ढिलाइ किन गर्नु

ढिलाइ किन गर्नु

हामीलाई सञ्चो भएन भने के गर्छौं ? आफैंलाई बिसञ्चो वा बिमारी हुँदाको अवस्था सम्झौं त । पहिलो नम्बरमा अलिकति आराम र खानपानमा नियन्त्रण गर्छौं । त्यसले भएन भने जानकार नजिकका व्यक्तिसँग परामर्श लिन्छौं । अर्थात्, औषधि तथा अन्य घरेलु उपाय अपनाउँछौं । समस्या सामान्य होस् या जटिल, तत्कालै अस्पताल वा विज्ञसँग सम्पर्क गर्न समय निकाल्दैनौं । जटिल रोग पनि सुरुमै गम्भीर नदेखिन सक्छ । गम्भीर नभएसम्म हामी भने अस्पताल पुग्न चाहँदैनौं ।

क्यान्सर भएपछि त उपचार नै हुँदैन भन्ने मान्यता छ । तर ‘समयमै उपचार गरियो भने ९० प्रतिशतसम्म निको हुने हुन्छन्’ भनेर कोशी अस्पतालका क्यान्सर विशेषज्ञ डा. रगिन कठैत बताउँछन् । उनका अनुसार, ‘सामान्यतः क्यान्सरलाई चार चरणमा विभाजन गर्ने गरिन्छ । दोस्रो चरणसम्म पुग्दा जुन अंगमा क्यान्सर भएको हो, त्यसको वरिपरिसम्म यसले असर गरेको हुन्छ । तर चौथो चरणसम्म पुग्दा यसले शरीरको अन्य अंगमा आक्रमण गरिसकेको हुन्छ । त्यसैले पहिलो चरणमा उपचार गरे निको हुने सम्भावना ९० प्रतिशतसम्म हुन्छ । बिस्तारै चरण बढ्दै जाँदा यसको सम्भावना कम हुँदै जान्छ । चौथो चरणसम्म पुगेको छ भने क्यान्सर निको हुने सम्भावना निकै न्यून हुन्छ ।’

नोबेल अस्पतालका क्यान्सर विशेषज्ञ डा. प्रदीप भण्डारी पनि क्यान्सर समयमै पत्ता लगाएर उपचार गर्ने हो भने पूर्णरूपमा निको हुने बताउँछन् । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ । विषय वा सन्दर्भ क्यान्सरको मात्र होइन । भरतपुर अस्पतालका हेपाटोलोजिस्ट डा. रूपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिनेबित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने तथ्य लेखमा उल्लेख गर्छन् । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ । ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउँछ’, लेखेका छन्, ‘कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन् । तर हल्का रूपमा लिँदा पछि गम्भीर बन्न सक्छ । सुरुकै अवस्थामा गम्भीर रूपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।’

शारीरिक समस्याहरूलाई मात्रै समयमा उपचार चाहिने होइन रहेछ । मानसिक स्वास्थ्य पनि त्यस्तै रहेछ । मानसिक समस्याहरूमा सबैभन्दा बढी ‘डिप्रेसन’ छ । मानसिक रोग विशेषज्ञ प्रा.डा. सुदर्शननरसिंह प्रधानका अनुसार डिप्रेसनको राम्रोसँग उपचार गरियो भने पूर्ण निको बनाउन सकिन्छ । भन्नुहुन्छ, ‘डिप्रेसन हेलचेक्राइँ नगरी सुरुआती चरणमा उपचार गरिएमा यो रोग पूर्ण निको हुन्छ । तर, बिरामीका साथै परिवारका अन्य सदस्यको साथ सहयोगको आवश्यक पर्छ ।’

अधिकांश जटिल रोग समान्य रोग र समस्याबाट नै सुरु हुन्छ । तर सुरुवातमा हामीलाई परीक्षण गर्न असजिलो लाग्छ । भरसक बिरामी नहोस्, अलिकति गाह्रो भइहाले चिनजानको स्वास्थ्यकर्मी तथा डाक्टरसँग फोनमै सोधेर औषधि खाएर ठीक भइहालोस् भन्ने चाहना धेरैको हुन्छ । 

अस्पताल पुग्नेबित्तिकै डाक्टरले अन्य सबै काम छाडेर आफैंलाई परीक्षण गरोस् भन्ने लाग्छ । छिटो परीक्षण गराउन अस्पतालमा कोही चिनेको छ भने त्यतै लाग्छौं । अस्पताल गएर धैर्यका साथ राम्रोसँग परीक्षण गराउनेभन्दा पनि छिटो गराउने मनसाय सबैको हुन्छ । अर्थात् अस्पताल ढिला पुग्ने तर छिटो फर्कन खोज्ने प्रवृत्तिले जरो गाडेको छ ।

हाम्रो शरीर पनि गजबको छ । शरीरभित्र अनेकौं प्रक्रिया भइरहेका हुन्छन् । जब शरीरभित्रका आन्तरिक (हर्मोनल या मेटाबोलिक) असन्तुलन हुन्छ वा बाहिरी वातावरणीय तथा संक्रमणहरूले असर गर्छ, तब पहिले शरीरको आफ्नै प्रतिक्रियाहरूले सन्तुलन कायम गर्ने प्रयास गर्छ । यिनै प्रयास तथा प्रयासको असफलता पछि बिसञ्चो हुने वा बिमारी पर्ने हुन्छ । त्यसैले बिमारी हुनबाट जोगिन सन्तुलित भोजन, व्यायाम र आराम गर्नु अति आवश्यक छ । यसका साथै प्रदूषणरहित वातावरणमा बस्ने तथा संक्रमण गराउन सक्ने जीवाणुरहित स्वच्छ, सफा हावा, पानी, खानामात्र सेवन गर्नुपर्छ । यद्यपि भनेजस्तो नहुँदा फलतः बिमारी हुन्छौं तर बिमारी हुँदैमा आत्तिनुपर्ने पनि हुँदैन । सावधानी अपनाउँदा शरीरमा रोगविरुद्ध लड्ने शक्ति तथा प्रतिरक्षा प्रणालीले निको बनाउन सक्छ ।

अस्पताल गएर आवश्यक परीक्षण गर्नभन्दा अन्दाजको भरमा औषधि सेवन गर्नेको संख्या ठूलो छ । जसले रोगको निदानभन्दा समस्या बढी हुन्छ । हाम्रो वरिपरि अस्पताल, स्वास्थ्य केन्द्र, पोलिक्लिनिक तथा क्लिनिक पक्कै छन् । चिकित्सकसँग भेट्न गाह्रो पक्कै छैन । सरकारी स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमाले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि पनि चिकित्सकको परामर्श र आवश्यक परीक्षण गर्न सहज बनाएको छ । सुरुवातमै उपचार गरे घरै छेउमा निको बनाउन सक्ने रोगको उपचारलाई ढिलाइ गरेकै कारण जटिल बनाएर उपचारका लागि देश–विदेश भौंतारिनु तर पनि पूर्णरूपले निको बनाउन नसक्नेको पीडा पक्कै असह्य हुन्छ । त्यसैले आइपरेको स्वास्थ्य समस्याको निदान तथा उपचार गर्न ढिलाइ किन गर्नु ? 

(साह, जनस्वास्थ्य विज्ञ हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.