ज्यान मुद्दामा आममाफी पाएर छुटेलगत्तै अर्को अपराध
भोजपुरः कर्तव्य ज्यान अभियोगमा दोषी ठहर कैदीले गणतन्त्र दिवसमा छुटेको महिना दिन नबित्दै अर्को अपराध गरेको अभियोगमा पक्राउ परेका छन् ।
ज्यान मुद्दामा जेल परेर गणतन्त्र दिवसका दिन रिहा भएका पौवादुङ्मा गाउँपालिका–४ बास्तिमका २४ वर्षीय भरत राई जबरजस्ती करणी अभियोगमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर चरित्रविक्रम कार्कीले जानकारी दिए ।
गत असार ४ गते जबरजस्ती करणी प्रयास गरी फरार भएका उनलाई प्रहरीले आइतबार घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय एक महिलालाई घरमा सुतिरहेको अवस्थामा गत असार ४ गते राति कोही नभएको मौकामा ढोका फोडेर करणी गर्न खोजेको भन्दै ती महिलाले उजुरी दिएपछि फरार राईको खोजी थालिएको थियो ।
राई यसअघि २०६९ साल वैशाख १८ गते माइजुको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए । आचरण सुधारेको भन्दै राईलाई क्षेत्रीय कारागार झुम्काले रिहा गरेको थियो । सदरमुकाम ल्याइएका आरोपीत राईलाई अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढाइने कार्कीले बताएका छन् ।