पहिरो पन्छाउँदै गाडी चलाउँदै

पहिरो पन्छाउँदै गाडी चलाउँदै

ताप्लेजुङ : पाथीभरा याङ्वरक गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइका लागि सहभागी लिएर सदरमुकामबाट हिँडेका चालक धनबहादुर विक खोक्से खोलाछेउ सडक पहिरोले अवरुद्ध भएपछि तीन घण्टा रोकिए। दर्जनांै ठाउँमा खसेका पहिरो यात्रुको सहयोगमा पन्छाउँदै त्यहाँ पुगेका उनी अगाडि बढ्न सकेनन्। यात्रु थप डेढ घण्टा हिँडेर कार्यक्रममा सहभागी भए।

सदरमुकामबाट अरू बेला गाडीमा एक घण्टामा पुगिने भए पनि पहिरो पन्छाउँदै जानुपर्दा पाँच घण्टा लागेको थियो। ‘गाडीमा झम्पल, मार्तोल र कोदालो लिएरै हिँड्ने गरेको छु’, चालक विकले भने, ‘साना ढुंगा झरेको ठाउँमा दुःखसुख पार गरिन्छ तर पछिल्ला दिनमा झरी परिरहेको र गाउँ जाने सडकमा पहिरो झरेपछि गाह्रो भएको छ।’

सडकमा हैरानी खेप्दै आएका यात्रु स्थानीय सरकारले नयाँ ट्र्याक खोल्ने काम मात्र गरेको तर स्तरोन्नतिमा ध्यान नदिएको गुनासो गर्छन्। ‘विकासको पहिलो खुट्किलो सडक हो तर गाडी गुड्न नसक्ने सडकको के अर्थ रहन्छ ? ’, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘अब स्थानीय सरकारले यसमा ध्यान दिन जरुरी छ।’

पाथीभरा–याङ्वरक मात्र होइन, जिल्लाका सबै गाउँपालिका जाने सडकको हालत उस्तै छ। ताप्लेजुङमा कालोपत्रे सडक ३१ किलोमिटर मात्र छ। कालोपत्रेमा पनि पहिरो झरेर नालीसहित सडक पुर्ने, बगाउनेजस्ता समस्या छ। नौवटै स्थानीय तहका कच्ची सडकको त झनै बेहाल छ। जिल्ला समन्वय समितिको तथ्यांकअनुसार गत अर्थिक वर्षसम्म २ सय ७५ किलोमिटर कच्ची सडक निर्माण भएकोमा १ सय ५५ किलोमिटरमा मात्र यातायात नियमित सञ्चालन हुन्छ। कच्ची सडकमा खाल्डाखुल्डी पर्ने, खोल्सो पर्ने, खहरे खोलाले सडक बगाउनेजस्ता समस्या हुन्छ। नियमित सडक सञ्चालन गर्न चुनौती रहेको सिरिजंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए।

‘गाउँपालिका केन्द्र तेल्लोकसम्म हिउँदमा मात्रै गाडी आइपुग्छ, खाम्दिंगे बजारसम्म पनि चलाउने चुनौती छ’, उनले भने, ‘गाउँपालिकाले नै मेसिन खरिद गरेर तैनाथ अवस्थामा राख्ने कि भनेर छलफल गरिरहेका छौं।’

सडकमा हैरानी खेप्दै आएका यात्रु स्थानीय सरकारले नयाँ ट्र्याक खोल्ने काम मात्र गरेको तर स्तरोन्नतिमा ध्यान नदिएको गुनासो गर्छन्।

मेसिन भए अवरुद्ध सडक खुलाउने र यातायात नियमित गराउन सकिने मैवाखोला गाउँपालिकाको ठम्याइ छ। गाउँबाट सदरमुकाम जोड्ने सडक नियमित नचल्दा अहिले सदरमुकाममा बैंकिङ कारोबार गर्न आउनेलाई बढी समस्या हुने गरेको छ।

मैवाखोलाबाहेक अरू गाउँपालिकामा बैंक छैनन्। सेवाग्राहीले बैंकिङ कारोबारका लागि सदरमुकामै धाउनुपर्छ। पुल नभएको र खहरे खोला भएकाले फक्ताङलुङ गाउँपालिका जाने सडक सबैभन्दा जोखिमपूर्ण देखिएको छ। यहाँको केन्द्र तापेथोकसम्म उत्तर र दक्षिण लोकमार्ग आयोजनाअन्तर्गत सडक निर्माणपछि स्तरोन्नतिको काम भइरहे पनि नियमित गाडी चल्न सकेको छैन। यहाँका हाङ्देवा, फुरुम्बु, सिस्ने, थिवा, सिसेवाजस्ता ठाडा खोलामा पुल नहुँदा बाढीले बर्सेनि सडक बगाउने गरेको छ। दोभानमा तमोर नदीमाथिको पुल नबनेकाले प्रदेश निर्वाचन क्षेत्र २ का गाउँपालिकामा गाडी नै जाँदैनन्।

स्थानीयले हिउँदमा नदीबाट तारेका केही पिकअप र ट्र्याक्टर गुड्छन्। मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा त सडक पुगेकै छैन। यातायात सुविधा नभएका कारण बैंकले शाखा विस्तार गर्न अस्वीकार गरिरहेको मिक्वाखोलाका अध्यक्ष रामकुमार साँवाको भनाइ छ। दोभानबाट मेरिङ्देन, मैवाखोला र आठराई–त्रिवेणी गाउँपालिकाको केन्द्रसम्म सडक पुगे पनि तमोरमा पुल नहँदा सदरमुकामसँग जोडिएको छैन। पाथीभरा–याङवरकको केन्द्र थेचम्बुबाट खहरे खोलासम्मको सात किलोमिटर कच्ची सडकमा पनि पानी पर्नासाथ पहिरो झर्ने गरेको स्थानीय केशव पौडेलले बताए।

०००

फुङलिङ–नाङखोल्याङ सडकखण्डमा पहिरो पन्छाउँदै यात्रु। सीताराम गुरागाईं


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.