शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा बोल्यो भारत

शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा बोल्यो भारत

भारत : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना सन् २०२४ मा देश छोडेपछि हालसम्म भारतमै बसिरहेकी छन् । गत साता उनले आफू छिट्टै स्वदेश फर्किने बताइन्, त्यसपछि बंगलादेशमा नयाँ राजनीतिक बहस सुरु भएको छ । एकातर्फ बंगलादेशले हसिनाको ढाकामा स्वागत हुने बताएको छ भने अर्कोतर्फ फर्किदा उत्कृष्ट वकिल लिएर आउन सुझाव दिएको छ । यस विषयमा भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।

भारतको विदेश मन्त्रालयले शेख हसिनाको स्वदेश फिर्तीबारे सरकारको अडान सुरुदेखि नै स्पष्ट रहेको र त्यसमा कुनै परिवर्तन नभएको जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शेख हसिनाको सुरक्षित फिर्तीका लागि भारत बंगलादेशी अधिकारीहरूसँग सम्पर्कमा छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘यस विषयमा हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन । हस्तान्तरणसम्बन्धी कुनै पनि विषय कानुनी प्रक्रिया अन्तर्गत पर्ने भएकाले त्यसलाई कानुन र निर्धारित नियमअनुसार नै टुंग्याइनेछ ।’

भारतले यसअघि पनि पटक–पटक बंगलादेशबाट आउने कुनै पनि अस्तान्तरणको अनुरोध कानुनी प्रक्रिया अनुसार मात्र विचार गरिनेछ । बंगलादेशले यसअघि पनि धेरै पटक भारतसँग शेख हसिनालाई फिर्ता पठाउन आग्रह गर्दै आएको छ । यस वर्ष तारिक रहमान नेतृत्वको सरकार बनेपछि बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान भारत पुगेर भारतीय विदेशमन्त्री एस. जयशंकर समक्ष हसिनालाई फिर्ता पठाउन औपचारिक आग्रह दोहो¥याएका थिए । तर भारतले त्यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको थिएन ।

शेख हसिनालाई मृत्युदण्डको फैसला
सन् २०२४ को जुलाई–अगस्टमा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा शेख हसिना सरकारविरुद्ध व्यापक र हिंसात्मक आन्दोलन भएको थियो । त्यसपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छोडेकी थिइन् र त्यसयता भारतमै बस्दै आएकी छन् ।

यसैबीच, बंगलादेशको एक विशेष न्यायाधिकरणले प्रदर्शनकारीमाथि कथित हिंसात्मक कारबाही गर्न आदेश दिएको आरोपमा सन् २०२५ को नोभेम्बरमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । अन्य विभिन्न मुद्दामा पनि उनलाई लामो कारावासको सजाय सुनाइएको छ । बंगलादेश सरकारले हसिनाले स्वदेश फर्केर कानुनी प्रक्रियाको सामना गर्नुपर्ने बताउँदै आएको छ ।

स्वदेश फर्किने घोषणा
हालै एक अन्तर्वार्तामा शेख हसिनाले आफू जुनसुकै परिस्थितिमा पनि बंगलादेश फर्किने घोषणा गरेकी छन् । उनले स्वदेश फर्किएपछि अदालतमा आत्मसमर्पण गर्न तयार रहेको पनि बताइन् । स्वदेश फिर्ती र अदालतमा आत्मसमर्पणबारे उनले पहिलो पटक सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति दिएकी हुन् । रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफू र प्रतिबन्धित आवामी लिगका केही नेताहरू डिसेम्बरतिर बंगलादेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने योजना रहेको बताइन् ।

भारत र बंगलादेशबीच आफूलाई फिर्ता पठाउने विषयमा भइरहेको कूटनीतिक प्रयासबारे बोल्दै हसिनाले भनिन्, ‘ढाकाका अधिकारीहरू मलाई फिर्ता लैजान चाहन्छन् र भारतलाई बारम्बार पत्र पठाइरहेका छन् । तर त्यसको आवश्यकता छैन, म आफैं फर्किनेछु ।’ उनले बंगलादेश फर्किने बित्तिकै आफूलाई पक्राउ गर्न सकिने, यहाँसम्म कि हत्या पनि हुन सक्ने आशंका व्यक्त गरिन् ।

तर त्यसका बाबजुद पनि स्वदेश फर्किने आफ्नो निर्णय नबदल्ने बताइन् । उनले भनिन्, ‘उनीहरूले मलाई फर्किने बित्तिकै गिरफ्तार गर्न सक्छन्, यहाँसम्म कि मार्न पनि सक्छन् । त्यसपछि पनि म फर्किनै पर्छ । मेरो पार्टीका कार्यकर्तामाथि दमन भइरहेको छ । यदि मृत्यु नै लेखिएको छ भने, म आफ्नै जन्मभूमिमा मर्न चाहन्छु-जहाँ मेरा बुबाआमा समाधिस्थ छन् र जहाँ उनीहरूको रगत बगेको थियो ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.