एसईई : रुप फरक, नतिजा उस्तै
एसईई परीक्षा २०७४ को नतिजा सार्वजनिक भएको छ। कुनै विद्यार्थी अनुत्तीर्ण नहुने, सबै समान प्रतिशतको आधारमा नतिजा नआउने भनी सुरु भएको एसईई परीक्षाको नतिजाले भने रुप फरक अनुहार उही देखाएको विद्यार्थी र अभिभावकले यसपटक पनि अनुभूति गरेका छन्। पहिले प्रतिशतमा आउँथ्यो अहिले ग्रेड जीपीएमा आउँछ। बढी जीपीए ल्याउने खुसी र कम ल्याउने दुःखी र निराश हुने स्थिति उस्तै नै रहेको छ। अगाडिको अध्ययन र विषय छनौट पनि जीपीएकै आधारमा हुने हुँदा एसईईको परीक्षा प्रणालीमा सबै विद्यार्थी समान भन्ने भेटिन्न।
नियमिततर्फ परीक्षामा सहभागी भएका ४ लाख ५१ हजार ५ सय ३२ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्। परीक्षाको नतिजा यस वर्ष पनि ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरिएको हो। ४६ हजार १ सय ३० जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् भनी नतिजा प्रकाशित हुनुले पनि परीक्षा परिणामको प्रवृत्तिमा फरक आएको छैन। पहिले एसएलसीमा प्रतिशतले दिने तनाव र अहिलेको ग्रेडले दिने तनाव उस्तै महसुस गर्न थालेका छन् विद्यार्थी र अभिभावकले।
त्यति मात्र कहाँ हो र गत वर्ष एसईई उत्तीर्ण हुने विद्यार्थीले यसलाई उस्तै फलामे ढोका झैं लिने सोच बदल्नुपर्ने बताउँछन्। यो एसईई भन्ने नाटक नै अन्त्य गरे हुने बताउँछन्। वर्षौंभरि मेहनत गरेर परीक्षा दिने विद्यार्थीले भन्दा नपढी, मेहनत नै नगर्नेले पनि विद्यालयले परीक्षा केन्द्र किन्ने र मेहनती विद्यार्थीलाई कमजोर विद्यार्थीसँगै राखेर हुबहु नक्कल गरी कापी भर्ने र उत्कृष्ट जीपीए ल्याउने गरेको तीतो यथार्थ भोगेको बेलाबेला व्यक्त हुने गरेको छ। हावा नचली पात हल्लिन्न भने झैं यी हल्लाको पछाडिको वास्तविकता के हो सम्बन्धित निकायले बुझ्ने कोशिस गर्नुपर्ने देखिन्छ।
अभिभावकको तर्फबाट हेर्ने हो भने पढेर सकेपछि राम्रो जागिर पाउन, स्वदेशमै होस् या विदेश गएर राम्रो जागिर खाएर टन्न पैसा कमाउन सकोस् भन्ने उद्देश्यले आफ्ना नानीहरूले चाहेको विद्यालयमा अतिरिक्त शुल्क तिरेर शिक्षामा लगानी गरेको पाइन्छ। हाम्रो राष्ट्रिय गरिबी, व्यवस्थापनको गरिबी, स्रोतसाधनको उपयोगमा अज्ञानता, औद्योगीकरणको अभाव, रोजगारीको अभाव र जीवन जिउने वैकल्पिक आधार नहुँदा विदेश पलायन हुने सोच राख्नु सामान्य हुन थालेको छ। कुन अभिभावकलाई इच्छा हुन्छ महँगो शुल्क तिर्ने ? अभिभावकले नचाहँदा नचाहँदै पनि महँगो शुल्क तिरेर विदेशी कोर्ष भएका स्कुल पढाउनुको उद्देश्य पनि आफ्नो सन्तानले धेरै कमाओस् र भविष्यमा सकेसम्म दुःख नपाओस् भन्ने हो।
जीवनमा आवश्यक भौतिक सम्पत्ति कमाउने र आफ्नो वास्तविक खोज के हो त्यसको पनि बोध हुने सिकाइ र शिक्षा आजको आवश्यकता हो।
हुन पनि हो बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म पैसाबिना कुनै काम चल्दैन। सहज र सरल अनि सुखपूर्वक जीवन जिउन पैसा नै चाहिन्छ। आफ्ना भौतिक आवश्यकता पूरा गर्ने आर्थिक सम्पन्नता नभएकै कारण हामीलाई पैसा नै सबैभन्दा ठूलो कमाइ हो जस्तो भ्रम परेको छ। तर सामान्य आवश्यकता पूरा गर्ने पैसा भएपछि पनि मानिस सुखी छ त ? अवश्य छैन, किनकि मानिसको खोज सुख र पैसा मात्र होइन। सुख र दुःख सधैं आउँछन् जान्छन् यो निरन्तरता चलिनै रहन्छ। शिक्षा आर्जन गर्नु, आर्थिकरूपमा सम्पन्न हुनु, पद सम्मान हासिल गर्नु बाहिरी लक्ष्य हुन्। जीवनको वास्तविक खोजचाहिँ जुन कुरा अकाट्य छ र सधैं आफूभित्र छ त्यसमा रमाउनु हो। त्यो हो आनन्द, आफ्नो स्वभावमा जिउनु र आफूलाई जान्नु। यो शिक्षा आजका युवा नानीहरूलाई पनि दिनु जरुरी छ।
हाम्रा नानीहरूले कसरी शारीरिक, मानसिक, सामाजिक, नैतिक र आध्यात्मिक सबै आयामबाट सन्तुलित जीवन जिउन सक्छन् त्यो शिक्षा हामीले उनीहरूलाई दिनुपर्छ। जीवनमा आवश्यक भौतिक सम्पत्ति कमाउने र आफ्नो वास्तविक खोज के हो त्यसको पनि बोध हुने सिकाइ र शिक्षा आजको आवश्यकता हो। एसईई उत्तीर्ण किशोर अवस्थाका नानीहरूको उमेर र सोचाइअनुसार उनीहरूको मनोभावना बुझेर उनीहरूको इच्छालाई पनि आत्मसात गर्दै उत्प्रेरणा दिने समय पनि यही हो। उनीहरू धनी बनुन् होइन कि असल बनुन् भन्ने व्यवहारिक शिक्षा आजको आवश्यकता हो।
नानीहरू जे मा रमाउँछन् त्यो विषय पढ्ने वातावरण मिलाइनुपर्छ। तीन घन्टाको परीक्षा र यसको नतिजाले उनीहरूको भविष्यको अनुमान गर्ने र उनीहरूको खुसी खोस्ने प्रयास नगरियोस्। बाहिरी डिग्रीकै लागि पढाइमा समय खर्चिनुपर्ने र अरूलाई देखाउनकै निमित्त ग्रेड ल्याउनुपर्ने वाध्यता भोग्नु नपरोस् अबका नानीहरूलाई। वास्तविक अध्ययन त त्यो हो जसले स्वयंको स्वभाव जान्न र आन्तरिक विकासको अनुभूति दिलाउन सकोस्। सफलता त्यो हो, जसले हर क्षण, हरेक कर्ममा आनन्दित भएर जिउने प्रेरणा मिलोस्। मृगतृष्णारुपी सफलताको शिक्षा र अपेक्षा प्रति अभिभावक पनि जागृत रहनु जरुरी छ।
आत्मविकासको अनुभूति गर्दै सकारात्मक रूपमा रुपान्तरण ल्याउन सक्ने शिक्षा वास्तविक शिक्षा हो। आजीविका चलाउनकै निमित्त शिक्षा आर्जन गरेर जीवन समाप्त गर्नु भनेको मानव जीवनको लागि दुर्भाग्य पनि हो। एक अर्कामा प्रतिस्पर्धा गर्न सक्नु नै वास्तविक शिक्षा आर्जन गर्नु भनेर बुझिएको आजको समाजमा धेरै भूलहरू भएका छन्। शिक्षा वास्तवमै शिक्षा हो यो न उत्कृष्ट हुन्छ, न निकृष्ट। व्यक्ति पनि त्यही हो कसैले कसैसँग तुलना गर्नुपर्ने र प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छैन। सबैसँग प्रेमपूर्ण हुन सक्ने, सधैं जागृत हुन सक्ने र सधैं आनन्दित रहन सक्ने शिक्षाको अभाव र शिक्षामा व्यवसायिकता नै आजको हाम्रो देशको अवस्थाको परिणाम हो भन्दा अनुपयुक्त हुँदैन।