'फुटबल खेल उन्मूलन गर्नुपर्छ'
फुटबल पुँजीवादको अनन्य मित्र
आमूल परिवर्तन खोजिरहेकाहरूका लागि वर्तमान व्यवस्था अप्रिय हो भने विश्वकप त्योभन्दा पनि खराब हो । दक्षिणपन्थी थिंक ट्यांकले राजनीतिक अन्यायबाट जनताको ध्यान हटाउने कुनै उपाय ल्याउने हो भने त्यो फुटबल हुनेछ । त्यसैगरी तिनले आम मानिसको कष्टपूर्ण जीवनको क्षतिपूर्ति दिने कुनै योजना तयार गरे भने पनि त्यो फुटबल नै हुनेछ । समाजवादबाहेक पुँजीवादका समस्या समाधान गर्ने योभन्दा उत्तम उपाय आजसम्म सोचिएकै छैन । समाजवाद र फुटबलको तुलना गर्ने हो भने फुटबल कैयौं वर्ष अघि छ ।
आधुनिक समाजले मानिसलाई ऐक्यबद्धताको अनुभूति गर्न दिँदैन । फुटबलले भने त्यसलाई सामूहिक उन्मादको विन्दुसम्म महसुस गराउँछ । धेरैजसो कार मिस्त्री र पसलमा सहयोगीको काम गर्नेहरूले आफू उच्च संस्कृतिबाट वर्जित महसुस गर्छन् । तर साताको एक दिन तिनले अत्यन्त प्रतिभावान व्यक्तिहरूले उत्कृष्ट कला प्रस्तुत गरेको हेर्छन् । ज्याज ब्यान्ड वा नाटक दललेजस्तै फुटबलले उत्कृष्ट व्यक्तिगत प्रतिभा र स्वार्थरहित सामूहिक कार्यलाई एकै ठाउँमा मिसाउँछ । यसरी लामो समयदेखि समाजशास्त्रीहरूले दिमाग खियाइरहेको समस्या समाधान हुन्छ । फुटबलमा सहकार्य र प्रतिस्पर्धा निकै चतुर्याइँका साथ सन्तुलित राखिएको हुन्छ । आपूmलाई मन परेको टोलीप्रति अन्धो बफादारी र प्रतिद्वन्द्विताले हाम्रा केही शक्तिशाली सहजवृत्तिलाई सन्तुष्ट पार्छन् ।
यो खेलले सूक्ष्मरूपमा ग्ल्यामरलाई साधारण जीवनशैलीसँग मिसाइदिन्छ । खेलाडीहरू पुजिने नायक हुन् । तर तिनलाई तपाईंले सम्मान गर्नुको कारण के हो भने ती तपाईंको अहंको प्रतिविम्ब हुन् । मैदानमा खेलिरहेका खेलाडीको अनुहारमा तपाईंले आफैंलाई पाउनुहुन्छ । तपाईं सजिलै उनीहरू बन्न सक्नुहुन्छ । तपाईंभित्रको आफ्नोपन र खेलाडीहरूको आफ्नोपन कतिबेला मिसिइसकेको हुन्छ, तपाईंलाई नै थाहा हुँदैन । यस्तो चमत्कार त केवल भगवानले गर्न सक्छन् । चर्चित भएका आधारमा भन्ने हो भने, फुटबल प्रशिक्षक होसे माउरिन्होले भगवानलाई समेत उछिनिसकेका छन् ।
उत्सव र प्रतीकहरू हराएको वर्तमान सामाजिक व्यवस्थामा फुटबलले मानिसको जीवनको सौन्दर्य बढाउँछ । अवश्य, खेल तमासा नै हो तर यो तमासा सैनिक परेडभन्दा बिल्कुलै भिन्न छ । यसले दर्शकलाई पनि सहभागी हुन निम्त्याउँछ । कुनै बौद्धिक काम नगर्ने मानिसले पनि फुटबलको इतिहास वा खेलाडीको सीपको चिरफारबारे छक्क पार्ने गरी पण्डित्याइँ छाँट्न सक्छ । भट्टीहरूमा प्राचीन ग्रिसेली वादविवादलाई समेत बिर्साउने गरी फुटबल बहस हुन्छन् । बर्तोल्त ब्रेख्तको थिएटरमा झैं यो खेलले सामान्य मान्छेलाई विज्ञ बनाउँछ ।
फुटबल परम्पराको यो स्पष्ट ज्ञान उत्तर आधुनिक संस्कृतिको ऐतिहासिक विस्मरणसँग मेल खाँदैन । उत्तर आधुनिकहरूका लागि त १० मिनेटअघि भएको घटना पनि प्राचीन बनिसक्छ । फुटबलमा लैंगिक सीमाहरूले पनि खासै स्थान राख्दैनन् । एउटा खेलाडीले आपूmसँग भएको पहलमानको जस्तो शक्तिलाई नर्तकीको जस्तो लालित्यसँग मिसाउँछ । फुटबलले आफ्ना प्रशंसकका लागि सौन्दर्य, नाटकीयता, द्वन्द्व, शोक, उत्सव र दुःखान्त समेत प्रदान गर्दछ । कुनै कट्टर धार्मिक विश्वासझैं यो खेलले तपाईं कस्तो लुगा लगाउनुहुन्छ, कसको संगत गर्नुहुन्छ, कुन गीत गाउनुहुन्छ र कुन पवित्र स्थलको पूजा गर्नुहुन्छ भन्ने निर्धारण गर्दछ । शासकहरूमा रहेको युगौं पुरानो प्रश्न थियो, ‘जनताले काम नगरेको बेला के अह्राउने ? ’ अहिले त्यसको जवाफ बनेका छन्–टेलिभिजन र फुटबल ।
शताब्दीयौंदेखि युरोपमा विद्यमान लोकप्रिय मेलाहरू जनताको दमित आक्रोश पोख्ने ठाउँ बनेका छन् । यस्ता उत्सवमा मानिसहरू धार्मिक चित्र च्यात्ने, मालिकहरूको अपमान गर्नेजस्ता कार्य गर्छन् । शासकहरूका लागि यो अराजकता बनिदिन्छ । उनीहरू यसलाई वर्गविहीन समाजको पूर्वाभ्यासको रूपमा लिन्छन् ।
फुटबल पनि आक्रोश पोख्ने स्थान बन्नसक्छ । मोटा कर्पोरेटहरूले क्लबमा मनपरी गर्दा समर्थकहरूले विद्रोह गर्न सक्छन् । तर यो आक्रोश वा विद्रोह शासकका लागि अराजकता बन्ने गर्दैन । त्यसैले त आजभोलि फुटबल आम मानिसका लागि अफिम बनेको छ । यसको लतको त कुरै नगरौं । रुढिवादी र यथास्थितिको दास बनेका डेबिड बेक्ह्याम जस्ता फुटबलको आइकन बन्छन् । ‘द रेड्स’ भन्नाले अब कुनै पनि क्रान्तिको नेतृत्व गरेको बोल्सेभिकलाई बुझिँदैन, म्यानचेस्टर युनाइटेडलाई बुझिन्छ । राजनीतिक परिवर्तनका लागि गम्भीर जुनसुकै व्यक्ति पनि यो खेल उन्मूलन गर्नुपर्ने तथ्यप्रति सहमत हुन्छ । त्यसो गर्ने राजनीतिक संगठन चाहिँ शक्तिशाली हुनुपर्छ ।
– बेलायती मार्क्सवादी चिन्तक इगलटनको यो लेख सन् २०१० जुन १५ मा गार्जियनमा प्रकाशित भएको थियो ।