मर्न चाहेका थिएनन् उनीहरू, बाँच्ने आशा हराएको थियो

मर्न चाहेका थिएनन् उनीहरू, बाँच्ने आशा हराएको थियो

हामीले सोध्नुपर्ने प्रश्न केवल ‘युवाहरू किन आत्महत्या गर्दैछन् ?’ होइन। हामीले सोध्नुपर्ने प्रश्न हो—‘हामी कस्तो नेपाल बनाइरहेका छौं जहाँ यति धेरै युवाहरूलाई भविष्यभन्दा निराशा ठूलो लाग्न थालेको छ?’

आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति खतरनाक छ, यसलाई राजनीतिक प्रतिरोधको रोमाञ्चक प्रतीकका रूपमा प्रस्तुत गर्नु पनि त्यत्तिकै गैरजिम्मेवार हुन्छ। असार २५ गते काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपाली हुन् वा असार २६ गते सर्लाहीका विवेक मण्डल, अथवा त्यसको भोलिपल्ट काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउत, तीनै जनाले अन्ततः उपचारकै क्रममा ज्यान गुमाए। किनभने शरीरमा आगो बल्नुअघि उनीहरूको आशा मनभित्र धेरै अघिदेखि निभिसकेको थियो।

केही दिनको अन्तरालमा भएका यी आत्मदाहका त्रासदीपूर्ण प्रतिनिधि घटनाहरूलाई केवल व्यक्तिगत मनोवैज्ञानिक समस्याका कारण भएको हो भनेर पन्छाउन सकिँदैन, मिल्दैन। यदि त्यस्तो मात्र हुन्थ्यो भने उच्च शिक्षा हासिल गरेका, सामाजिक रूपमा सक्रिय, आर्थिक रूपमा मध्यम अवस्था भएका र बाहिरबाट सामान्य देखिने व्यक्तिहरू किन आत्महत्याको शिकार हुन्थे? 
सरकारी तथ्याङ्कअनुसार दैनिक औसत २० नेपालीले आत्महत्या गरिरहेका छन्, जुन हाम्रो समाजका लागि गम्भीर चिन्ताको विषय हो। अझ गम्भीर पक्ष के हो भने यसमा युवाहरूको सहभागिता उल्लेखनीयरूपमा बढी छ। 

हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने कुनै पनि युवा बिहान उठेर अकस्मात् मर्न चाहँदैन। त्यसैगरी, कुनै व्यक्तिले पनि लामो समयदेखि सञ्चित पीडा, निराशा र असह्य परिस्थिति नभइकन सार्वजनिक रूपमा आफ्नै शरीरमा कसरी आगो झोस्न सक्छ ? सुन्दा मात्र पनि हाम्रो आङ जिरिङ्ग हुन्छ।
त्यसैले युवाहरू एकपछि अर्को शृङ्खलाबद्ध रूपमा किन सार्वजनिक रूपमै आत्महत्या गर्न बाध्य भइरहेका छन् भन्ने प्रश्नको उत्तर हल्का सतही टिप्पणी, एकतर्फी विश्लेषण वा राजनीतिक लाभ–हानिको हिसाब–किताबमै अल्झिएर होइन, फराकिलो छाती बनाएर मानवताको दृष्टिकोणबाट यसका गहिरा र बहुआयामिक कारणहरूलाई मिहिन ढङ्गले केलाएर समाधान खोज्नु पर्छ। 

यो लेखले आत्महत्यालाई व्यक्तिगत मात्र नभई सामाजिक, आर्थिक र मनोवैज्ञानिक आयामसँग जोडिएको जटिल समस्याका रूपमा विश्लेषण गर्दै यसको रोकथाम र समाधानका सम्भावित मार्गहरू प्रस्तुत गर्दछ।

आत्महत्यालाई बुझ्ने तीन सैद्धान्तिक दृष्टिकोण
अमेरिकी मनोवैज्ञानिक थोमस जोइनरको आत्महत्यासम्बन्धी अन्तरवैयक्तिक सिद्धान्त जोइनरका अनुसार व्यक्ति तीन प्रमुख कारणहरूको प्रभावले आत्महत्या गर्न सक्छ ।

पहिलो, आफूलाई बोझ ठान्नु। 
जब व्यक्तिलाई आफू परिवार वा समाजका लागि उपयोगी छैन भन्ने लाग्न थाल्छ, तब उसलाई जीवनको अर्थ, उद्देश्य र सम्भावनाहरू क्रमशः धमिलिँदै गएको महसुस हुन थाल्छ।

दोस्रो, अपनत्वको भावना गुमाउनु।
जब व्यक्तिले ‘मलाई कसैले पनि बुझ्दैनन्, बुझ्न खोज्दैनन्’, ‘म कसैको, कतैको हुन पनि सकिन’ वा घरको न घाटको भएँ, ‘म कसैलाई पनि काम लाग्न सकिनँ’, ‘जति कोसिस गर्दा पनि कसैलाई आफ्नो बनाउन सकिनँ’ भन्ने अनुभव गर्न थाल्छ, मानसिक पीडा झन् गहिरिन थाल्छ ।

तेस्रो, आत्महत्याको कार्य गर्न सक्ने क्षमता तथा निर्भीकता विकास हुनु।

मृत्युको भय क्रमशः कम हुँदै जानु अर्थात् मर्नसँग नडराउनु। बारम्बारको पीडा, असफलता, सम्बन्धहरू टुट्दा, अब म बाँचेर काम छैन भन्ने आत्मघाती सोच लामो समयसम्म आइरहँदा व्यक्तिलाई आत्महत्या गर्ने निर्णय कार्यान्वयन गर्ने हिम्मत आउँछ। 

जब युवाहरूले आफ्नो मेहनतले भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास गुमाउँछन्, त्यहीँबाट सामूहिक निराशा जन्मिन्छ। त्यसैले आत्महत्या रोकथाम स्वास्थ्य नीतिको मात्र विषय होइन; यो रोजगार, सामाजिक न्याय र सुशासनको प्रश्न पनि हो।

नेपालका हजारौं बेरोजगार, शैक्षिक असफलता भोगिरहेका, चरम आर्थिक अभावमा जीवन बिताएका, सम्बन्धहरूको अकस्मात् विघटन, सामाजिक हेला, वैदेशिक रोजगारीबाट निराश फर्किएका वा सामाजिक दबाबमा परेका युवाहरूको अनुभव जोइनरको यो सिद्धान्तसँग मेल खान्छ। 

फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खाइमको आत्महत्याप्रतिको दृष्टिकोण दुर्खाइमका अनुसार व्यक्ति दुई प्रमुख कारणहरूको प्रभावले आत्महत्या गर्न सक्छ ।

पहिलो, सामाजिक एक्लोपन र अपनत्वको अभाव (इगोइस्टिक आत्महत्या)।
जब व्यक्तिले आफू परिवार, समुदाय वा समाजसँग जोडिएको अनुभूति गर्न छोड्छ, तब जीवनको अर्थ, उद्देश्य र सम्बन्धको भावना कमजोर हुन थाल्छ। उसलाई आफू कसैको नभएको, कतैको नभएको जस्तो लाग्न सक्छ। सामाजिक सम्बन्धहरू कमजोर बन्दै जाँदा एक्लोपन, निराशा र जीवनप्रतिको मोहभंग गहिरिन थाल्छ।

आजको नेपालमा यो विश्लेषण निकै सान्दर्भिक देखिन्छ। लाखौं युवा रोजगारीको खोजीमा गाउँ छाडेर शहर वा विदेश पुगेका छन्। परिवारहरू विखण्डित भएका छन्। समुदायको परम्परागत सामाजिक संरचना कमजोर बन्दै गएको छ। सामाजिक सञ्जालले मानिसहरूलाई जोडेजस्तो देखिए पनि भावनात्मक रूपमा धेरै युवाहरू पहिलेभन्दा बढी एक्लिएका छन्। 
दोस्रो, सामाजिक अव्यवस्था र अनिश्चितता (एनोमिक आत्महत्या)।

जब व्यक्तिको जीवनमा तीव्र सामाजिक परिवर्तन, आर्थिक असुरक्षा वा मूल्य–मान्यताको संकट उत्पन्न हुन्छ, उसले जीवनको दिशा र स्थिरता गुमाएको महसुस गर्न सक्छ। पुराना नियम र अपेक्षाहरू कमजोर हुन्छन्, तर नयाँ आधारहरू अझै स्थापित भइसकेका हुँदैनन्। यस्तो अवस्थामा व्यक्तिमा अन्योल, दिशाहीनता र निराशा बढ्न सक्छ।

नेपाल अहिले त्यही संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। शिक्षा विस्तार भएको छ, आकांक्षाहरू बढेका छन्, तर अवसरहरू त्यति नै गतिमा विस्तार भएका छैनन्। 
डिग्री छ तर जागिर छैन। 
सपनाहरू छन् तर स्पष्ट बाटो छैन। 
सीप छ तर अवसर छैन।
मेहनत छ तर प्रतिफल छैन।
गाउँमा भविष्य देखिँदैन, शहरमा स्थायित्व भेटिँदैन।

आवश्यकताहरू बढेका छन्, तर तिनलाई पूरा गर्ने साधन र सम्भावनाहरू सीमित छन्। यस्तो अवस्थामा युवाहरूमा दिशाहीनता र निराशा बढ्नु स्वाभाविक हुन्छ। दुर्खाइमका अनुसार यस्ता परिस्थितिले व्यक्तिलाई गहिरो मानसिक संकटतर्फ धकेल्न सक्छ।

रुसी–अमेरिकी मनोवैज्ञानिक उरी ब्रोनफेनब्रेनरको इकोलोजिकल मोडेल
ब्रोनफेनब्रेनरका अनुसार आत्महत्या कुनै एक कारणले हुने घटना होइन। यो व्यक्ति वरिपरिका विभिन्न तहका परिस्थिति र सम्बन्धहरूको संयुक्त प्रभावको परिणाम हुन सक्छ।
पहिलो, व्यक्तिगत तह।
यस तहमा व्यक्तिको मानसिक र भावनात्मक अवस्था महत्त्वपूर्ण हुन्छ। डिप्रेसन, चिन्ता, मानसिक आघात, लागुऔषध वा मदिराको दुरुपयोग, दीर्घकालीन तनाव तथा गम्भीर शारीरिक रोगजस्ता कारणहरूले आत्महत्याको जोखिम बढाउन सक्छन्।
दोस्रो, सम्बन्धगत तह।
व्यक्ति एक्लै बाँच्दैन। उसको जीवन परिवार, साथीभाइ र निकट सम्बन्धहरूसँग गाँसिएको हुन्छ। पारिवारिक कलह, सम्बन्ध विच्छेद, घरेलु हिंसा, भावनात्मक समर्थनको अभाव, प्रियजनको मृत्यु वा सम्बन्धहरू टुट्ने अनुभवले व्यक्तिलाई गहिरो मानसिक पीडामा पुर्‍याउन सक्छ।
तेस्रो, समुदायगत तह।

व्यक्ति बस्ने समुदाय र वातावरणले पनि उसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ। उदाहरणका लागि, किसानले समयमा मलखाद नपाउनु, सरकारी कार्यालयमा सामान्य कामका लागि पनि पटकपटक धाउनुपर्नु, सडक यात्रा असुरक्षित हुनु, घरको आम्दानीले बढ्दो महँगी धान्न नसक्नु, डिग्री हुँदाहुँदै पनि रोजगारी नपाउनु, समाजमा हेपाइ र थिचोमिचो सहनुपर्नु, सम्बन्धहरू टुट्दै जानु, तथा गुणस्तरीय स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवामा पर्याप्त पहुँच नहुनु जस्ता अनुभवहरूले व्यक्तिलाई क्रमशः असुरक्षित, निराश र असहाय बनाउँदै लैजान सक्छन्। यस्ता समस्याहरू एकपछि अर्को थपिँदै जाँदा तिनको भार पनि थुप्रिँदै जान्छ। अन्ततः यही सङ्कलित पीडा, तनाव र निराशा कुनै बिन्दुमा व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असरका रूपमा विस्फोट हुन सक्छ।

जोइनर, दुर्खाइम र ब्रोनफेनब्रेनरका यी दृष्टिकोणहरूले आत्महत्यालाई केवल व्यक्तिगत कमजोरी वा मानसिक रोगको परिणामका रूपमा मात्र हेर्दैनन्। बरु, व्यक्ति, परिवार, समुदाय र समाजबीचको जटिल अन्तरसम्बन्धको परिणामका रूपमा बुझ्न जोड दिन्छन्। त्यसैले आत्महत्याको रोकथाम पनि व्यक्तिगत उपचारमा मात्र सीमित नरही सामाजिक, आर्थिक, शैक्षिक तथा संस्थागत सुधारसँग जोडिनुपर्छ।

नेपालको युवापुस्तामा बढ्दो निराशाको राजनीति
आत्महत्याको राजनीतिक आयामबारे नेपालमा अपेक्षाकृत कम बहस हुन्छ। र भए पनि सतही वा एकाङ्गी हुने गरेको पाउँछौँ।
राज्यले कसैलाई आत्महत्या गर्न प्रत्यक्ष आदेश त दिएको हुँदैन। तर राज्यका नीति, अभ्यास र संस्थागत संरचनाहरूले यस्तो वातावरण भने सिर्जना गर्न सक्छन्, जहाँ युवाहरूले आफ्नो भविष्यप्रतिको विश्वास क्रमशः गुमाउँदै जान्छन्। बेरोजगारी, आकासिँदो महँगी, भ्रष्टाचार, राजनीतिक अस्थिरता र सार्वजनिक संस्थाहरूप्रतिको घट्दो भरोसाले धेरै युवाहरूमा भोलिप्रतिको उनीहरूको ‘आशा’ कमजोर बनाउँदै लगेको छ।

आज धेरै युवाहरूमा ‘आशाको संकट‘ देखिन्छ। वर्षौं अध्ययन गरेपछि पनि रोजगारको सुनिश्चितता छैन। अवसर प्राप्त गर्न क्षमताभन्दा सम्बन्ध महत्वपूर्ण ठानिने (सोर्सफोर्स लगाउनुपर्ने) धारणा बलियो हुँदै गएको छ। भ्रष्टाचार, राजनीतिक अस्थिरता र सार्वजनिक संस्थाहरूप्रतिको घट्दो विश्वासले युवाहरूमा भविष्यप्रतिको आशा कमजोर बनाइरहेको छ।

नेपालमा वैदेशिक रोजगारीको आकर्षण केवल आर्थिक विषय होइन, यो आशाको खोजी पनि हो। जब लाखौं युवाले आफ्नो देशभित्र सम्भावना देख्न छोड्छन्, त्यो व्यक्तिगत निर्णय मात्र होइन; त्यो राज्यको संरचनागत समस्याको संकेत पनि हो।

जब राज्यले आफ्ना नागरिकलाई सुरक्षा, अवसर, न्याय र आशाको अनुभूति दिलाउन असफल हुन्छ, तब नागरिक र राज्यबीचको विश्वासको आधार खस्किन थाल्छ। यसको प्रभाव व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोणमा पर्न सक्छ। गणेश नेपाली, विवेक मण्डल र आश्विन राउतका घटनाहरूले पनि हाम्रो समाज, राज्य र नागरिकबीचको यही कमजोर बन्दै गएको सम्बन्धतर्फ गम्भीर प्रश्न उठाउँछन्।

आत्महत्याको मूल्य कसले चुकाउँछ ?
आत्महत्या गर्ने व्यक्तिले जीवन गुमाउँछ, तर पीडा त्यतिमै सीमित हुँदैन।
एउटा परिवारले आफ्नो सन्तान गुमाउँछ। 
बाबुआमाले आजीवन बोकेर हिँड्नुपर्ने पीडा प्राप्त गर्छन्। 
साथीहरूले अपराधबोध र मानसिक आघात झेल्छन्। 
समुदायले आफ्नो सदस्य गुमाउँछ। देशले आफ्नो उत्पादक शक्ति गुमाउँछ। 

एउटा युवा आत्महत्याले केवल एउटा जीवनको अन्त्य गर्दैन; समाजको भविष्यका अनेक सम्भावनाहरूको समेत ढोका बन्द गर्छ। 

अब के गर्ने ? आशा पुनर्निर्माणको राष्ट्रिय अभियान
यदि जोइनर सही छन् भने समस्या केवल मानसिक रोग वा आर्थिक अभावमा मात्र होइन, व्यक्तिले आफूलाई बोझ र एक्लो ठान्न थालेको अनुभूतिमा पनि छ। यदि दुर्खाइम सही छन् भने समस्या केवल व्यक्तिभित्र होइन, समाजभित्र पनि छ। र यदि ब्रोनफेनब्रेनर सही छन् भने समाधान पनि व्यक्ति, परिवार, समुदाय, शिक्षा प्रणाली र राज्य—सबै तहमा खोज्नुपर्छ। त्यसैले आत्महत्या रोकथामलाई स्वास्थ्य क्षेत्रको सीमित विषयका रूपमा होइन, आशा, सम्बन्ध र अवसर पुनर्निर्माणको राष्ट्रिय अभियानका रूपमा बुझ्न आवश्यक छ।

सबैभन्दा पहिलो भूमिका परिवारको हो। हाम्रा धेरै युवाहरू आफ्नो पीडा परिवारसँग नै साझा गर्न डराउँछन्, किनभने असफलतालाई अझै पनि अपराधजस्तै व्यवहार गरिन्छ। हामीले छोराछोरीलाई सफल हुन सिकाएका छौं, तर असफलताबाट उठ्न सिकाएका छैनौं। आत्महत्या रोकथामको पहिलो कदम भनेको परिवारलाई यस्तो सुरक्षित ठाउँ बनाउनु हो जहाँ युवाहरूले बिना डर आफ्ना दुःख, तनाव र निराशा व्यक्त गर्न सकून्।
परिवारपछि समाज र समुदायको भूमिका आउँछ। 

लोककल्याणकारी राज्यको दायित्व नागरिकलाई केवल जीवित राख्ने प्रयास गर्नु मात्र होइन, बाँच्न लायक आशा र भविष्यको भरोसा दिनु पनि हो। जब जीवनभन्दा मृत्यु कम पीडादायी देखिन थाल्छ, तब समस्या व्यक्तिमा मात्र होइन, राज्य, समाज र हाम्रो सामूहिक विवेकमा खोज्नुपर्छ। आखिर आत्महत्या केवल एक व्यक्तिको अन्त्य होइन, हाम्रो सामूहिक असफलताको पनि एउटा मौन अभिव्यक्ति हो।

दुर्खाइमले भनेझैं सामाजिक सम्बन्ध कमजोर हुँदा आत्महत्याको जोखिम बढ्छ। आज सामाजिक सञ्जालमा हजारौं साथी भए पनि धेरै युवा भावनात्मक रूपमा एक्लिएका छन्। समुदाय, युवा क्लब, नागरिक समाज र सञ्चारमाध्यमले मानिसहरूलाई जोड्ने, मानसिक स्वास्थ्यप्रतिको कलंक हटाउने र सहयोग खोज्न प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्छ। संघर्ष गरिरहेका व्यक्तिलाई बुझ्ने संस्कृतिको विकास गर्न आवश्यक छ।राज्यको जिम्मेवारी अझ गम्भीर छ। 

मानसिक स्वास्थ्य सेवाको विस्तार, राष्ट्रिय आत्महत्या रोकथाम रणनीतिको प्रभावकारी कार्यान्वयन, स्थानीय तहसम्म परामर्श सेवाको पहुँच र युवाहरूका लागि सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नु राज्यको दायित्व हो। जब युवाहरूले आफ्नो मेहनतले भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वास गुमाउँछन्, त्यहीँबाट सामूहिक निराशा जन्मिन्छ। त्यसैले आत्महत्या रोकथाम स्वास्थ्य नीतिको मात्र विषय होइन; यो रोजगार, सामाजिक न्याय र सुशासनको प्रश्न पनि हो।

अन्ततः शिक्षा क्षेत्रको भूमिका दीर्घकालीन रूपमा सबैभन्दा परिवर्तनकारी हुन सक्छ। 

हाम्रो शिक्षा प्रणालीले ‘के बन्ने?’ भन्ने प्रश्नको उत्तर खोज्छ, तर ‘किन बाँच्ने?‘ भन्ने प्रश्नमा कम ध्यान दिन्छ। यही कारणले मानसिक स्वास्थ्य शिक्षासँगै आत्मचिन्तन, जीवन–दर्शन र आध्यात्मिक चेतनाको विकासलाई पनि महत्व दिनुपर्छ। यहाँ आध्यात्मिक शिक्षा भन्नाले कुनै धर्मको प्रचार होइन; आफ्नो जीवनको अर्थ खोज्ने, दुःखलाई जीवनको स्वाभाविक हिस्सा ठान्ने, भावनाहरू बुझ्ने र असफलताका बीच पनि आशा जोगाइराख्ने क्षमता विकास गर्नु हो। 
ध्यान, माइन्डफुलनेस, योग र आत्मचिन्तनका अभ्यासहरूले युवाहरूलाई आफ्नै जीवनसँग पुनः जोडिन मद्दत गर्न सक्छन्। धेरै अवस्थामा मानिस आत्महत्या तबतिर उन्मुख हुन्छ, जब उसले जीवनलाई अर्थहीन ठान्न थाल्छ; आत्मचिन्तनले उसलाई फेरि जीवनको अर्थ, उद्देश्य र आशासँग जोड्न सक्छ।

फिनल्यान्ड, डेनमार्क र आइसल्यान्डजस्ता उच्च ह्यापिनेस इन्डेक्स भएका देशहरूले विद्यालय शिक्षामा विद्यार्थीको मानसिक स्वास्थ्य, आत्मसम्मान, सामाजिक–भावनात्मक सिकाइ र समग्र कल्याणलाई विशेष प्राथमिकता दिएका छन्। र ती देशका नागरिकहरू तुलनात्मक रूपमा बढी खुसी, सन्तुष्ट र समृद्ध जीवन बाँचिरहेका छन्।

हाम्रो पूर्वीय दर्शनले पनि लामो समयदेखि एउटा महत्वपूर्ण शिक्षा दिँदै आएको छ: दुःख जीवनको अन्त्य होइन, जीवनको हिस्सा हो। त्यसैले विद्यालय र विश्वविद्यालयहरूमा केवल जीविकोपार्जनसम्बन्धी ज्ञान र सीप मात्र होइन, आत्मबोध, करुणा, आत्मसंयम र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्ने शैक्षिक पाठ्यक्रम/अभ्यासहरूलाई पनि स्थान दिनुपर्छ। यही आध्यात्मिक चेतनाले युवाहरूलाई निराशाबीच पनि आशा, असफलताबीच पनि अर्थ, र संकटबीच पनि मृत्यु होइन जीवन रोज्ने शक्ति दिन्छ।

त्यसैले हामीले सोध्नुपर्ने प्रश्न केवल ‘युवाहरू किन आत्महत्या गर्दैछन् ?’ होइन। हामीले सोध्नुपर्ने प्रश्न हो—‘हामी कस्तो नेपाल बनाइरहेका छौं जहाँ यति धेरै युवाहरूलाई भविष्यभन्दा निराशा ठूलो लाग्न थालेको छ?’

लोककल्याणकारी राज्यको दायित्व नागरिकलाई केवल जीवित राख्ने प्रयास गर्नु मात्र होइन, बाँच्न लायक आशा र भविष्यको भरोसा दिनु पनि हो। जब जीवनभन्दा मृत्यु कम पीडादायी देखिन थाल्छ, तब समस्या व्यक्तिमा मात्र होइन, राज्य, समाज र हाम्रो सामूहिक विवेकमा खोज्नुपर्छ। आखिर आत्महत्या केवल एक व्यक्तिको अन्त्य होइन, हाम्रो सामूहिक असफलताको पनि एउटा मौन अभिव्यक्ति हो।

विकास अध्ययनमा एमफिल र समावेशी शिक्षा विषयमा विद्यावारिधि (पीएचडी) प्राप्त लेखक डा. मुडवरी शिक्षा, समाज, आध्यात्म र विकासका मुद्दामा सक्रिय रूपमा लेखन तथा अनुसन्धानमा क्रियाशील छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.