भ्रष्टाचार मुद्दाका दोषी सम्पत्ति शुद्धीकरणका तत्कालिन अधिकृत पक्राउ
काठमाडौं: भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ फरार रहेका एक अधिकृतलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०७४ चैत २० गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसेलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
धादिङको नौबिसे घर भई काठमाडौं महानगरपालिका-१४ कलंकीमा बस्दै आएका ५२ वर्षीय चालिसेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कलंकीबाटै बिहीबार पक्राउ गरेको हो ।
चालिसेले २०७१ साउन ११ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी १० लाख रुपैयाँ मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । त्यसबेला अख्तियारको टोलीले ललितपुरको सैबुस्थित सिद्धिपार्क गणेश मन्दिरबाट उक्त रकमसहित उनलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोले जनाएको छ ।