मन्त्रीका क्षेत्रमा योजनाका चाङ

मन्त्रीका क्षेत्रमा योजनाका चाङ

 विराटनगर : आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयक ‘हुन्न’ भन्ने विपक्षीको आवाजबीच आइतबार बहुमतले पारित भएको छ । यससँगै प्रदेश सरकारलाई साधारण तथा पुँजीगततर्फका लागि छुट्याइएको बजेट खर्च गर्ने बाटो खुलेको छ । विधेयकमा प्रदेशका मन्त्रीको क्षेत्रमा योजना र बजेटको ठूलो हिस्सा थुपारिँदा प्रतिपक्ष मात्र होइन, सत्तारुढ धेरै सांसदको क्षेत्रमा कार्यक्रम कटौती भएको छ ।

तीन दिनसम्म चलेको विधेयकमाथिको छलफलमा सत्तापक्षीय सांसदले नै बजेट विनियोजन भेदभावपूर्ण ढंगले भएको आरोप लगाएका छन् । सांसदले सिफारिस गरेको योजना कटौती गरेर सम्बन्धित मन्त्रालयका मन्त्रीले आफूखुसी कार्यक्रम हालेको गुनासोबीच विधेयक पारित भएको हो । विधेयकमाथिको छलफलमा ३७ सांसद सहभागी थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले आफ्नो गाउँमा सबैभन्दा धेरै योजना पारेका छन् । उनको निवाससमेत रहेको सुनसरीको कोसी गाउँपालिकामा मात्र २ लाख ५० हजारदेखि पौने २ करोड बजेटका १७ योजना परेका छन् । सबैभन्दा धेरै कुसियतकै मन्त्रालयका योजना यो गाउँपालिकामा परेको जनाइएको छ । यसबाहेक भौतिक पूर्वाधार मन्त्रालयका धेरै योजना उनको गाउँपालिका र क्षेत्रका स्थानीय तहमा पारिएको छ । कुयिसतको मन्त्रालयबाट मुख्यमन्त्री शेरधन राईको क्षेत्रलाई एउटा मात्र योजना परेको छ । विधेयकमाथिको छलफलमा सहभागी सत्तापक्षीय सांसदले यो मन्त्रालयबाट आफूहरू विभेदमा परेको गुनासो गरेका थिए ।

अर्थमन्त्री इन्द्रबहादुर आङ्बोको गृहजिल्ला पाँचथर र उनीनिकट तत्कालीन माओवादी केन्द्रका सांसदको झापास्थित क्षेत्रमा पनि योजनाको चाङ लागेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीको गृहनगरमा पनि धेरै योजना परेका छन् । एउटै पोखरीलाई दुई शीर्षकमा ३ करोड बजेट विनियोजन भएको छ । नदी नियन्त्रण, पर्यटन विकास, सिँचाइलगायत धेरै शीर्षकमा बजेट परेको देखिएको छ ।

‘६ महिनासम्म रोस्ट्रममा गएर बोलिएन तर यो बजेटको बाँडफाँट देखेर बोल्न बाध्य भएँ’, नेकपाबाट उदयपुरकी सांसद कला घलेले भनिन्, ‘हामीलाई योजना सिफारिस भएको जानकारी स्थानीय तहका प्रतिनिधिबाट प्राप्त भयो । बजेट विनियोजनमा धेरै विभेद भएको छ ।’

नेकपाकै लक्ष्मण तिवारीले प्रदेश सरकारले खुद्रा योजना ल्याएको गुनासो गर्दै नीति तथा कार्यक्रम आउँदा उत्साहित भएकामा विनियोजन विधेयक आएपछि ‘स्पिड’ मरेको बताए । ‘होलसेल कार्याक्रम आएनन्’, उनले भने । कांग्रेसका चुमनारायण तवदारले विकास गर्न बजेट ल्याएको भनिए पनि विनियोजन हुँदा विभेदको गन्ध आएको बताए । सदनमा पहिलो पटक मातृभाषा (थारू) मा बोलेका उनले जनतालाई जवाफ दिन नसक्ने गरी विनियोजन विधेयक आएको टिप्पणी गरे ।

प्रदेशसभामा आइतबार आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले विनियोजन विधेयक पारित गर्न गरेको प्रस्तावमा विपक्षीले असहमति जनाएको थियो । कांग्रेसका तर्फबाट सांसद शिवनारायण सिंह गनगाईंले अर्थ विविधतर्फको भैपरी खर्च ८० करोडबाट घटाएर ५ सय, भैपरी पुँजीगततर्फको ४८ करोडबाट पनि ५ सय खर्च कटौतीको प्रस्ताव राखेका थिए ।

संशोधनमाथि जवाफ दिँदै मन्त्रीले मुख्यमन्त्री ग्रामीण सडक, सार्वजनिक निजी कार्यक्रम शीर्षकको स्रोत नमिलेकाले १÷१ अर्ब राख्दा सीमित र भैपरी थोरै रहने भएकाले नदी नियन्त्रणलगात शीर्षक पनि भैपरीमा विनियोजन गरिएकोले अनियमितता र भ्रष्टाचार हुने शंका नगर्न आग्रह गरे । प्रदेश गौरवका कतिपय ठूला आयोजनाका लागि पनि भैपरी शीर्षक राखिएको भन्दै उनले संशोधन प्रस्ताव अस्वीकार गरेका थिए ।

उनले विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै संघीय गणतन्त्रका पहिलो प्रयासस्वरूप आएको बजेटमा कमजोरी भएको स्वीकार गर्दै भने, ‘अपेक्षाअनुसार बजेट आएन । सीमित साधनस्रोतले असीमित आकांक्षा सम्बोधन गर्नुपरेको छ ।’ संघीय सरकारबाट आएको बजेट ससर्त अनुदान कार्यक्रमसहित हस्तान्तरण भएकाले छरिएजस्तो देखिएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.