बीपी विचारको सजीव विरासत

अग्रमत

बीपी विचारको सजीव विरासत

पोखरेल बीपी कोइरालाको समाजवाद र नेपालमा यसको भूराजनीतिक तथा कूटनीतिक प्रभावका शोधकर्ता हुन्।

बीपीको महत्व बुझ्न आजको नेपाली डायस्पोरामात्र काफी छैन। यसको महत्व नेपाली राजनीति, साहित्य र समाजवाद हुँदै भारत तथा समग्र दक्षिण एसियामै पुग्दा पनि दायरा सानै हुन पुग्छ। विश्वले उनलाई एक राजनीतिक, ऐतिहासिक तथा साहित्यिक व्यक्तित्वका रूपमा स्वीकारेको मनन् गर्न सकिन्छ। उनको समाजवादी ओजबारे जोन ह्वेप्टन, लियो ई. रोज तथा भोला चटर्जीकै कृतिहरू काफी छन्। नेपाली सन्दर्भमा समाजवादको ‘नोमेन्क्लेचर’ वा न्वारानकर्ता भने बीपी नै हुन्।

तर, नेपाली सन्दर्भमा विभिन्न हिसाबले उनको समाजवादलाई हल्लाएर सामाजिक लोकतन्त्र, संवैधानिक समाजवाद, वैज्ञानिक समाजवाद, नवसमाजवादजस्ता ‘भेरियन्ट’हरूको जन्म गराइयो। यसैकारण पनि बीपीको समाजवादी ओज थप प्रगाढ बन्दैछ। बीपीकालीन इतिहासको निरन्तरता नेपाली समाजले सहज तथा निरन्तर रूपमा गरेको पाइन्छ। एक अर्थमा बीपीको साहित्यिक कोणका हिमायती धेरै छन् भने उनकै मनोविज्ञानलाई पछ्याउने जमात पनि बाक्लै छ। त्यसो त उनको राजनीतिक दृष्टिकोण समात्नेको बेग झन् वेगिलो छ। पछिल्लो समय उनकै समाजवादी कोणको दिशानिर्देशमा चल्ने जमात बीपीवादमा विश्वास गरी ‘विकासे मेलो यही हो’ भनेर लर्किने थिंक ट्यांकहरू चलायमान तथा अभ्यस्त छन्।

कुरो यहाँनिर मलिन छ, यति हुँदाहुँदै पनि उनको सम्झना हिजोआज केवल जन्मजयन्ती र स्मृति दिवसमा सीमित रहनु ज्यादै पेचिलो विषय हो। यसबाट यो अनुमान गर्न सकिन्छ कि के बीपीको महत्व पछिल्लो पुस्ताले नबुझेको हो या नबुझाउन खोजिएको हो ? बीपी सबैका सर्वस्वीकार्य नेता थिए, यो त मदन भण्डारीको अभिव्यक्ति– ‘मनपर्ने नेता बीपी, मनपर्ने खाजा मःमः’बाट समेत स्पष्ट हुन्छ। यसर्थ उनी जनताको पूर्ण प्रजातन्त्रमा विश्वास गर्दथे। पूर्ण प्रजातन्त्रको महत्व पछिल्लो समयका पूर्णकालीन युवा नेतावर्गले बुझ्न नसक्दा हाल बेहालको अवस्था छ। परिवर्तनको स्वरूप घेराघेरा आइसक्यो र मेलो थप प्रगाढ बन्दै जाने क्रममा छ।

बीपी एक विचार थिए। विचार भन्नाले यहाँ क्रान्ति र शान्तिको द्योतक हो। नेपाली भौगोलिक एकीकरणको जिम्मा राजा पृथ्वीनारायण शाहलाई, भाषिक एकीकरणको जिम्मा आदिकवि भानुभक्तलाई दिएजस्तै नेपाली आधुनिक राजनीतिक एकीकरण तथा संस्कारको जिम्मा बीपीलाई दिँदा केही फरक पर्दैन भनेर भारतीय लेखक तथा समाजशास्त्री भोला चटर्जीले आफ्नो पुस्तक ‘बीपी कोइराला ः एक क्रान्तिकारी व्यक्तित्व’ मार्फत प्रकाश पारेका छन्। यहाँ चटर्जीले बीपीको नेपाली राजनीतिप्रतिको प्रगाढतालाई स्पष्ट पारेका छन्।

कोइरालाको उठान यहाँ धिमा तर प्रगाढ देखिन्छ, प्रगाढताको दायरा ज्यादा फराकिलो तथा अन्तर्राष्ट्रिय स्तरको छ। वर्तमानमा जुरुक्क उठ्ने अनि टिकटक जस्तै फुत्तै परिवर्तनमा लागिहाल्ने पछिल्लो जमातमा बीपी फिट नहुन सक्छन्, तर उनकै सैद्धान्तिक परिधिमा आफू भएको उनीहरूलाई ज्ञात नहुन सक्छ। हो, सामाजिक लोकतन्त्रलाई मन्त्र मान्ने जमातलाई बुझाउन खै त उच्चवर्गीय नेताको भूमिका ? यो पनि बुझौं कि माथिको सन्दर्भमा टिकटक आधुनिकता तथा वैश्वीकरणको नतिजा हो। नतिजा सकारात्मकमात्र होइन, नकारात्मकसमेत हुन सक्छ।

बीपीको वाद निरपेक्ष छ, जसले समाजवादी क्रान्तिको धारलाई नेपाली कांग्रेसमा मूलप्रवाहीकरण गर्न सक्यो। यस्ता वाद पछिल्लो समय नेपाली वामपन्थीहरूले समेत अवलम्बन गर्न थाल्नु कोइरालाको लिगेसीमा प्रगाढता थपिनु हो। मूलप्रवाहीकरण यस मानेमा सबल छ कि, यसले विविधतामुखी समाजको धर्म, संस्कृति, जातीयता, लिंग आदिका आधारमा समतामुखी समाजको निर्माण गर्न सक्छ। यसले सामाजिक सक्रियताको आधारमा समाज उत्थानका संयुक्त परिपाटी तथा विधिमा आधारित शासन प्रणालीको पैरवी गर्दछ।

अर्कातर्फ, बीपीले कल्पना गरेको समाजवाद फेबियन प्रकारको भनेर व्याख्या गरेको पाइन्छ। जसमा समाज विकासका क्रमिक र प्रगतिवादी आयाम, हिंसाभन्दा शान्तिपूर्ण विकास शैली तथा पुँजीवादको अनुसरणसमेत पर्दछन्। पछिल्लो समय यसैलाई नै सामाजिक लोकतन्त्र भनी व्याख्या एवं विश्लेषण गर्न थालियो। वर्तमान सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीले यसैलाई मूल राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गरेको छ। यही मेसोमा राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक कृष्ण खनाल आफ्नो पुस्तक ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति’मा उल्लेख गर्छन्, छुट्टै क्रान्तिको आवश्यकता छैन भन्नेहरू लोकतान्त्रिक समाजवादी वा सामाजिक लोकतन्त्रवादी भए। यसैकारण पनि भन्न सकिन्छ, सामाजिक लोकतन्त्र भन्नाले प्रजातान्त्रिक समाजवाद नै हो ।

माक्र्सवादी सिद्धान्तका वाहक बीपीमा समाजवादी धारको विकास कसरी भयो भनेर भन्नेहरू पनि छन्। जसका पर्यायका रूपमा रहेका यसका हिमायती या प्रशंसक प्रदीप गिरीको धार लगभग बीपीसँग मेल खान्छ। भनिन्छ, समाज स्वतः प्रजातन्त्र वा लोकतन्त्रमुखी हुन्छ, जसलाई शासन व्यवस्थाले समेत फरक पार्दछ। शासन व्यवस्थाको भार शासक स्वयंले बोक्ने हुँदा निर्णय निर्माण जनमुखी नहुन सक्छ। निर्णय जनमुखी नहुने हुँदा वर्तमानमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ताव गरेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री या प्रमुखमाथि समेत प्रश्नचिह्न खडा भएको छ। शासक केन्द्रीयता वा जनमुखी नभएका शासनको पैरवी समाजवादले गर्छ भन्ने भावनाको विकास बीपीको समाजवादी बाटोले तय गर्न सक्छ। यति लामो समय सत्ताको बागडोर सम्हालेको बीपीकै पार्टी नेपाली कांग्रेसले बीपीको समाजवाद बिर्सिएकै हो त ? 

जेन–जी पुस्तान्तरणको बाटोमा हिँडिसक्यो। हलो र गोरु बिर्सिनु जेन—जीको दोष होइन, समयको दोष हो। जेन–जी, जेन अल्फा र जेन बिटालाई बीपीकै दुहुनो गाई, हलो, गोरुको इतिहासमा अडकनु वा अड्काउनु विकासको बाधक बन्नुसमेत हो। यो गर्नु भनेको आफैंले विकासको मेलोलाई एक–दुई दशक पछि धकेल्नु हो। युभल नोआ हरारीले भनेजस्तै प्रक्रियागत परिवर्तन र नव–आधुनिक समाजको चुनौतीलाई थप चुनौतीपूर्ण बनाउन कृत्रिम बौद्धिकताका नयाँ स्वरूप तथा आयामहरू भित्रिसकेका छन्। यसको समकालीन ‘टच’ बीपीको समाजवादले अब दिनुपर्छ, जुन आजको आवश्यकता पनि हो।

पुँजीवादी व्यवस्था तथा अधिनायकवादी व्यवस्थाका कमी, कमजोरीलाई चिर्न यो समाजवादी बाटो बीपीले तय गरेका हुन् भनेर भन्ने समूह पनि छ। यसबाट समृद्ध समाजको परिकल्पनाको आधारशिलासमेत तय गर्न सकिने आधारहरू रहेका छन्। 

पछिल्लो समयको बढ्दो चुनौती नेपाली समाजले पचाउन नसक्ने अवस्थाको विकास हुँदैछ। कृषि प्रणालीका मूलभूत आधारस्तम्भहरू भत्कँदै गएको उदाहरण नेपालका बाँझा खेत तथा बारीले दिँदै आएका छन्। कृषि प्रणाली व्यावसायिक बन्नुपर्नेमा पछिल्लो समय थप निर्वाहमुखी बन्दैछ, अर्थतन्त्र विप्रेषणमुखी बन्दैछ। कृषिमा यान्त्रीकरणका लागि सरकारले हरेक वर्ष करोडौं बजेट अनुदानका रूपमा वितरण गर्दै आएको छ। खै त कृषिमा नतिजा ? यसका लागि जवाफदेहिताको सन्दर्भमा तीनै तहका सरकार अनुत्तरित छन्।

राष्ट्रिय मेलमिलाप नेपालका निमित्त अर्को ठूलो बिन्दुका रूपमा विकास भयो। सो बेला उनले ठूलै जोखिम मोले। नेपाल झर्न नपाउँदै तुरुन्तै गिरफ्तार समेत भए। पिरोलिने आँट उनमा हुन सकेन, बीपी र गणेशमानलाई सुन्दरीजल पु¥याइयो। मेलमिलाप र माटोको अर्थ बुझेका बीपीका लागि सुन्दरीजलको कुनै पर्वाह भएन, उल्टै सुन्दरीजल पाठशाला साबित भयो। बीपीको इतिहास बोकेको सुन्दरीजल हिजोआज नेपालका खोज अनुसन्धानकर्ताका लागि एक विश्वविद्यालय वा सोसरह छ।

  • समाजवादी पर्यायका रूपमा बीपीको समाजवादी सोच केवल क्षणभंगुरतामा सीमित थिएन।
  • नेपाली सन्दर्भमा विभिन्न हिसाबले बीपीको समाजवादलाई हल्लाएर सामाजिक लोकतन्त्र, संवैधानिक समाजवाद, वैज्ञानिक समाजवाद, नवसमाजवादजस्ता ‘भेरियन्ट’हरूको जन्म गराइएको छ।

बीपीका सन्दर्भमा लेखिएका ठेलीका ठेली किताब अध्ययन गर्दै गर्दा लाग्छ, बीपी पर्वाहका निम्ति बाँचेका व्यक्ति थिएनन्। उग्रभन्दा पनि क्रमिक सुधारका पक्षधर बीपीका कृतिहरू नेपाली समाजकै निम्ति आदर्श हुन्, जुन साहित्याधार र सामाजिक मामिलाका पर्यायका रूपमा परिचित छन्। आदर्श समाज निर्माणका लागि आवश्यक संयन्त्रहरूबारे बीपीले कल्पना गरेका, माक्र्सको वर्ग संघर्ष तथा वर्ग चेतना र यसका उपयोगिताहरूको उपजबारे उनले प्रस्तुत गरेको सन्दर्भ आज पनि उत्तिकै समसामयिक हुनु वास्तवमै आश्चर्यको कुरा हो। भनिन्छ, बीपी साहित्य जहिल्यै पनि सान्दर्भिक छ।

समाजवादी पर्यायका रूपमा उनको समाजवादी सोच केवल क्षणभंगुरतामा सीमित थिएन। नेपालमा यसको बारेमा सोच लिनुसम्म पनि गहन कुरा थियो। नेपालमा समाजवादबाट अभिप्रेरित भई सञ्चालनमा रहेका सामाजिक संस्थाहरू यसैका उदाहरण हुन्। सोसलिस्ट इन्टरनेसनल, सोसलिस्ट फोरम, स्कुल अफ डेमोक्रेसी यसका विश्वव्यापी उदाहरणसमेत हुन् भने ‘स्कुल अफ डेमोक्रेसी नेपाल’ भन्ने संस्थासमेत स्थापना भई सक्रिय छ।सहभागितामूलक शासन प्रणालीमा लोकतन्त्र तथा समाजवाद थप सुदृढ हुन्छ भन्ने बीपीको ठम्याइँ थियो। भनिन्छ, यस्तो सोचको प्रभाव बीपीको वयकालमै भारतीय समाजवादी नेताहरू राममनोहर लोहिया र जयप्रकाश नारायणको संगत तथा प्रभावबाट परेको हो।

यसैकारण नेपालमै पहिलो पटक समाजवादी सोचको वृत्ति तथा विकासका लागि बीपीको योगदानबारे नेपाली प्राज्ञिक वर्गले छलफल तथा विचार मन्थन गरेको पाइन्छ। यसकै मेसोमा यसको नेपालमा अभ्यासबारे परिकल्पना गर्दा प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको प्रेरक सिद्धान्तका रूपमा विकास भएको सहज अनुमान गर्न सकिन्छ। बीपीको वाद निरपेक्ष छ, जसले समाजवादी क्रान्तिको धारलाई नेपाली कांग्रेसमा मूलप्रवाहीकरण गर्न सक्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.