बाढी आउँदा खानेपानी आपूर्ति ठप्प

बाढी आउँदा खानेपानी आपूर्ति ठप्प

फिदिम : पाँचथरको फिदिममा सञ्चालित बृहत् खानेपानी आयोजना एक वर्षमै लथालिंग भएको छ । फिदिम बजारका उपभोक्तालाई २० वर्ष सहज रूपमा खानेपानी आपूर्ति गर्न आयोजना निर्माण भएको थियो । तर, नियमित रूपमा खानेपानी आपूर्ति हुन नसक्दा नमुना सहर फिदिमका उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

साना सहरी खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिले बजारमा पानी वितरण गरेको छ । दुई दशकअघि निर्माण गरिएको पुरानो खानेपानी आयोजनाले बजारको बढ्दो मागलाई धान्न नसकेपछि बृहत् आयोजना निर्माण गरिएको थियो । पछिल्लो समय फिदिम बजारमा नियमित रूपमा पानी आपूर्ति हुन छाडेको छ । नयाँ सहर आयोजनाका लागि माथिल्लो गाउँमा वाल निर्माण गर्ने क्रममा पाइप फुटेकाले पानी वितरण गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले जानकारी दिए ।

‘प्राविधिक समस्याका कारण नियमित रूपमा पानी वितरण गर्न नसकिएको हो’, अध्यक्ष भट्टराईले भने, ‘समस्या समाधानका लागि काम भइरहेको छ ।’ बजारमा दर्जनौं पटक पानी आपूर्ति बन्द भइसकेको जनाइएको छ । पाइप फुटेको र मुहानमा भेल पसेर समस्या भएको भन्दै उपभोक्ता समिति समस्याबाट पन्छिँदै आएको हो ।

फिदिम बजारबाट १६ किलोमिटर टाढा रानीटार र लुङरुपाको सिमानामा रहेको नाम्दु खोलामा मुहान थापेर बजारका लागि पानी ल्याइएको छ । बजारलाई पानी वितरण गर्ने उद्देश्यले फिदिम–२ माथिल्लो गाउँमा प्रशोधन कक्ष बनाइएको छ । प्रशोधनपछि उपभोक्तालाई पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । प्रत्येक घरमा पानी पुग्ने गरी निर्माण गरिएको आयोजनाबाट महिनामा दर्जनौं पटक आपूर्ति बन्द हुने गरेको छ । मुहान थापिएको नाम्दु खोलामा बाढी आउँदा पनि पानी आपूर्ति गर्न नसकिएको समितिले जनाएको छ ।

‘खोलामा सोझै मुहान थापिएको छ’, उनले भने, ‘खोलामा बाढी आउँदा पनि पानी आपूर्ति गर्न नसकिएको हो ।’

प्रतिसेकेन्ड २३ लिटर पानी ल्याउने गरी आयोजना निर्माण गरिएको हो । बर्खा लागेपछि मुहानमा भेल पस्ने गरेकाले आपूर्ति सहज नभएको जनाइएको छ । ‘उपभोक्ता समितिलाई खानेपानी आयोजना हस्तान्तरण गरिएकाले कार्यालयले पानी आपूर्तिका लागि चासो नदेखाएको हो’, खानेपानी कार्यालयका प्रमुख स्रोतलाल चौधरीले भने, ‘मुहान आसपासमा सडक खनिएकाले पानी पर्नेबित्तिकै खोलामा बाढी आएर पानी आपूर्ति बन्द गर्नुपर्ने स्थिति बनेको हो ।’

मुहानमा फिल्टर नराखिएकाले यस्तो समस्या भएको उनको भनाइ छ । ‘फिल्टरका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ’, उनले भने, ‘यो वर्ष नियमित रूपमा खानेपनी आपूर्ति नभए पनि आगामी वर्षदेखि नियमित रूपमा पानी आपूर्ति हुन्छ ।’

एसियाली विकास बैंकको १५ करोड १६ लाख लागतमा आयोजना निर्माण भएको समितिले जनाएको छ । फिदिम नगरपालिकाका वडा १, २, ४ र ५ मा पानी वितरण गरिएको छ । १ हजार ७ सय ३० वटा धारा निर्माण गरी पानी वितरण गरिएको हो । पुरानो आयोजनाको पाइप विस्थापित गरी नयाँ आयोजनाबाट पानी वितरण गरिएको छ । नयाँ आयोजनाबाट वितरण गरिएको पानी नियमित रूपमा आपूर्ति नभएपछि उपभोक्ता मारमा परेका हुन् । ‘दुई–चार दिन पानी नै आउँदैन’, फिदिम–४ गढीकी विनीता नुगोले भनिन्, ‘धारामा पानी आए पनि धमिलो खानै नमिल्ने आउँछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.