भ्रष्टाचारभन्दा माथि देवेन्द्रराज पाण्डे!

भ्रष्टाचारभन्दा माथि देवेन्द्रराज पाण्डे!

देवेन्द्रराज पाण्डे अत्यन्त प्रभावशाली व्यक्तित्व, जसलाई हामीले गुमाएका छौं। उहाँ सेक्सन अफिसर हुँदादेखि नै असाध्यै चलाख र एकदम ‘स्टाइलिस’ मान्छे हुनुहुन्थ्यो। त्यति बेलैदेखि हामीले उहाँलाई एउटा सेलिब्रेटी जस्तै मान्थ्यौं। राष्ट्रिय योजना मन्त्रालयको सेक्सन अफिसरबाट उहाँले काम सुरु गर्नुभएको हो। त्यसपछि अर्थ मन्त्रालयमा आउनुभयो। ‘फरेन एड डिभिजन’ भन्ने एउटा नयाँ शाखा बन्यो, जहाँ उहाँ ‘चिफ’ हुनुभयो।

त्यस डिभिजनमा विदेशीहरूले हामीलाई के–कति सहयोग गर्छन्, कुन–कुन क्षेत्रमा के गर्ने भन्ने सबै कुराको ‘को–अर्डिनेट’ गर्ने जिम्मेवारीमा उहाँ बस्नुभयो। त्यो बेलामा पनि उहाँ स्टार, सुपरस्टार नै हुनुहुन्थ्यो। उहाँ अतिरिक्त सचिव हुँदाखेरि म कार्यरत अफिस ‘एप्रोस्क’ को बोर्ड अफ डाइरेक्टर्समा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधि हुनुहुन्थ्यो। कुलशेखर शर्मा राष्ट्र बैंकको गभर्नर र एप्रोस्कको अध्यक्ष हुनुहुन्थ्यो भने देवेन्द्रराज पाण्डे बोर्ड सदस्य। त्यसैबेला मैले उहाँलाई देखेको थिएँ। यस्तो ‘प्रोमिनेन्ट’ व्यक्तित्वका बारेमा केटाकेटीदेखि नै सुनेको थिएँ। बैठकमा आउँदाखेरि एकदम धाक र आत्मविश्वासका साथ आउने– एकदमै डाइनामिक मान्छे! त्यहाँबाट उहाँ अतिरिक्त सचिव हुनुभयो र पछि सचिव हुनुभयो। उहाँ सेक्सन अफिसर हुँदाखेरि भेषबहादुर थापा योजना मन्त्रालयको सचिव हुनुहुन्थ्यो। पछि उहाँ सचिव हुँदाखेरि थापा अर्थमन्त्री हुनुभयो। उनीहरूको त्यस्तो सम्बन्ध थियो। जब भेषबहादुर थापा काठमाडौं स्क्यान्डलमा परे, त्यसपछि थापा, कुलशेखर शर्मा र डा. प्रकाशचन्द्र लोहनी मिलेर ५–५ हजार कि १०–१० हजार रुपैयाँ उठाएर बानेश्वरमा ‘आईडीएस’ (इन्टिग्रेटेड डेभलपमेन्ट सिस्टम्स) स्थापना गरे।

देवेन्द्रराज पाण्डेले भने सचिव पदबाट राजीनामा दिनुभयो। त्यसपछि भेषबहादुरले उहाँलाई ‘आईडीएसमा आऊ, तिमी त्यहाँ बस’ भन्नुभयो। तर, उहाँले कति समयसम्म ‘म आउन्नँ’ भनेर मान्नुभएन। स्वाभिमानका साथ ५–६ महिना बिताउनुभयो। अनि जब भेषबहादुर थापा राजदूत भएर अमेरिका गए, त्यसपछि मात्र उहाँ आईडीएसमा जानुभयो। आईडीएसमा जाँदाखेरि पनि उहाँ तलब नलिई ‘भोलन्टियर’ (स्वयंसेवक) भएर बस्नुभएछ।

पछि त्यही अफिसबाटै उहाँले ग्रामीण विकास अभियानका रूपमा ‘पोभर्टी एलिभिएसन’ (गरिबी निवारण) को कार्यक्रम सुरु गर्नुभयो। त्यो सुरु गरेसँगै उहाँ राजनीतिमा पनि लाग्नुभयो। त्यही अभियानको जगमा अहिले ‘आरएसडीसी’ भन्ने संस्था छ, जसको भौतिक संरचना र पहिचान बनेको छ। यो डाक्टर सा’बको ‘इमेन्स कन्ट्रिब्युसन’ हो। स्वावलम्बनबाटै गरिबी निवारण गर्न सकिन्छ भन्ने उहाँको मूल ‘प्रिन्सिपल’ हो। 

विपन्न मान्छेहरू जति गरिब भए पनि उनीहरूमा सीप र क्षमता हुन्छ, र त्यो सीप तथा क्षमतालाई हामीले सही रूपमा प्रयोग गर्न सक्यौं भने मात्र उनीहरूको विकास हुन सक्छ भन्ने उहाँको ‘थेसिस’ हो।

यही प्रसंगमा उहाँले ‘फेल्ड डेभलपमेन्ट इन नेपाल’ भन्ने किताब लेख्नुभयो। किताबमा उहाँले भन्नुभएको छ– नेपालको विकासले मान्छेलाई केन्द्रबिन्दुमा नबनाएका कारण नै देशको विकास हुन नसकेको हो। विकासको मुख्य स्रोत र लक्ष्य मान्छे हो, मान्छेको उन्नति हो। तर, त्यो मान्छेको उन्नतिलाई हामीले प्राथमिकता दिन नसकेका हुनाले नेपालको विकास भएन। उहाँको मुख्य विचार नै यही हो। किताबमा पनि उहाँले यही विषय लेख्नुभएको छ।

त्यसपछि उहाँ २०४६ सालको अन्तरिम सरकारमा सिभिल सोसाइटीको तर्फबाट अर्थमन्त्री बन्नुभयो। उहाँका बारेमा दुईजना प्रतिष्ठित व्यक्तिले भनेका भनाइहरू सुनाउँछु। भेषबहादुर थापाले ४६ सालको आन्दोलन सुरु भएपछि भन्नुहुन्थ्यो, ‘अब नेपालमा देवेन्द्रराज पाण्डेले नेपाली जनता र नेपालको बौद्धिक वर्गलाई नेतृत्व गर्नेछन्।’

त्यस्तै, हामी जेनेभा गइरहेका बेला कृष्णप्रसाद भट्टराई (किसुनजी) ले उहाँका बारेमा भन्नुभएको थियो, ‘त्यो देवेन्द्रराज पाण्डे भन्ने एकजना यस्तो व्यक्ति हो, हि इज अबभ करप्सन। अर्थात् जो भ्रष्टाचारभन्दा माथि छ। उहाँ वास्तवमै निष्कलंक व्यक्तित्व हुनुहुन्छ।’ नेपालमा उहाँ कहिल्यै पनि भ्रष्टाचारमा संलग्न हुनुभएको छैन र हुनुहुने पनि छैन भनी किसुनजीले भन्नुभएको थियो।

 (प्रस्तुतिः गोपीकृष्ण ढुंगाना)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.