जोङ्खा भाषामा राष्ट्रिय गान सम्झिए भुटानीले

जोङ्खा भाषामा राष्ट्रिय गान सम्झिए भुटानीले

दमक : झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूले बुधबार एकै ठाउँमा भेला भएर विश्व शरणार्थी दिवस मनाएका छन्।

उनीहरूले शरणार्थी दिवस मनाउने क्रममा भुटानलाई बारम्बार सम्झिए। झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका शरणार्थीहरू झापाको दमकमा भेला भएर संयुक्त रूपमा भुटानी राष्ट्रिय गान गाएका थिए। कार्यक्रममा भुटानको राष्ट्रिय गानपछि नेपाली राष्ट्रिय गान बजाइएको थियो। विश्व शरणार्थी दिवसको अवसरमा शिविरमा सांस्कृतिक कार्यक्रम, वक्तव्य तथा शरणार्थी बालबालिकाले बनाएका विभिन्न सामग्री प्रर्दशनी गरियो।

सोही अवसरमा प्रदेश १ मुख्य न्यायाधिवक्तामार्फत मुख्यमन्त्रीसमक्ष स्वदेश फिर्तीका लागि अपिल पत्रसमेत बुझाएका थिए। शरणार्थीहरूले स्वदेश फिर्तीको लागि वातावरण मिलाइदिन मुख्यमन्त्रीसमक्ष आग्रह गरेका छन्। २७ वर्षयता भुटानबाट लखेटिएपछि नेपालमा आ श्रय लिएर बस्दै आएका भुटानी शरणार्थीहरूले सरकारले आफूहरूको स्वदेश फिर्तीका लागि पहल नगरेको बताए।

नेपाल सरकारको तर्फबाट आवश्यक कूटनीतिक प्रयत्न गरी स्वदेश फिर्तीको वातावरण मिलाइदिन मुख्यमन्त्री शेरधन राईसमक्ष अपिल पेस गरेको भुटान स्वतन्त्र जनमञ्चका उपाध्यक्ष हर्कजंग सुब्बाले बताए। उनले भने, ‘हामी भुटान सरकारबाट जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र राजनीतिक उत्पीडनमा परी देश निकाला भएका हौं। अब हामी स्वदेश फर्कन चाहान्छौं। यसका लागि सरकारले ठोस पहल गरिदियोस्।’ बेलडाँगी–३ का डीबी सुब्बाले आफूहरूलाई नेपाल सरकारले आ श्रय दिएर ठूलो गुन लगाएको बताउँदै अब दातृसंस्थाहरूले पनि दिन÷ प्रतिदिन सेवा सुविधा कटौती गर्दै लगेकोले झन् पीडामा रहेको बताए। जेजस्तो विकल्प दिए पनि आफूहरूको अन्तिम लडाइँ भनेकै स्वदेश फिर्ती रहेको अर्का भुटानी शरणार्थी कविराज मगरले बताए।

बेलडाँगी २ मा रहेकी भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले शरणार्थीहरूको प्रमुख मुद्दा स्वदेश फिर्ती रहेको बताइन्। यसलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनको माग छ। कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल स्वदेश फिर्तीका लागि आफ्नो तर्फबाट साथ र सहयोग रहने बताए। उनले स्वदेश फिर्ती राज्यको समस्या भएकोले तत्कालका लागि सहयोग उपलब्ध गराउँदै आएका दातृ निकायलाई शरणार्थीले पाउने सेवा सुविधालाई निरन्तरता दिन आग्रहसमेत गरे। दुई हजारभन्दा बढी भुटानी शरणार्थी कार्यक्रममा उपस्थित भएका शिविर व्यवस्थापन समितिका सचिव टीकाराम रसाइलीले जानकारी दिए।

९० को दशकमा पूर्वी भुटानबाट लखेटिएका नेपालीभाषी भुटानीहरू भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । सुरुमा झापा र मोरङका विभिन्न ७ स्थानमा शिविर रहेका उनीहरूको अहिले झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरे गरी दुई वटा मात्र शिविर रहेको छ। एक लाख १२ हजारभन्दा बढी भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे, न्युजिल्यान्ड, बेलायत र नेदरल्यान्ड्स पुगिसकेका छन्। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग यूएनएचसीआरका अनुसार पछिल्लो अवस्थामा शिविरमा ६ हजार नौ सय शरणार्थी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.