यी मनकारी खेलाडी
तीन वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पले धेरै धनजनको क्षति भयो । उति बेला विश्वभरका धेरै संघसंस्था र व्यक्तिले नेपाललाई सहयोग गरे । भूकम्पले दिएको घाउमा मल्हम लगाउन अगाडि सर्ने विश्वभरका थुप्रै सहयोगी हातमध्ये रोनाल्डो पनि एक थिए । रियल म्याड्रिडका फुटबल स्टार क्रिस्टियानो रोनाल्डाले भूकम्पपीडित नेपालीका लागि करिब ५० लाख पाउन्ड सहयोग गरेका थिए ।
विश्वकपको रौनक बढेसँगै कुन राष्ट्रले जित्छ र कसले हार्छ भन्ने अनुमान लगाउन सुरु भइसकेको छ । उसैरीर आफूलाई मन परेका खेलाडीले खेल मैदानमा उत्रिएपछि यसपटकको विश्वकपमा कस्तो खेल्नेछन् भन्नेमा पनि धेरैको चासो छ ।
फुटबलका विश्वप्रसिद्ध खेलाडीको कमाइ अत्यधिक हुन्छ । तर, आफ्नो कमाइको अधिकांश हिस्सा सामाजिक काममा लगाउने खेलाडीमध्ये रोनाल्डो अग्रपंक्तिमै पर्छन् ।
रेस्लिङ सुपरस्टार जोन सेना, टेनिस खेलाडी सेरेना विलियम्स, ब्राजिलका फुटबल क्याप्टेन नेमार लगायतका विश्वचर्चित खेलाडीलाई उछिनेर विश्वकै सबैभन्दा बढी च्यारिटी गर्ने खेलाडीका रूपमा रोनाल्डोले नाम कमाएका छन् ।
विभिन्न विज्ञापन र अन्य कामका कमाइबाहेक रोनाल्डोको एक साताको तलब दुई लाख ३० हजार पाउन्ड छ । पोर्चुगलका यी खेलाडीले आफ्नो कमाइ अनुपातकै सामाजिक सहयोग गर्नुमा उनका बाबु नै प्रेरणाका स्रोत हुन् ।
रियल म्याड्रिडका फुटबल स्टार क्रिस्टियानो रोनाल्डाले भूकम्पपीडित नेपालीका लागि करिब ५० लाख पाउन्ड सहयोग गरेका थिए ।
‘अरूलाई सहयोग गरे भगवान्ले तिमीलाई त्यसको दोब्बर दिन्छन्’, रोनाल्डोका बाबु उनलाई भन्थे । बाबुलाई पछ्याउँदै रोनाल्डो आवश्यक परेका मानिसलाई सहयोग गर्छन् । आपत्मा परेकालाई सहयोग गरकै कारण आफूलाई भगवान्ले सहयोग गरेका रोनाल्डोको विश्वास छ ।
उनी विश्वकै सबैभन्दा बढी सामाजिक काममा सक्रिय फुटबलरका रूपमा चिनिन्छन् । यही कामका लागि उनले एथलेट गन गुड अवार्डसमेत पाए । रोनाल्डोले १० वर्षीया एक फ्यानलाई उनको दिमागको शल्यक्रिया गर्न ८३ हजार डलर सहयोग गरेका थिए । त्यसैगरी आफ्नो आमाको उपचार गरेको पोर्चुगलको एक क्यान्सर सेन्टरलाई उनले एक लाख ६५ हजारभन्दा बढी अनुदान दिएका थिए ।
सन् २००४ मा इन्डोनेसियामा आएको सुनामीमा पोर्चुगलको टिसर्ट लगाएका एक फ्यानलाई उनले एउटा भिडियो क्लिपमा देखे । यो देखेर मन थाम्न नसकेका रोनाल्डोले इन्डोनेसियामै पुगेर त्यहाँका सुनामी पीडितलाई सहयोग गरेका थिए ।
आफूले गर्ने सामाजिक कामले नै बार्सिलोनाका स्टार नेमार जुनियरलाई आफ्नो क्लबका लागि अझै धेरै ट्रफी बटुल्ने हौसला दिन्छ । उनले सन् २०१४ मा ‘द इन्स्चिट्युटो प्रोजेटो नेमार जुनियर’ नामक एक संस्था स्थापना गरेर सोही संस्थामार्फत गरिब र विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । उनी आफ्ना बाबु नेमार सिनियरसँग बेलाबेलामा त्यहाँ गएर बालबालिकासँग भेटघाट गर्छन् । उनीहरूसँग फुटबल खेल्छन् ।
ब्राजिलको साओ पाओलो प्रान्तमा रहेको नेमारको संस्थामा करिब दुई हजार चार सय बालबालिका आ िश्रत छन् । नेमारको क्लब बार्सिलोनाको पनि यो संस्थासँग आधिकारिक सम्बन्ध स्थापना भइसकेको छ । यसैअन्तर्गत सञ्चालन हुने ‘फुटबोलनेट’ नामक कार्यक्रमले खेलकुदलाई बालबालिकाको शैक्षिक सामग्रीका रूपमा प्रयोग गरेको छ । यसरी आफू सक्रिय रहने सामाजिक कामले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई पनि फाइदा पुर्याएको नेमारको अनुभव छ ।
यस वर्षको विश्वकपको पहिलो खेलमा अर्जेन्टिनाले आफ्ना फ्यानको उति चित्त बुझाउन सकेन । पहिलोपटक डेब्यु गरेको राष्ट्र आइसल्यान्डसँग एक एकको बराबरीमा खेल टुंगियो । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीको प्रस्तुतिले उनका हजारौं प्रशंसकलाई निराश बनायो । उनले मिस गरेको पेनाल्टी सर्वाधिक चर्चाको विषय बन्यो । यद्यपि उनको एउटै खेलले आजसम्मको उनको योगदानलाई भने पाखा लगाउन सक्दैन ।
खेल मैदानमा उत्रिएपछि हरेक पत्रपत्रिका र विद्युतीय सञ्चारमाध्यममा हेडलाइन बन्ने यी खेलाडीको सामाजिक जीवन पनि उत्तिकै रोचक छ । गत वर्ष उनी आफ्नी सानैदेखिकी प्रेमिका एन्टोनेला रोक्कुजोसँग विवाहबन्धनमा बाँधिए । एक वर्षमै ६२ मिलियन पाउन्डभन्दा बढी कमाउने यी खेलाडीलाई विवाहमा उपहार के दिने होला भन्ने चिन्ता उनका पाहुनालाई परेको थियो । तर, आफन्त र पाहुनाको यस्तो चिन्तालाई उनले हटाइदिए ।
मेस्सीको भव्य वैवाहिक समारोहमा उपस्थित हुने उनका साथी र आफन्तले उनलाई उपहार दिनुको सट्टा उनको नाममा स्थापना भएको लियो मेस्सी फाउन्डेसन नामक संस्थामा यथासक्य दान गरे । उनको यस संस्थाले विश्वभरका बालबालिकाको स्वास्थ्य, शिक्षा र खेलकुदमा सहयोग गर्दै आएको छ ।
सिरियामा भएको लामो गृहयुद्धको मारमा परेका करिब एक हजार ६ सय बालबालिकालाई विद्यालयसम्म ल्याएर उनीहरूको अध्ययन अध्यापनमा पनि उनले सक्रियता देखाए । विद्यालय शिक्षामा बालबालिकालाई प्रेरित गर्न उनले त्यहाँको एक विद्यालयमा २० वटा कक्षाकोठा निर्माण गरिदिए । आफूले बाल्यकालमा भोगेका दुःख अन्य बालबालिकाले भोग्नु नपरोस् भन्ने उद्देश्यले उनले विशेष गरी बालबालिकालाई सहयोग गर्दै आएका छन् ।
मेस्सीलाई बाल्यकालमा नबढ्ने रोग लागेको थियो । यही कारण उनले सन् २०११ देखि लगातार तीन वर्षसम्म हरेक रात इन्जेक्सन लिएर आफ्नो खुट्टालाई बलियो बनाउँदै नबढ्ने रोगविरुद्ध लडिरहे । सन् २०१२ मा उनले १२ वर्षीय एक बालकको उपचारका लागि लगातार ६ वर्षसम्म औषधिउपचार खर्च तिर्ने काम गरे । ती बालकलाई पनि बढ्ने हर्मोनको कमी हुने रोग लागेको थियो ।
बिरामी बालबालिकालाई राखेर उपचार गराइरहेको एक अस्पतालमा सन् २००७ मा पुगेपछि मेस्सीमा सेवाभाव जागेको थियो । यसपछि लियोनल मेस्सी फाउन्डेसन खोलेर यसैमार्फत अर्जेन्टिना, स्पेन र विश्वका अन्य थुप्रै मुलुकका बालबालिकालाई उनले सहयोग सुरु गरेका थिए ।
आफ्नो घर भएको ठाउँ रोसारियोमा एक बाल अस्पतालको पुनर्निर्माणका लागि ६ लाख ७० हजार पाउन्ड सहयोग गरेका थिए । यति मात्रै नभई बार्सिलोनाबाट डाक्टर लगेर त्यहाँका कर्मचारीलाई समेत उनले तालिम दिलाएका थिए । सन् २०१० मा युनिसेफको गुडविल एम्बेसेडरमा नियुक्त मेस्सी रिच आउट टु एसिया क्याम्पियनका सक्रिय सदस्य पनि हुन् । यो संस्थाले नेपाल, बंगलादेश र इन्डोनेसियाका विपन्न बालबालिकालाई सहयोग गर्दै आएको छ ।
घानाको राष्ट्रिय टोलीका पूर्वखेलाडी माइकल इसेन पनि विश्वका च्यारिटी गर्ने व्यक्तिहरूमा अग्रस्थानमै पर्छन् । द माइकल इसेन फाउन्डेसन सुरु गरेर उनले स्वास्थ्य सेवा, स्वस्थ पिउने पानी, सार्वजनिक शौचालय र पुस्तकालयका विषयमा आफ्नै गृहनगरमा काम गर्दै आएका छन् ।
त्यसैगरी आर्सनल र जर्मनीको राष्ट्रिय टिमका खेलाडी मेसुट ओजिलले आफूले विश्वकपमा कमाएको करिब दुई लाख ३७ हजार पाउन्ड रकम त्यति बेलाको विश्वकप आयोजक ब्राजिललाई दिएका थिए । उक्त रकम २३ जना ब्राजिली बालबालिकाको शल्यक्रिया गर्न प्रयोग गरिएको थियो ।
आफ्नो सन एन्ड ह्यापिनेस नामक संस्थामार्फत गरिब र बिरामी युवालाई सहयोग गर्न र बालबालिकालाई खानेबस्ने ब्यवस्था मिलाउन खेलाडी गरेथ बेर्रीले आफ्नो स्पेनको आलिसान भिल्ला नै दान दिएका थिए ।
विश्वका चर्चित फुटबलरको नाम लिँदा डेभिड बेकहमलाई छुटाउन मिल्दैन । विश्वकै लोकप्रिय दम्पतीमा पर्ने डेभिड र उनकी पत्नीले विभिन्न सामाजिक काममा हात हालेका छन् । भिक्टोरिया एन्ड डेभिड बेकहम च्यारिटेबल ट्रस्ट मात्रै नभई अन्य थुप्रै संघसंस्थामार्फत डेभिड सामाजिक काममा सक्रिय छन् । विशेषगरी इराक र अफगानिस्तानबाट फर्केका सेनाका जवानलाई सहयोग गर्ने अभियानमा पनि उनको संलग्नता छ ।
चेल्सीका पूर्वफरवार्ड डिडिर ड्रोग्बाले गृहयुद्धमा फसेको आफ्नो देश आइभोरी कोस्टमा सहयोग गरे । यसबापत सन् २०१० को टाइम म्यागजिनले उनलाई विश्वकै सय अति प्रभावशाली व्यक्तित्वको सूचीमा राखेको थियो ।
आफ्नो तलबको करिब आधा रकम नै विभिन्न सामाजिक काममा लगाउने खेलाडीमा पर्छन् मारियो बालोटेल्ली । हुन त बेलाबेला विभिन्न नकारात्मक विषयमा मुछिने यी खेलाडी आफ्ना फ्यानमाझ सुपर मारियोका रूपमा परिचित छन् ।
लिभरपुलका पूर्वखेलाडी डिर्क कुटीले डिर्क कुटी फाउन्डेसन सञ्चालन गरी आफ्नै देश हल्यान्डका साथै ब्राजिल, नेपाल र घानाका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।