पोषिलो खानपान, प्रकृतिको वरदान

पोषिलो खानपान, प्रकृतिको वरदान
सुन्नुहोस्

साउन १५ मा खिर खाने ठूलो प्रचलन छ। नेपाली समाजमा साउन १५ गते विशेष रूपमा खिर खाइन्छ। भदौ १५ गते पोलेको हरियो मकै खाने चलन छ। पुस १५ मा घिउ खट्टे र माघे संक्रान्तिमा चाकु खाइन्छ। माघ १५ मा मालुवा आदि बनाएर खाने हाम्रो संस्कृति छ। परिवार मिलेर यस्ता शाकाहारी खाना खाने परम्परा निकै राम्रो छ।

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै भोजन हो। लेखमा मुख्यतया शाकाहारी भोजन र खिरबारे चर्चा गरिनेछ। स्वस्थ रहन शक्ति दिने खानेकुराको धेरै महत्व हुन्छ। यसका लागि शाकाहारी भोजनको भूमिका महत्वपूर्ण हुन्छ। खिर, उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामल स्वस्थकर मानिन्छन्। गहुँ, मकै, कोदो र तितेफापर पनि स्वस्थ भोजन हुन्। जुनेलो, जौ, सखरखण्ड, तरुल र पिँडालु पनि फाइदाजनक छन्। गिठ्ठा, आलु, चिउरा र फलफूललाई पनि स्वस्थ भोजन मानिन्छ।

शाकाहारी भोजन र शारीरिक सन्तुलन : शाकाहारी खानाले शरीरको तापक्रम र सन्तुलन कायम राख्छ। यसले मांसपेशीलाई निकै बलियो र तन्दुरुस्त बनाउँछ। मुटु, फोक्सो र मस्तिष्कजस्ता अंगलाई यसले निरोगी राख्छ। विभिन्न स्वास्थ्य समस्याहरू निराकरण गर्न पनि यी उपयोगी छन्। नफलेको अन्नले शरीरको विकास र सन्तुलनमा मद्दत गर्छ। यसले शरीरलाई चाहिने प्रोटिन र भिटामिन ‘बी’ दिन्छ। यसले रगत राम्रो बनाउने तत्वहरू पनि प्रदान गर्छ। काम नलाग्ने वस्तु बाहिर निकाली यसले शक्ति दिन्छ। 
तरकारीका रूपमा खाइने आलुबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ। 

यसले घाउ छिटो निको पार्न र बलियो बनाउन सघाउँछ। खानामा भएको तत्व पचाउन शरीरलाई पर्याप्त शक्ति चाहिन्छ। आलुमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। यसले शरीरको वृद्धि र सन्तुलनमा ठूलो मद्दत गर्छ। कम चिल्लो राखेर आलुलाई बोक्रासहित पकाउनु राम्रो हो। यसो गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने कुरा अध्ययनले देखाएका छन्।

कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ। यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम मिल्छ। शक्ति दिने खानाको कमी भएमा मानिस दुब्लाउँछ। यसले मांसपेशी कमजोर हुन्छ र काम गर्ने जाँगर घट्छ। थकाइ छिटो लाग्छ, जाडो महसुस हुन्छ र जीउ काँप्छ। शरीरको विकास र सन्तुलनका लागि शाकाहारी खाना मुख्य हो। यस्तो पोषण गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ। मास, भटमास, राजमा, सिमी र गहतमा प्रशस्त प्रोटिन पाइन्छ। रहर, बकुला, तिल, मुगी, मुसुरो र चनामा प्रोटिन हुन्छ। बोडी, केराउ र मस्याङमा पनि प्रशस्त प्रोटिन पाइन्छ। फर्सीको बियाँ, लट्टेको गेडा र ओखर निकै पोषिला हुन्छन्। 

ज्वानो आदिबाट पनि शरीर रक्षा गर्ने प्रोटिन प्राप्त हुन्छ। शरीरको विकास र दीर्घ जीवनका लागि प्रोटिन आवश्यक छ। त्यसैले माथि उल्लेखित प्रोटिनयुक्त शाकाहारी खाना नियमित खानुपर्छ।

प्रोटिन र भिटामिनको महत्व : प्रोटिन कपाल, हाड, मांसपेशी र रगतका लागि आवश्यक छ। यसले मुटु, मिर्गौला र कलेजोका कोषहरूलाई स्वस्थ राख्छ। यस्ता कोषलाई करिब दुई हप्तासम्म जीवित राख्न मद्दत गर्छ। यसले छाला, हाड र मांसपेशीका कोषलाई लामो समय बचाउँछ। प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु¥याउँछ। केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने क्याल्सियम पनि दिन्छन्। प्रोटिन र भिटामिन भएन भने शरीरले सबै तत्व पचाउँदैन। त्यस्ता महत्वपूर्ण पौष्टिक तत्वहरू दिसामा बगेर खेर जान्छन्। अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ। खानामा प्रोटिन र कार्बोहाइड्रेट समान अनुपातमा हुनु अति महत्वपूर्ण छ। प्रोटिनलाई शक्ति र भिटामिन दिने खानेकुरासँग मिलाएर खानुपर्छ। यसो गर्दा शरीरले खानामा भएको सम्पूर्ण पौष्टिक तत्व पचाउँछ। त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ। दालभात, साग, गेडागुडी, दूध, मोही र घिउ मिलाएर खानुपर्छ। यी कुरा फरक–फरक खाँदा पौष्टिक तत्वको सही उपयोग हुँदैन।

प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन। यसले गर्दा केटाकेटीहरू ख्याउटे, दुब्ला र निकै कमजोर हुन्छन्। उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ। कपाल पातलो र खैरो हुन्छ। शरीर सुन्निने पनि हुन्छ। कपाल फुस्रो र जिङरङ परेको हुन्छ। कहिलेकाहीँ छालामा दाग पनि देखिन्छ। घाउ भयो वा खटिरा आयो भने निको हुँदैन। घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ। प्रोटिनका सबैभन्दा असल स्रोतहरू शाकाहारी खानाबाटै प्राप्त गर्न सकिन्छ। भटमास, मह र सागसब्जीलाई राम्रो स्रोतका रूपमा प्रयोग गर्नुपर्छ। दूध र दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन्। आमाको दूध बच्चाका लागि अमृत सरह हुन्छ। 

आमाले गर्भावस्थामै पुग्दो मात्रामा प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। बच्चा जन्मेपछि पनि आमाले प्रशस्त पोषिलो खाना खानुपर्छ। यस्तो आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ हुन्छ। आमाले मि िश्रत खाना सेवन गर्दा दूध प्रशस्त मात्रामा आउँछ। गाढा हरियो रङको तरकारीमा प्रशस्त भिटामिन र खनिज हुन्छ। यी तत्वहरू हाम्रो शरीरका लागि अति आवश्यक मानिन्छन्। यसले रोगका कीटाणु, सरुवा रोग र कमजोरीबाट हामीलाई बचाउँछ।

फर्सी, गाजर, बकुला र उमारेका गेडागुडीमा आवश्यक तत्व हुन्छन्। सामान्यतया भिटामिन ‘ए’ शरीरको निम्ति अति आवश्यक तत्व हो। शारीरिक विकास, तेजिलो आँखा र स्वस्थ छाला महत्वपूर्ण छन्। बलियो दाँत र हाडका लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ। भिटामिन ‘बी’ले नशासम्बन्धी रोगबाट बचाउँछ। भिटामिन ‘सी’ले शरीरका कोषहरू बलियो बनाउँछ। यसले विशेषगरी जोर्नी, मुख र गिजालाई धेरै फाइदा पुर्‍याउँछ। 

यसबाहेक यसले घाउ चाँडो निको पार्न पनि मद्दत गर्छ। यसले शरीरमा फलामको मात्रा वृद्धि गर्न पनि सघाउँछ। फलाम भएका खानाले रगत बनाउन सहयोग गर्दछ। क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ। बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खुलाउँछ। अज्ञानताका कारण धेरैले गाढा हरियो सागपात खाएको पाइँदैन। साना बालबालिका र वयस्क व्यक्तिले पनि यस्तो सागपात खाँदैनन्। गाढा हरियो सागपात नखाँदा शरीरमा भिटामिन ‘ए’ को कमी हुन्छ।

भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ। यसको कमीले रतन्धो रोग हुन्छ। यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ। त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुन सक्छ। सानो बालकले आँखा मिचिरहने समस्या पनि देखा पर्न सक्छ। त्यसैगरी आँखामा बिस्तारै सेता थोप्लाहरू पनि देखिन थाल्छन्। आँखाको नानी नरम हुने र घाउ भएको हुन्छ। सेतो भागको आकार असाधारण हुन्छ। आँखाको सबै कालो भाग सेतोले पूर्णरूपमा ढाक्छ। त्यसपछि मानिसले आँखा देख्न सक्दैन र अन्धो हुन्छ। 

यस्तो अवस्थामा भिटामिन ‘ए’ भएका फलफूल र सागपात खुवाउनुपर्छ। गाढा हरियो सागपात, पाकेको फर्सी, आँप र गाजर खुवाउनुपर्छ। यी खानेकुराहरू केही हप्तासम्म निरन्तर खुवाउनु निकै आवश्यक हुन्छ। यस्ता व्यक्तिलाई प्रशस्त हरियो सागपात खुवाउनु अति आवश्यक छ। यसो गर्दा केही हप्तामै आँखाको समस्या हटेर जान्छ। पूर्ण निको नभएसम्म सधैं हरियो सागपात खाइरहनुपर्छ। जीवनभर हरियो सागपातको प्रयोग गर्नु त अति उत्तम हुन्छ। गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ। लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ। अतः यस्ता खानेकुरा नियमित खानु आवश्यक छ।

खिरको सांस्कृतिक र पौष्टिक महत्व : यसै सिलसिलामा हाम्रो संस्कृतिमा खिर खाने परम्परा पनि छ। साउन १५ गतेलाई खिर खाने विशेष पर्व मानिन्छ। नेपाल एउटा सुन्दर कृषिप्रधान देश हो। यहाँका बहुसंख्यक मानिसहरू कृषि पेसामा नै आश्रित छन्। कृषकहरूले धान रोपेर सकेपछि खुसियाली मनाउने चलन छ। यही खुसियालीस्वरूप खिर खाने परम्पराको विकास भएको पाइन्छ। साउन महिनाभरि खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ। नेपालमा मात्र नभएर भारतमा पनि खिरको निकै महत्व छ। 

साउन महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता छ। वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन खिर खाइन्छ। शरीरलाई ऊर्जामय राख्न हरेक वर्ष साउन १५ मा खिर खाइन्छ। यस दिन विशेषगरी खुसियालीसँग खिर खाने चलन रहेको छ। मौसमअनुसार श्रम र स्वास्थ्यलाई सन्तुलनमा राख्न यसो गरिएको हो। हाम्रा पुर्खाहरूले यस्तो भोजलाई चलनचल्तीमा ल्याएको संस्कृतिविद् बताउँछन्।

गर्मी महिनामा दाद, खटिरा र लुतोजस्ता रोग लाग्न सक्छन्। यस्ता रोगले आक्रमण गर्ने भएकाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्छ। यसका लागि दूध तथा दूधबाट बनेका पोषिला परिकार खाइन्छ। यो समयमा पानी पर्ने भएकाले जताततै हरियो घाँस हुन्छ। यस्तो हरियो घाँस खाँदा गाईभैंसीले प्रशस्त दूध दिने गर्छन्। यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने विश्वास छ। तर, आजभोलि खिर खानका लागि साउन नै कुर्नु पर्दैन। यो पोषिलो परिकार बाह्रै महिना ३६५ दिन नै खान सकिन्छ। शाकाहारी खानामा खिर तथा दूधभात मिठो र पोषिलो मानिन्छ। खिर बनाउँदा सकेसम्म बास्मती वा तराईमा पाइने करियाकामत चाहिन्छ। ताइचिन वा अन्य मसिनो बास्नादार चामल पनि प्रयोग गर्न सकिन्छ। त्यसो नभए आफूसँग भएको चामल दूधमा पकाएर खिर बनाइन्छ। खिरमा किसमिस, काजु र नरिवलजस्ता विशेष मसला पनि हालिन्छ।

हाम्रो चलनचल्तीमा विभिन्न उत्सव र चाडबाडमा खिर पकाइन्छ। पूजाआजा, विवाह र व्रतबन्धमा खिर महत्वका साथ बनाइन्छ। खिर नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानका रूपमा परिचित छ। साल वा भोर्लाको ठूला पातको दुना र टपरी बनाइन्छ। त्यसमा बास्नादार खिर र सेलरोटी खाँदा सबैको मुख रसाउँछ। यसरी प्राकृतिक भाँडामा खिर खाँदा बेग्लै किसिमको आनन्द आउँछ। मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ। 

शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि यो प्रसिद्ध छ। यसै कारणले गर्दा विश्व समुदायमा यो परिकार सफल छ। खिर एक अनुपम सम्मि श्रण हो जसमा पोषणको आकर्षण छ। सेतो दूध र चामल मिसाएर यो भोजन पकाइन्छ। यसको सम्बन्ध प्राचीन कालको समुद्र मन्थनसँग जोडिएको मानिन्छ। त्यतिबेलादेखि दूधलाई शुद्धीकरण गर्ने बहुगुणी तत्वका रूपमा लिइन्छ। पोषण मिसिएको यो परिकारलाई अमृतकै रूपमा मान्ने गरिन्छ।आयुर्वेदमा खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिन्छ। 

खिरलाई पायस तथा कतैकतै तस्मै पनि भनिन्छ। वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउने गरिन्छ। हिन्दूहरूको सोह्र श्राद्ध तथा अन्य  श्राद्धमा पनि यसको धेरै महत्व छ। भगवान्  श्रीकृष्णले विजय प्राप्त गरेको सम्झनामा खिर बाँड्ने गरिन्छ। मन्दिरमा दीनदुःखी र भक्तजनलाई प्रसादका रूपमा खिर बाँड्ने चलन छ। साउनको मध्यविन्दुमा खिर खाने धेरै प्रचलनमा छ। मुख्यतः साउन १५ मा खिर खाने ठूलो प्रचलन छ। विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यमा पनि खिर खाइन्छ। नेपाली समाजमा साउन १५ गते विशेष रूपमा खिर खाइन्छ। 

भदौ १५ गते पोलेको हरियो मकै खाने चलन छ। पुस १५ मा घिउ खट्टे र माघे संक्रान्तिमा चाकु खाइन्छ। माघ १५ मा मालुवा आदि बनाएर खाने हाम्रो संस्कृति छ। परिवार मिलेर यस्ता शाकाहारी खाना खाने परम्परा निकै राम्रो छ। समय समयमा यस्ता पदार्थ खाएमा स्वास्थ्य राम्रो हुन्छ। यसले गर्दा मानिस दीर्घजीवी हुन्छ र रोग लाग्दैन। साथै हाम्रो संस्कृतिको पनि राम्रो संरक्षण र प्रवद्र्धन हुन्छ।

अधिकारी नेपालमा गुणस्तरीय जीवनका निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.