आइसल्यान्ड हार्दा अर्जेन्टिना खुसी, यसरी पुग्न सक्छ प्री–क्वार्टरमा
काठमाडौँः रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्गरगत समूह डी को खेलमा नाइजेरियाले आइसल्यान्डलाई हराएपछि अर्जेन्टिनाले केही राहत महसुुस गरेको छ ।
क्रोएसियासँग नराम्ररी पराजित भएको अर्जेन्टिना अन्तिम १६ मा जाने अंकगणितीय हिसाबमा निर्भर थियो । यस्तोमा एक अंक रहेको आइसल्यान्डले अंकबिहीन नाइजेरियालाई हराएको भए अर्जेन्टिनाको अन्तिम १६ को यात्रा करिब बन्द हुन्थ्यो ।
आइसल्यान्डले खेलको ८३ औँ मिनेटमा पाएको पेनाल्टीलाई पोस्ट भन्दा माथि प्रहार गरेर गिल्फी सिगुर्डसनले खेर फाले । त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा नाइजेरिया विजयी भयो ।
यस्तो अवस्थामा नाइजेरियाको जितले अर्जेन्टिना खुसी भएको छ । तर दुवै अब मंगलबार आमनेसामने हुँदैछन् । समूह डी मै रहेका क्रोएसिया र आइसल्यान्ड पनि त्यही दिन भिड्दैछन् ।
यस्तो अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई हराउन सके तथा समूह विजेता बनिसकेको क्रोएसियाले आइसल्यान्डलाई पनि हराएको अवस्थामा अर्जेन्टिनाले संघर्षपूर्ण यात्राबाट प्री–क्वार्टरफाइनलको टिकट काट्नेछ ।
समूह डीमा दुई खेल जित्दै क्रोएसिया ६ अंकसहित शीर्ष स्थानमा छ र उसले अन्तिम १६ को स्थान पक्का गरिसकेको छ । समान २ अंक खेलेर एक बराबरी तथा एक एक खेल गुमाएका अर्जेन्टिना र आइसल्यान्डको एक-एक अंक छ । अर्कातिर आजको खेलमा आइसल्यान्डलाई पराजित गरेको नाइजेरिया भने एकमा जित र एकमा हार ब्यहोर्दै तीन अंकसहित समूहको दोस्रो स्थानमा छ ।