विरासतको भत्किँदो भित्तो

विरासतको भत्किँदो भित्तो

नेतृत्वका हिसाबले कांग्रेसमा अहिलेसम्मकै कमजोर नेताका रूपमा पूर्णबहादुर खड्काले आफूलाई उभ्याएका छन्।

कांग्रेसभित्र सर्वाधिक भारत परस्त नेताका रूपमा चिनिएका कृष्णप्रसाद सिटौला पार्टीभित्र सधैं गुट चलाउने ध्यानमा केन्द्रित देखिन्छन्। सिटौलाबाहेक मीनबहादुर विश्वकर्मा, मोहन बस्नेतको भूमिका पनि कांग्रेसलाई फुटाउने ध्यानमा केन्द्रित भएको देखिन्छ।

दुई वर्षअघि नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले बक्स अफिसमा तहल्का मच्चायो। करिब १ करोड ३० लाखमा निर्माण गरिएको यो चलचित्रले सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्रको रूपमा इतिहास त लेख्यो नै, नेपाली दर्शकको मन अभूतपूर्व रूपमा जित्यो।

करिब ७० करोडको व्यापार गरेको यो चलचित्रमा एक जना पात्र छन् पूर्णबहादुर। सन्तानको पढाइका लागि गीत गाउँदागाउँदै, खर्च जुटाउँदा जुटाउँदै जीवन अर्पण गर्ने एक सज्जन गन्धर्वको नाम हो, पूर्णबहादुर। यहाँ भने म अर्कै पूर्णबहादुरको कुरा गर्दैछु। उनी हुन् नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का। नेपालको लोकतन्त्र स्थापनाका लागि राणाशासनको चक्रव्यूह तोडेर गठन भएको नेपाली कांग्रेसले यो पटक विशेष

महाधिवेशन सम्पन्न गर्‍यो। 

विधानमा लेखिएबमोजिम भएको महाधिवेशनका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अमान्य ठहर गरियोस् भनेर निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगे। न त निर्वाचन आयोगले खड्काको पक्षमा निर्णय दियो, न त सर्वोच्च अदालतले। विधानसम्मत गरिएको विशेष महाधिवेशनको पक्षमा दुवै निकायको फैसला आएपछि सबैभन्दा ठूलो ‘झड्का’ उनै खड्कालाई लागिरहेको छ।

आफूलाई सधैं किशुनजीका असल चेला बताउने खड्का यसअघि कार्यकर्तामाझ सरल नेताका रूपमा परिचित थिए। वर्षांैदेखि सत्ता र पार्टी दुवैमा शेरबहादुर देउवाको आशीर्वाद प्राप्त गरेका खड्का धेरैपटक मन्त्री बनिसकेका छन्। जेन—जीका नाममा भएको विद्रोहका बेला निर्घात हमलामा परेका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले विश्वासपात्र खड्कालाई त्यतिबेलै कांग्रेसको कार्यवाहक सभापति बनाएका थिए।

देउवाले दिएको जिम्मेवारीलाई खड्काले न त सम्हाल्न सके न त कांग्रेसको महाधिवेशन गर्न चाहे। नेतृत्वका हिसाबले नेपाली कांग्रेसमा अहिलेसम्मकै कमजोर नेताका रूपमा पूर्णबहादुरले आफूलाई उभ्याएका छन्। पार्टी त विधानअनुसार चल्नैपर्छ। पूर्णबहादुरलाई न पार्टीको विधानको मतलब भयो न त राजनीतिक इमानको। उनमा देखिएको अलोकतान्त्रिक चरित्र यतिमा मात्र सीमित भएन, अझै बढेर गयो।

विशेष महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिलाई चुनौतीमात्र दिएनन्, उनले पार्टीको अनाधिकृत लेटरहेड प्रयोग गरेर जबरजस्ती आफूलाई कार्यवाहक सभापतिकै रूपमा पत्राचार गर्न थाले। उनको यो हर्कतको विषय कांग्रेसको बैठकमा उठ्यो। अनुशासन आयोगसम्म पुग्यो। तैपनि गगन थापाको नेतृत्वले उनलाई कारबाही गरिहाल्न चाहेन। त्यसको एउटै कारण हो पार्टीमा विग्रह नहोस् भनेर।

यतिबेला फेरि उनै खड्का कांग्रेसको राजनीतिमा चर्चामा छन्। उनको चर्चाको विषय हो– उनकै नेतृत्वमा खोलिएको चुनदेवीको कार्यालय। नेताहरूको आशीर्वादमा ठेक्कापट्टा पाउँदै आएका र पैसासँग टिकट साट्दै आएका पूर्णबहादुर तामाङ उर्फ कान्छारामले चुनदेवीको कार्यालयको साँचो हस्तान्तरण गरेको सार्वजनिक भएसँगै पूर्णबहादुर खड्काले आफ्नो राजनीतिक चुरीफुरी सुरु गरेका छन्। उनको यो चुरीफुरीका पछाडि जीवनकालभरि सत्ताको स्वाद चाखेर बसेका कांग्रेसकै केही ढोंगीहरूले साथ दिएका छन्।

सधैं किशुनजीको अनुयायी बताउने खड्का यतिबेला कांग्रेसलाई कमजोर बनाउने भूमिकामा छन्। चुनदेवीको कार्यालय स्थापनाले खड्का सकेसम्म गगनलाई गलाएर आफ्नो गुटको ‘फेस सेभ’ गर्न चाहान्छन्। यदि त्यसो हुन नसके कांग्रेसलाई कमजोर बनाउन अर्को पार्टी बनाउने तयारीमा जुटेका छन्। कांग्रेसको विग्रहका लागि खड्काले जजसको साथ पाएका छन्। उनीहरू अधिकांश नेपाली कांग्रेसभित्रका ‘नेपो बेबी’हरू हुन्।

पार्टीलाई आफ्ना पूर्वजको अंशको रूपमा बुझिरहेका केही नेपो बेबीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सुरु गरेको नेपाली कांग्रेसको सुदृढीकरण अभियानको प्रखर विरोधीका रूपमा देखिएकै थिए। आफ्नो राजनीतिक क्षमताभन्दा गुटमा विश्वास गर्ने तिनै केही बुजु्रक यतिबेला कांग्रेसलाई विग्रह गरेर गगनमाथि बदला लिन चाहान्छन्। तिनैमध्येका केही नेपो बेबीहरूको चर्चा गर्नु सान्दर्भिक हुनेछ।

१. प्रकाशमान सिंह  : नेपाली कांग्रेसको इतिहासमा गणेशमान सिंहको जुन प्रतिष्ठित क्रान्तिकारी छवि छ, उनकै सुपुत्र प्रकाशमान सिंहको ठीक उल्टो छ। प्रकाशमानले पटकपटक मन्त्री, उपप्रधानमन्त्रीसमेत बन्ने मौका पाए। शेरबहादुर देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाउँदा देउवासँगै पुगेका उनले पटकपटक मन्त्रीको जागिर खानेबाहेक कुनै नयाँ योजना सुरु गर्न सकेनन्।

आलोकनगरको चौतारो बनाएर नाम लेखाउनुबाहेक प्रकाशमानको कार्यकालको थप उपलब्धि कतै देखिएको छैन। विशेष महाधिवेशनको विरुद्धमा खडा भएका प्रकाशमानले आफूले टिकट नपाएपछि आफ्नै पार्टीका उम्मेदवार प्रबल थापाको पक्षमा न त भोट माग्न गए, न त उनलाई शुभकामना दिए। आफ्ना निकट कार्यकर्तालाई घण्टीमा भोट हाल्न उक्साएको यथार्थ कतैबाट छिपेको छैन।

२. विमलेन्द्र निधि  : कांग्रेसका प्रतिष्ठित नेता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्रले कांग्रेसबाट लिनुपर्ने सबै फाइदा लिइसकेका छन्। पार्टीको उपसभापति र सरकारमा उपप्रधान तथा गृहमन्त्री भइसकेका निधि यस पटकको निर्वाचनमा धनुषाबाट रास्वपाका मनिष झासँग पराजित भए। देउवाको विश्वासपात्रको छवि बनाएका निधि कांग्रेसको विशेष महाधिवेशका प्रखर विरोधी नेता हुन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि गगनको नेतृत्वमा कांग्रेसको उम्मेदवार बने।

तर, जब निर्वाचनमा पराजित भए फेरि खड्कासँग मिलेर चुनदेवीमा चुरीफुरी गर्न लागेका छन्। राजनीतिक इमानदारी भएको भए कि त गगनको नेतृत्वमा भएको निर्वाचनमा भाग लिनु हुँदैनथ्यो, लिइसकेपछि पार्टीको मूलधारबाट पुन बाहिर जान हुँदैनथ्यो। जानकारहरूका अनुसार दोगला चरित्र नै विमलेन्द्रकोचरित्र बनिसकेको छ।
३.डा. प्रकाशशरण महत  : कांग्रेसमा डा. प्रकाशशरण महतलाई नेता मान्नेको संख्या नगण्य छ। निर्वाचनबाट कहिल्यै विजयी बन्न नसकेका प्रकाशशरण दाजु डा. रामशरण महतको भाइ भएकै कारण यति धेरै ‘प्रिभलेज’ पाएको नेताहरू स्वीकार्छन्। न सांगठानिक ज्ञान न सरकार सञ्चालनमा अब्बल। डा. महत नेपाली कांग्रेस शेरबहादुर देउवाको किचन क्याबिनेटका एक पात्रबाहेक केही बन्न सकेनन्।

उनी ऊर्जामन्त्री भएका बेला दरबारमार्गमा एउटा छुट्टै सम्पर्क कार्यालय खोलेर लेनदेन गर्ने गरेको चर्चा पनि कांग्रेस वृत्तमा सेलाएको छैन। यति हुँदाहुँदै पनि यो पटकको आम निर्वाचनमा गगन थापा नेतृत्वले किन डा. महतलाई टिकट दियो ? कांग्रेस वृत्तमा यसको चर्चा हुने गरेको छ। चुनावमा अहिलेका सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले डा. महतलाई पराजित गरेका थिए। टिकट लिएर, चुनाव लडेर पुन कांग्रेस विरुद्ध मोर्चाबन्दी गर्ने डा. महत कांग्रेसका अर्का ‘नेपो बेबी’ हुन्।

४. डा. शशांक कोइराला  : नेपाली कांग्रेसको महामन्त्री भइसकेका शशांक पार्टीका संस्थापक नेता बीपी कोइरालाका सुपुत्र हुन्। उनी नेपाली कांग्रेसभित्रका ‘नेपो बेबी’ हुन्। आजसम्म सरकारमा सहभागी नभएका कोइराला वरिष्ठ नेत्ररोग विशेषज्ञ हुन्। पेसागत रूपमा अब्बल क्षमता भएका शशांक राजनीतिक रूपमा अत्यन्तै कमजोर छन्। उनलाई काखी च्यापेर पूर्णबहादुर खड्काले बीपीको राजनीतिक सिद्धान्तको पारिवारिक लिगेसी स्थापितगर्नमात्र खोजेका हुन्।

५. डा. शेखर कोइराला  : लामो समय स्वास्थ र प्रशासनिक क्षेत्रमा बिताएका डा.शेखर यतिबेला चरम दोधारमा छन्। नेपाली कांग्रेसका नेता नोना कोइरालाका सुपुत्र डा. शेखर नेपाली कांग्रेसका अर्का ‘नेपो बेबी’ हुन्। उनको शैली हेर्दा नेपाली कांग्रेसलाई एक बनाएर अघि बढाउनेभन्दा कसरी दुवैतिर इन्गेज गराएर आफू बलियो बन्ने भन्ने ध्यानमा केन्द्रित भएको महसुस हुन्छ।

अघिल्लो महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बनेका शेखरलाई तत्कालीन महामन्त्रीका उम्मेदवार रहेका गगन थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति बनेको कुरालाई अझै स्वीकार गर्न गाह्रो भइरहेको अनुभव गर्न सकिन्छ। डा. शेखरसँग न राजनीतिक पृष्ठभूमि छ, न सांगठानिक क्षमता। नेपाली राजनीतिमा उनको योगदान भनेको सिर्फ ‘कोइराला’ हुनु मात्र हो।

यी नाम बाहेक ‘नेपो बेबी’को अर्को नाम हो सुजाता कोइराला। गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता यतिबेला राजनीतिक परिदृश्यभन्दा अलि बाहिर देखिन्छिन्। यी बाहेक पनि केही पात्र छन्, जसले कांग्रेसलाई विग्रहको मुखमा लैजान खोजिरहेका छन्। तीमध्ये एक हुन्, कृष्णप्रसाद सिटौला।
कांग्रेसको महामन्त्री र सरकारमा गृह र उपप्रधानमन्त्रीसमेत भइसकेका कृष्णप्रसाद सिटौलाको चरित्र महद्वारा निर्माण गरिएको टेलिचलचित्र ‘१५ गते’का पात्र कृष्णप्रसादको जस्तै छ। सत्ताको स्वादमा सिटौला यसरी रमाए कि उनलाई सत्ताबाहेक केही थाहा भएन। माओवादीलाई शान्ति प्रक्रियामा सहभागी गराउन प्रयत्न गरेको जश लिने सिटौला आफैंमा धेरै शकुनीको भूमिकामा रमाइरहेका छन्।

यतिबेला कांग्रेसको मूल प्रवाहमा केही पूर्वपदाधिकारीलाई रोक्ने प्रमुख पात्र यिनै हुन्। कुनैबेला सिटौला र गगन एउटै टिम बनाएर पार्टीको चुनाव लडेका कारण पनि होला सिटौलालाई सबैभन्दा बढी ‘नफरत’ गगनसँगै देखिन्छ। कांग्रेसभित्र सर्वाधिक भारत परस्त नेताका रूपमा चिनिएका सिटौला पार्टीभित्र सधैं गुट चलाउने ध्यानमा केन्द्रित देखिन्छन्। सिटौलाबाहेक मीनबहादुर विश्वकर्मा, मोहन बस्नेतको भूमिका पनि कांग्रेसलाई फुटाउने ध्यानमा केन्द्रित भएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.