चाैरी गोठले उक्सियो जीवन

चाैरी गोठले उक्सियो जीवन

फिदिम ः बस्तीविहीन घना जंगलको बीचमा एउटा चौंरी गोठ भेटिन्छ । गोठमा हात पाउ बस्न लागेका एक वृद्ध बस्छन् । कपाल सेतै फुलेको छ । गाला चाउरिएर मुजा परेको छ । झट्ट हेर्दा उनको अवस्था निकै दयनीय जस्तो लाग्छ । तर, ७५ वर्षीय लाखबहादुर केरुङको कथा निकै प्रेरणादायी छ । उनले चौंरी पालेर लोभलाग्दो आम्दानी गरिरहेका छन् ।

२५ वर्षअघि केरुङ चौंरी पाल्नकै लागि प्राङबुङदेखि लेक चढेका थिए । नेपाल–भारत सीमाक्षेत्र चाररातेमा उनको चौंरीगोठ छ । चौंरी पालेर उनले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । ‘हातपाउ बस्न लागे, तर आम्दानी राम्रै गरिरहेको छु’, केरुङले भने, ‘पढेलेखेका युवाले जागिर खाएजतिको त अझै पनि कमाइ गरिरहेको छु ।’ गोठमा अहिले २५ ओटा चौंरीगाई छन् । २० ओटा दुहुना छन् । घ्यू र छुर्पी बेचेर यो साल पाँच लाख आम्दानी गरेको उनले बताए । ‘गोठमा चौंरी घटाएर पनि एक वर्षमा पाँच लाख आम्दानी गरिरहेको छु’, केरुङले भने, ‘मेरो उमेरका अरु साथीहरू बुढौलीले गाँजेर ओछ्यान परेका छन् । म राम्रो आम्दानी गरिहेको छु ।’ उनले तीन जना युवालाई रोजगारी समेत दिएका छन् । ‘मासिक आठ हजार दिएर तीन जना केटालाई राखेको छु’, उनी भन्छन्, ‘उनीहरूले पनि चौंरीको रेखदेख गर्छन् ।’ विगत वर्षमा चौंरीगोठबाट प्रतिवर्ष १० लाखसम्म आम्दानी गरेका थिए । चौंरी गोठबाट भएको आम्दानीबाट विभिन्न ठाउँमा सम्पत्ति जोडेको उनले सुनाए ।

चौंरी पालेर सहजै आम्दानी लिन सकिने केरुङको भनाइ छ । धेरै मेहनत नगरी चौंरी गोठबाट आम्दानी लिन सकिने उनको तर्क छ । ‘चौंरी पाल्नलाई कडा मेहनत गर्नु पर्दैन’, उनले भने, ‘बलको काम पनि गर्नु नपर्ने भएकाले म जस्तो वृद्धले पनि चौंरी पालेर राम्रो आम्दानी लिन सक्छन् ।’ केरुङले प्रतिकिलो ६ सय रुपैयाँले चौंरीको घ्यू बिक्री गर्छन् । प्रतिकिलो नौ सय रुपैयाँमा छुर्पी बेच्छन् । उज्याले भएपछि केरुङले गोठमा भएका दुहुना चौंरी दुहुन्छन् ।

दूध दोएपछि चौंरीलाई जंगल खेद्छन् । चौंरी चरेर गोठ फर्केपछि उसैगरी दुहुन्छन् र दूधबाट बन्ने परिकारहरू बनाउँछन् । ‘चौंरी पाल्नलाई गाह्रो छैन,’ उनी भन्छन्, ‘सहज रूपमा आम्दानी गर्न सकिन्छ ।’ पछिल्लो समयमा चौंरी गोठ घट्दै गएको प्रति केरुङको चिन्ता छ । आम्दानी राम्रो भएर पनि आकर्षण घट्दै गएकाले चौंरी गोठहरू घट्दै गएका हुन् ।

‘सुरु सुरुमा गोठमा चौंरी पनि धेरै थिए,’ उनले विगत सम्झैदै भने,‘वर्षमा आठ लाखसम्म आम्दानी गरेको हो ।’ आम्दानी राम्रै हुने भएपछि युवा पुस्तामा चौंरी गोठप्रतिको आकर्षण घट्दो छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै लेकका जंगलमा चौंरी घट्न थालेका हुन् । भारतले सीमाक्षेत्रमा कडाइ गरेपछि चरण क्षेत्र साघुरिँदै गएको र चरन क्षेत्रमा घाँसको अभाव भएकाले पनि चौंरी घट्दै गएको चौंरीपालक किसान बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.