उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा

काठमाडौं  : संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ ।

नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ ।

विश्वकपमा जापानले गोल गरेलगत्तै डा. सरोजप्रसाद ओझाले आफ्ना जापानी साथी डा. युकीलाई फोन गरेर बधाइ दिए । तर, डा. युकीले अनभिज्ञता प्रकट गर्दै भने, ‘ए, हो र ! मलाई थाहै थिएन ।’ आफ्नै देशले गोल हानेको समेत थाहा नपाएको सुनेर डा. ओझा छक्क परे ।

वरिष्ठ मनोचिकित्सक समेत रहेका डा. ओझा अरु देशका तुलनामा नेपालमा फुटबलप्रेमी बढ्दै गएको बताउँछन् । ‘एक जना अर्जेन्टिनाका नेपाली फ्यानले आत्महत्या प्रयास गरेको सुनेको छु’, डा. ओझाले भने, ‘झापाका एक युवाले अत्यधिक मदिरा सेवन गर्दा बेहोस भएपछि अस्पताल नै भर्ना गर्नुप¥यो ।’

झापाका बाइस वर्षे ती युवा बेहोस भएपछि पत्नीले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेकी थिइन् । अरु रिपोर्ट सामान्य आएपछि मानसिक विभागमा चिकित्सकले काउन्सिलिङ गरेर उनलाई घर पठाएका थिए ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ विश्व वरियतामा नेपाली पुरुष फुटबल टोलीले प्रगति गरेको छ । अहिले नेपाल विश्व वरियतामा तीन स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लेको छ ।

अतिरिक्त समयमा र गोल हान्ने बेलामा दर्शकको ढुकढुकी ७० प्रतिशत बढ्छ, जसले मुटुमा भार थप्छः डा. प्रकाशराज रेग्मी, मुटु विभाग प्रमुख, वीर अस्पताल
 

तर विश्व वरियताको शीर्षस्थानमा रहेका ब्राजिल, अर्जेन्टिना, जर्मनीलगायत देशका अनुयायीहरू भने झन्झन् बढिरहेका छन् । अनिद्रा, मदिरा एवं जंक फुुडको सेवन र बाजी हार्दा हुने नोक्सानीले फुुटबलप्रेमीहरूले मानसिक, शारीरिक र आर्थिक क्षति बेहोर्नु परिरहेको छ ।

एक महिना लामो विश्वकपमा नसुतेरै खेल हेर्नेको संख्या दिनानुदिन बढिरहेको छ । मुटुरोग विशेषज्ञहरूका अनुसार निर्धारित समयपछिको अतिरिक्त समय र खेलाडीले गोल गर्ने बेला उत्पन्न हुने उत्तेजनाले पनि मुटुमा भार (लोड) थप्छ ।

वीर अस्पतालका मुटु विभाग प्रमुख प्राध्यापक डा. प्रकाशराज रेग्मी भन्छन्, ‘अतिरिक्त समय थपेको बेलामा र आफूले समर्थन गरेको टिम वा खेलाडी हारिरहेको बेलामा दर्शक उत्तेजित हुन्छ । त्यो बेला मुटुको ढुकढुकी निकै बढ्छ । अतिरिक्त समय र गोल हान्ने बेला दर्शकको उत्तेजना बढ्दा ७० प्रतिशतभन्दा बढी ढुकढुकी बढ्छ । त्यसले मुटुमा भार थप्छ ।’

अनिद्राले गर्दा मस्तिष्कमा तनाव हुन पुग्छ । जसले गर्दा रक्तचाप र मधुमेह बढ्ने चिकित्सकहरू बताउँछन् । फुटबल हेर्दा मदिरा, जंक फुड खाने प्रवृत्तिले पनि असर गर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ रेग्मी बताउँछन् । ‘रक्तचाप बढ्यो, चक्कर आयो भन्दै फुुटबलप्रेमीहरू उपचार गर्न आउन थालेका छन्’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले अनुभव बताए ।

स्वास्थ्य मनोविज्ञान भनेको दैनिक जीवनमा आइपर्ने समस्या तथा तनाव वहन गर्ने क्षमताको विकास हो । डा. ओझा भन्छन्, ‘आफ्नो मनपर्ने खेलाडीले गोल गर्न सकेन वा मनपर्ने टिम बाहिरिएर तनाव लिँदा शरीरमा नकारात्मक प्रभाव पर्छन् । धेरै तनाव लिंदा रक्तचाप एवं सुगर बढ्ने, निद्रा नलाग्ने, पढ्न मन नलाग्ने, काममा झर्को लाग्ने, यौनेच्छामा समेत कमी आउँछ ।’

शिक्षण अस्पतालका पल्मोनोलोजी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका उपप्राध्यापक डा. निरज बम उच्च रक्तचाप र मधुमेहीका बिरामीमा पर्याप्त निद्रा नपुगे समस्या हुने बताउँछन् । उनी भन्छन्, ‘उच्च रक्तचाप र मधुमेहका बिरामीहरू राति अबेरसम्म फुटबल हेर्दा रोग बढ्न पुग्छ । अन्य व्यक्तिमा पनि पेटको समस्या थपिन सक्छ ।’

विश्वकपमा एकोहोरो ढंगले टेलिभिजन हेरिरहँदा आँखा सुख्खा हुने लगायत समस्या देखा पर्ने तीलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बु बताउँछन् । उनी भन्छन्, ‘आँखा ढिलो झिम्काउने र एकोहोरो रूपमा हेरिरहँदा आँखा सुख्खा हुन पुग्छ । परेला बेलाबेलामा झिम्काइरहनु पर्छ ।’ सात÷आठ घण्टा सुतेमा निद्रा पुग्ने चिकित्सकहरू बताउँछन ।

मुटुका एवं मधुमेहका बिरामीहरूले प्रत्यक्ष फुुटबल नहेरी भोलिपल्ट आरामले हेर्नुपर्ने सुझाव चिकित्सकहरूको छ । त्यस्तै फुटबल हेर्दा जंक फुडको साटो फलफूल तथा जुस सेवन गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ । चार वर्षको अन्तरालमा हुने फुटबल प्रत्यक्ष हेर्न धेरैलाई रहर हुने उल्लेख गर्दै डा. ओझा थप्छन्, ‘खेलको स्वाद पनि लिऊँ र निद्रा पनि पु¥याऊँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.