सुखको खोजीमा हराएको मानिस
सुख कुनै रहस्यमय गन्तव्यमा लुकेको हुँदैन। त्यो त हाम्रो दृष्टिकोण, व्यवहार र जीवनप्रतिको चेतनाभित्रै लुकेको हुन्छ। जसले बाहिरी उपलब्धिभन्दा भित्री समृद्घिलाई महत्व दिन सिक्छ, उसले कठिन समयमा पनि आशाको किरण देख्न सक्छ र यही नै सुखभित्र लुकेको सबैभन्दा ठूलो रहस्य हो।
सहरको भिडभाडबाट केही टाढा डाँडामाथिको एउटा चौतारी, जहाँ हरेक साँझ वृद्ध, युवा र बालबालिका जम्मा हुन्थे। एकदिन त्यही चौतारीमा एक युवक आयो। उसको अनुहारमा निराशा, आँखामा थकान र मनमा अनगिन्ती प्रश्नहरू थिए। उसले त्यहाँ बसेका एक वृद्धलाई सोध्यो, ‘हजुर, सुख कहाँ पाइन्छ ?’ वृद्ध मुस्कुराए।
केहीबेर मौन बसे। त्यसपछि नजिकै बगेको खोलातर्फ देखाउँदै भने, ‘त्यो खोला हेर। पानी निरन्तर बगिरहेको छ। त्यसले कहिल्यै समुद्रलाई भेटेको कुरा गर्दैन। तर निरन्तर बगिरहेकै हुन्छ। सुख पनि त्यस्तै हो। गन्तव्यमा होइन, यात्रामा लुकेको हुन्छ।’ युवकले उत्तर सुने तर सायद बुझेनन्। फेरि सोध्यो, ‘किन धेरै मानिससँग धन, प्रतिष्ठा र शक्ति भएर पनि उनीहरू दुःखी देखिन्छन् ?’ वृद्धले गहिरो सास फेरे र भने, ‘किनभने मानिसले सुखलाई बाहिर खोज्छ, जबकि सुखको मूल ढोका त ऊ भित्रै हुन्छ।’
आजको समाजमा सुखको अर्थ निकै बदलिएको छ। धेरैका लागि सुख भनेको ठूलो घर, महँगो गाडी, उच्च पद, धेरै धन सम्पत्ति हुनु हो। यस्ता उपलब्धिहरूले सुविधा दिन सक्छन्, अवसर पनि दिन सक्छन्, तर ती सबैले मनको शान्ति र सन्तुष्टि दिने ग्यारेन्टी भने हुँदैन। हामी यस्तो युगमा बाँचिरहेका छौं, जहाँ प्रविधिले संसारलाई जोडेको छ, तर मानिसहरू आफ्नै मनसँग टाढिइरहेका छन्।
सञ्चारका माध्यमहरू बढेका छन्, तर संवाद घटेको छ। सम्पत्ति बढेको छ, तर आत्मीयता घटेको छ। सुविधाहरू थपिएका छन्, तर निद्रा हराएको छ। यही विरोधाभासभित्र नै सुखको रहस्य लुकेको छ। सुखसुविधा होइन, अनुभूति हो।
एउटा किसान बिहान सूर्योदयसँगै खेतमा जान्छ। दिनभर पसिना बगाउँछ। साँझ घर फर्केर परिवारसँग बसेर सामान्य दालभात खान्छ। उसको अनुहारमा देखिने मुस्कान कुनै महँगो होटलको भोजनले दिन सक्दैन। किनभने त्यो मुस्कानसँग श्रम, आत्मसम्मान र परिवारको माया गाँसिएको हुन्छ। अर्कोतर्फ, करोडौं सम्पत्ति भएका कतिपय मानिस निद्राको औषधिबिना सुत्न सक्दैनन्। उनीहरूलाई सबै कुरा छ, तर मनमा शान्ति छैन। यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ कि हामी वास्तवमै के खोजिरहेका छौं ? सुख कि सुखको भ्रम ? सुखको अर्को रहस्य अपेक्षाभित्र पनि लुकेको हुन्छ। मानिसले जीवनभर केही न केही खोजिरहन्छ।
विद्यार्थी राम्रो नतिजा खोज्छ। कर्मचारी पदोन्नति खोज्छ। व्यापारी नाफा खोज्छ। राजनीतिज्ञ शक्ति खोज्छ। कलाकार प्रशंसा खोज्छ। तर एउटा लक्ष्य पूरा भएपछि सधैं अर्को लक्ष्य भने जन्मिरहेको हुन्छ। एउटा चाहना पूरा हुनासाथ अर्को चाहनाले ढोका ढकढक्याउँछ। यसरी जीवन ‘अब मात्र...’ भन्ने वाक्यको पछाडि दौडिरहन्छ। ‘अब घर बन्यो भने सुखी हुन्छ’, घर बनेपछि... अब गाडी किन्यो भने...। गाडी आएपछि... अब अर्को सफलता पाएपछि। यस्तै यस्तैमा यसरी नै सुख सधैं भविष्यसँग सरिरहन्छ।
वास्तवमा, सुख भविष्यको कुनै तोकिएको मिति र समयमा आउने पाहुना होइन। वर्तमानलाई महसुस गर्न सक्ने क्षमता नै सुखको सबैभन्दा ठूलो आधार हो। हाम्रो समाजमा एकले अर्कोसँग तुलना गर्ने बानी पनि सुख हराउने कारण हो। पहिले मानिस आफ्नो छिमेकीसँग आफूलाई तुलना गर्थे। अहिले सामाजिक सञ्जालले संसारभरिका मानिससँग तुलना गराइदिएको छ। अरूको जीवनयात्रा हेर्छौं। अरूको सफलताको कथा पढ्छौं। अरूको मुस्कान हेर्छौं। तर उनीहरूको संघर्ष भने देख्दैनौं। फलस्वरूप, आफ्नै जीवन अधुरो लाग्न थाल्छ।
वास्तवमा, सामाजिक सञ्जालमा देखिने अधिकांश जीवन सम्पूर्ण सत्य होइन। त्यो सम्पादित एउटा अंशमात्र हो। यदि हामीले अरूको प्रदर्शनसँग आफ्ना वास्तविकताहरू तुलना गरिरह्यौं भने सुख सधैं टाढा भागिरहन्छ।
वृद्ध बीचैमा गुनगुनाउँछन् ;
सुख खोज्दा बाटोभरि दुःखका छाया भेटिए,
रोकिएर मन हेरें, त्यहीं उज्याला भेटिए।
जति बाहिर दौडिएँ, उति आफैंबाट टाढिएँ,
फर्किएँ जब आफूभित्र, जीवनका अर्थ भेटिए।
सायद यही कारणले नै सुखको अर्को गहिरो रहस्य सम्बन्धभित्र पनि लुकेको हुन्छ। मानिस जन्मँदा केही लिएर आउँदैन र जाँदा केही लिएर जाँदैन। बीचको यात्रामा उसले सबैभन्दा धेरै कमाउने कुरा सम्पत्ति होइन, सम्बन्ध नै हो।
बाबाको काँध। आमाको माया। साथीको साथ। जीवनसाथीको विश्वास। सन्तानको मुस्कान। यी सबैको मूल्य कुनै बजारले तोक्न सक्दैन। आज धेरै परिवार एउटै घरमा बसे पनि मनले टाढा भएका छन्। एउटै टेबलमा खाना खान्छन्, तर सबैको ध्यान अन्तै हुन्छ। सँगै छन् तर सबै एक्लै छन्। सम्बन्धलाई बाहिर राखेर जोडिएका सम्पत्तिले जीवनको वास्तविक खुसी समेट्दैन। धन गन्ने हात त हुन्छन्, तर हात समाउने साथ नभेटिन सक्छ। सुख क्षमाभित्र पनि लुकेको हुन्छ। रिस, घृणा र प्रतिशोध बोकेर हिँड्ने मानिसले सबैभन्दा गह्रौं भार आफ्नै मनभित्र बोकेको हुन्छ। कसैलाई क्षमा गर्नु भनेको उसका गल्तीहरूलाई सही भन्नु होइन। त्यो त आफ्नै मनलाई कैदबाट मुक्त गर्नु हो। जीवनले कहिलेकाहीं सबैभन्दा ठूलो विजय बदला लिएर होइन, मन हलुका बनाएर पनि प्राप्त गर्दछ।
सेवा धर्म हो र धर्म सुखकै एउटा अंश। त्यसैले सुख सेवामा पनि भेटिन्छ। एउटा भोकाएको मानिसलाई खाना खुवाउँदा, एउटा निराश मानिसलाई आशा दिँदा, एउटा बालबालिकालाई शिक्षा दिलाउँदा, एउटा वृद्धको हात समातिरहँदाका आनन्द कुनै पुरस्कारभन्दा ठूलो हुन सक्छ। यही कारणले संसारका धेरै सफल व्यक्तिहरू अन्ततः समाजसेवातर्फ आकर्षित भइरहेका पनि छन्। मानिसले आफ्नो लागि कमाएको सम्पत्तिले उसलाई सीमित आनन्द दिन्छ, तर अरूको जीवनमा उज्यालो ल्याएको क्षणले दीर्घकालीन सन्तुष्टि दिन सक्छ।
स्वीकार गर्ने क्षमतामा पनि सुख लुकेको हुन्छ। जीवन इच्छाअनुसार मात्र चल्दैन। कहिले हार भोग्नुपर्छ त कहिले जित। कहिले सम्बन्धहरू टुट्छन्। कहिले सपना अधुरा रहन्छन्। जीवनको परिपक्वता भनेको सबै कुरालाई नियन्त्रण गर्न सक्नुमात्र पनि होइन; नियन्त्रण गर्न नसकिने अवस्थालाई पनि धैर्यपूर्वक स्वीकार गर्न सक्नु पनि हो। जसले परिवर्तनलाई शत्रु होइन, शिक्षकका रूपमा स्वीकार गर्न सिक्छ, उसले दुःखभित्र पनि अर्थ भेट्टाउन सक्छ। सुखको सबैभन्दा ठूलो रहस्य कृतज्ञताभित्र पनि लुकेको हुन्छ।
हामीसँग नभएका कुराको सूची धेरै लामो हुन्छ। तर यदि हामीसँग भएका कुराको सूची बनाउन थाल्यौं भने जीवनप्रतिको दृष्टिकोण नै बदलिन सक्छ। हेर्ने आँखा छन्। सुन्ने कान छन्। हिँड्ने खुट्टा छन्। सोच्ने मस्तिष्क छ। माया गर्ने मानिसहरू पनि छन्। यी सबै सामान्य लाग्न सक्छन्, तर यिनै कुराको अभाव भएका लाखौं मानिस संसारमा छन्। कृतज्ञताले अभावको होइन, उपलब्धिको दृष्टि दिन्छ। र जहाँ कृतज्ञता हुन्छ, त्यहाँ असन्तुष्टि टिक्न गाह्रो हुन्छ।
चौतारोको त्यो युवक लामो समयसम्म वृद्धका कुरा सुनिरह्यो। सूर्य अस्ताउँदै थियो। युवक उठ्यो। ऊ पहिलेको भन्दा शान्त देखिन्थ्यो। जाँदाजाँदै उसले फेरि एउटा प्रश्न गर्यो, ‘हजुर, के जीवनमा दुःख कहिल्यै समाप्त हुँदैन ?’ वृद्ध हाँसे। ‘दुःख जीवनको अतिथि हो। सुख जीवनको निर्णय हो।’ युवक केही क्षण मौन रह्यो। त्यसपछि बिस्तारै ओरालो लाग्यो। हामीले खोजेको सुख वास्तवमै कहाँ लुकेको छ ? सायद उसले अझै सुख भेटेको थिएन। तर सुख खोज्ने सही दिशा भने भेटिसकेको थियो।
आजको तीव्र प्रतिस्पर्धा, बढ्दो उपभोक्तावाद र सामाजिक दबाबबीच हामीले सुखलाई वस्तु, पद वा प्रतिष्ठासँग जोड्ने गल्ती गरिरहेका छौं। तर सुख खरिदबिक्री हुने वस्तु होइन, यो त जीवन बाँच्ने तरिका हो। यो कुनै एकैचोटि प्राप्त हुने उपलब्धि पनि होइन; प्रत्येक दिनका साना निर्णय, स्वस्थ सम्बन्ध, इमानदार श्रम, कृतज्ञ मन, क्षमाशील हृदय र वर्तमान क्षणलाई पूर्ण रूपमा जिउने अभ्यासको समष्टिगत प्याकेज हो।
अन्ततः, सुख कुनै रहस्यमय गन्तव्यमा लुकेको हुँदैन। त्यो त हाम्रो दृष्टिकोण, व्यवहार र जीवनप्रतिको चेतनाभित्रै लुकेको हुन्छ। जसले बाहिरी उपलब्धिभन्दा भित्री समृद्धिलाई महत्व दिन सिक्छ, उसले कठिन समयमा पनि आशाको किरण देख्न सक्छ र यही नै सुखभित्र लुकेको सबैभन्दा ठूलो रहस्य हो।
प्रतिक्रिया दिनुहोस !