद्युतका कर्मचारी पक्राउ
महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरणको गड्डाचौकीस्थित कार्यालयमा कार्यरत एक कर्मचारी नगद पाँच हजारसहित पक्राउ परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले नेपाल विद्युत प्राधिकरण कार्यालय गड्डाचौकीको फ्युज सेवा कार्यालयमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका डीएसपी प्रेमसागर केसीले सेवाग्राहीबाट नगद पाँच हजार रुपैयाँ लिएको अवस्थामा रंगे हात पक्राउ गरेको बताए। उनका अनुसार विद्युतका कर्मचारी चन्दले सेवाग्राहीबाट मिटर उपलब्ध गराइदिने सर्तमा पाँच हजार रकम लिएका थिए।
विद्युत प्राधिकरणका कर्मचारीले मिटर उपलब्ध गराउने, जडान गर्ने र विद्युत सेवा दिने भन्दै सेवाग्राहीबाट पाँच हजार रकम लिएको उजुरी परेपछि उनलाई अख्तियारले रंगे हात समातेको हो।
नेपाल विद्युत प्राधिकरण कार्यालय महेन्द्रनगर शाखा र अन्य शाखाहरुमा लामो समयदेखी सेवा दिने नाममा कर्मचारीहरुले रकम असुल्ने गरेको यसअघि समेत गुनासो आउने गरेको थियो। कर्मचारीले मिटर जडान गर्ने नाममा रकम असुल्ने गरेका छन्।