नेकपामा गुटबन्दी गरे कारवाही
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमा गुटबन्दी वा षडयन्त्र गरेमा कारवाही हुने भएको छ। अन्तरिम विधानको ५७ मा गुटबन्दी र षडयन्त्र गरेमा अनुशासनको कारवाही गरिने व्यवस्था गरिएको छ।
विधानमा भनिएको छः पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेको प्रमाणित भएमा कुनै पनि कमिटी वा निकाय र तिनका पदाधिकारी तथा सदस्यमाथि अनुशासनको कारवाही हुनेछ। पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा, पार्टी निर्णय उल्लङ्घन गरेमा , पार्टीप्रति निष्ठा र विश्वास नरहे, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरे, पार्टी कमिटी गोपनीयता भङ्ग गरे अनुशासनको कारवाही हुने व्यवस्था विधानमा छ।
सँगै पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा वा विरोधीसँग साँठगाँठ गरेमा,कुनै पनि जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टी निर्णय विपरित उम्मेदवार बनेको, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेको वा पार्टी उम्मेदवारकाविरुद्ध उठने अन्य कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेको पाइएका अनुशासनको कारवाही हुनेछ।
केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरित कार्य गरेमा कारवाही हुन्छ।
नैतिक पतनदेखिने फौजदारी कसुर गरेको, भ्रष्ट तथा अनैतिक आचरण गरेको र भ्रष्ट वा अवाञ्छित तत्वसँग साँठगाँठ गरेको तथा राष्ट्रको हितविपरित काम गरेमा अनुशासन कारवाही हुने व्यवस्था अन्तरिम विधानमा छ ।
पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेको र झुठ्ठा विवरण पेस गरेको वा स्रोत खुलाउन नचाहेको पाइएपनि कारवाही हुने व्यवस्था विधानमा छ।
पदीय आचरण वा पार्टी हित विपरित आर्थिक अनुशासनहीनता या पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएमा, पार्टी विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीले पालन गर्नु पर्ने भनी उल्लेखित कर्तव्यको उलङघन गरेको पाइएको कारवाही हुने व्यवस्था गरिएको छ।
विधान विपरित काम गरेमा प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित कमिटीले आलोचना गर्ने वा लिखितरुपमा आत्मालोचना गराउने वा चेतावनी दिने वा पद वा सदस्यताबाट निलम्बन वा निष्काशन गर्ने वा पार्टी सदस्यताबाट निष्काशन गर्नेसम्मको कारवाही गर्ने व्यवस्था गरिएको छ।
पार्टीहित विपरितका गरेको पाइएमा आधार र कारण खुलाई एक पद घुटवा गर्न सक्ने व्यवस्था विधानमा गरिएको छ। त्यस्तै अनुशासनको कारवाही स्वरुप निलम्बनमा परी फुकुवा भएको ६ महिना व्यतित गरिनसकेका पार्टी सदस्य वा संगठित सदस्यले पार्टीको कुनै पनि तह र जनप्रतिनिधिमूलक निकायको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था विधानमा छ। संगठित सदस्यताबाट निलम्बन गर्ने अधिकतम अवधि दुई वर्षको हुनेछ।
पार्टीकाविरुद्ध शत्रुतापूर्ण गतिविधि गरेको वा स्वतःपार्टी सदस्यता वा सङ्गठित सदस्यता समाप्त हुने अवस्था बाहेक कुनै पनि सदस्य वा संगठित सदस्य वा कमिटीमाथि कारवाही गर्नुअघि स्पष्टिकरण मौका दिइने व्यवस्था पनि विधानमा छ।
आफूमाथि भएको कारवाही चित्त नबुझे माथिल्लो कमिटी र केन्द्रीय कमिटीको निर्णय चित्त नबुझे केन्द्रीय अनुशासन आयोगमा पुनरावेदन गर्न सकिने व्यवस्था छ। अनुशासन आयोगको निर्णय पनि चित्त नबुझेमा राष्ट्रिय महाधिवेशनसमक्ष पुनरावेदन गर्न सकिने छ।