राहदानीमा अल्झिएको सुनौलो भविष्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा हरेक दिन देखिने दृश्यहरू नेपालको वर्तमान ऐना हुन्। एकातिर अंकमाल र आँसुको भेल छ, अर्कोतिर सुन्दर भविष्यको धमिलो सपना। काँधमा गह्रौं ब्यागेज र मनमा त्योभन्दा गह्रौं कौतुहल बोकेर प्रतिदिन हजारौं नेपाली युवाले मुलुक छाडिरहेछन्। ती लामबद्ध अनुहार हेर्दा गम्भीर प्रश्नले छातीमा हिर्काउँछ– यो पलायन समृद्धिको सपना हो कि परिस्थितिको बाध्यता ? युवाहरूको यो बढ्दो विदेश मोहले नेपालको भविष्यलाई कता लैजाँदैछ ? के हामी जीवन्त राष्ट्र निर्माण गर्दैछौं वा केवल
वृद्धहरूको विशाल आश्रयस्थल ?
नेपालमा युवा पलायन रहर नभई राज्यले न्यूनतम आर्थिक सुरक्षा, योग्यताअनुसारको रोजगारी र गुणस्तरीय शिक्षा दिन नसक्दा सिर्जित बाध्यता हो। विगतको लाहुरे संस्कृतिभन्दा फरक वर्तमानको यो ठूलो पलायन देशका लागि गहिरो सामाजिक–आर्थिक संकट बनेको छ, जसको मुख्य कारण राज्यको कमजोरी र नागरिकमा छाएको निराशा हो। यो पलायन चरम ‘बाध्यता’ र उज्ज्वल ‘सपना’ दुवैको दोसाँधमा छ।
देखासिकी, सामाजिक मनोविज्ञान र प्रतिष्ठाको लडाइँ : आजभोलि सबैलाई वैदेशिक यात्राको आर्थिक बाध्यता छैन। तर, विदेश जानुलाई नै सफलता र प्रतिष्ठा ठान्ने विकृत सामाजिक मनोविज्ञान बनेको छ। छरछिमेकी वा साथीभाइको देखासिखी र सामाजिक सञ्जालको चमकधमकपूर्ण तस्बिरहरूको लैलैमा लागेर, देखावटी रूपमै मात्र बिदेसिने युवाहरूको संख्या पनि समाजमा एकदमै ठूलो र चिन्ताजनक हुँदै गएको छ।
‘फलानोको छोरो त विदेश गएर यति कमाउने भयो, तिमी चाहिँ यहीँ के हेरेर बसेको ?’ भन्ने सामाजिक र पारिवारिक दबाबले कतिपय सक्षम युवालाई मानसिक रूपमा कमजोर बनाइदिएको छ। स्वदेशमै केही उद्यम गरिरहेका वा मासिक राम्रो आम्दानी गरिरहेका युवासमेत यही देखावटी प्रवृत्तिको सिकार भएर आफ्नो जमेको व्यवसाय वा जागिर छाडी राहदानीको लाइनमा उभिन पुगेका छन्।
हामीले श्रम र देशभित्रको अवसरलाई भन्दा विदेशी भिसालाई बढी ‘ग्लोरिफाई’ वा सम्मान गर्न थाल्यौं, जसको मूल्य आज सिंगो मुलुकले चुकाउँदैछ।राज्यको उदासीनता र नीतिगत रिक्तताको परिणाम : युवाहरूलाई देशमै रोक्ने, ‘श्रमको सम्मान गर्ने’ र ‘स्वदेशमै रोजगारी सृजना गर्ने’ नारा हरेक राजनीतिक दलका घोषणापत्र र बजेटका दस्तावेजहरूमा आकर्षक अक्षरमा लेखिन्छन्। युवा स्वरोजगार कोष, सहुलियतपूर्ण कर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनाहरू नआएका होइनन्। तर, ती योजनाहरू केवल कागजमा वा पहुँचवाला र राजनीतिक दलका कार्यकर्ताको पोल्टामा मात्र सीमित हुँदा वास्तविक, ऊर्जाशील र स्वतन्त्र युवा उद्यमीहरू जहिले पनि पाखा लाग्छन्।
नेपालमा सानो व्यवसाय सुरु गर्न पनि झन्झटिलो प्रशासनिक प्रक्रिया, पाइलैपिच्छे हुने भ्रष्टाचार, नीतिगत अस्थिरता र बजारको अनिश्चितता सामना गर्नुपर्छ। दु:ख गरेर उब्जाएको कृषि उपजले बजार पाउँदैन, सडकमा फ्याँक्नुपर्ने अवस्था आउँछ। उद्योग खोल्न चाहनेले विद्युत्, जग्गा र सरकारी स्वीकृतिका लागि वर्षौं धाउनुपर्छ। पढेलेखेका युवाहरूले योग्यताअनुसारको न्यूनतम पारिश्रमिकसमेत पाउँदैनन्। श्रमको अवमूल्यन हुने र उद्यमशीलतालाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गर्ने राज्यको यही उदासीन नीतिका कारण भविष्य स्वदेशको माटोमा देख्न छाडेका हुन्।
विप्रेषणको क्षणिक जग र परनिर्भर अर्थतन्त्र : नेपालको अर्थतन्त्र आज युवाको रगत र पसिनाले सिञ्चित रेमिट्यान्सको जगमा उभिएको छ। विदेशी मुद्राको सञ्चिति बढाउन, शोधनान्तर स्थिति सन्तुलनमा राख्न र मुलुकको गरिबी निवारणमा यसले तात्कालिक रूपमा ठूलो टेवा पु¥याएको कुरा अकाट्य छ। तर, के यो दिगो आर्थिक मोडल हो ? कुनै पनि स्वाभिमानी राष्ट्रले आफ्नो युवा जनशक्तिलाई खाडीको ५० डिग्रीको गर्मीमा वा पश्चिमा देशका श्रम बजारमा सस्तोमा बेचेर समृद्धिको सपना देख्न सक्दैन।
मानव संसाधनजस्तो उत्पादक शक्तिलाई बाहिर पठाएर देशमा केवल उपभोग्य वस्तु र विलासिताका सामान आयात गर्दा मुलुक परनिर्भरताको दलदलमा झनझन् भासिँदै गएको छ। रेमिट्यान्सबाट आएको रकम उत्पादनमूलक क्षेत्र, कलकारखाना वा पूर्वाधार विकासमा लगानी हुन सकेको छैन। त्यो पैसा पुन: आयातित सामान खरिदमै विदेश फर्किने गरेको छ। गाउँघरहरू युवाविहीन छन्। उत्पादक उमेरको सुनौलो र ऊर्जाशील समय विदेशी भूमिमा खर्च गरेर फर्किने युवाहरूसँग उत्तरार्धमा केवल शारीरिक शिथिलता, डिप्रेसन र अनिश्चित भविष्य मात्र बाँकी रहन्छ।
‘ब्रेन ड्रेन’ र भविष्यको गम्भीर संकट : यो लामबद्ध लस्करमा केवल अदक्ष वा अर्धदक्ष कामदारमात्र छैनन्, देशका उत्कृष्ट डाक्टर, इन्जिनियर, व्यवस्थापक, चार्टर्ड एकाउन्टेन्ट, प्राविधिक र सिर्जनशील विद्यार्थी पनि सामेल छन्। उच्च शिक्षाका नाममा अर्बौं रुपैयाँ पुँजी र देशका प्रखर मस्तिष्कहरू एकैसाथ बाहिरिइरहेका छन्। यस प्रकारको ‘ब्रेन ड्रेन’ (बौद्धिक पलायन) र पुँजी पलायनले नेपालको भविष्यलाई गम्भीर अन्धकारतर्फ धकेलिरहेको छ।
मुलुकको नीति निर्माण गर्ने, नयाँ प्रविधिको विकास गर्ने, उद्योगधन्दा चलाउने र समाजमा परिवर्तनको संवाहक बन्ने उमेर समूह र बौद्धिक वर्ग नै देश बाहिर भएपछि नेपालले कसरी समृद्धिको यात्रा तय गर्छ ?
यदि यो क्रम रोक्न सकिएन भने, आगामी केही दशकमा नेपालसँग प्राकृतिक स्रोत र ठूला गफ त होलान्, तर ती स्रोतलाई उपयोग गर्ने र देश हाँक्ने दक्ष मानव संसाधनको चरम अभाव हुने निश्चित छ। हाम्रा विश्वविद्यालयहरू रित्तिँदै जानु र विदेशी परामर्श केन्द्रहरूमा भिड बढ्नुले हाम्रो शैक्षिक र सामाजिक भविष्यको भयावह चित्र प्रस्तुत गर्दछ।
अबको बाटो नारामुखी होइन, कार्यमुखी रूपान्तरण : यो गम्भीर राष्ट्रिय समस्याको समाधान केवल भावनात्मक भाषण वा राजनीतिक नाराबाट सम्भव छैन। यसका लागि राज्य, समाज र स्वयं युवाहरूमा सोच र कार्यशैलीको आमूल परिवर्तन आवश्यक छ :–
१. उद्यमशीलताको सहजीकरण र नीतिगत सुधार : स्वदेशमै उद्यम गर्ने वातावरण निर्माण गर्नु पहिलो सर्त हो। साना तथा मझौला उद्योग र स्टार्टअपहरूका लागि बिनाधितो वा सहुलियत ब्याजदरमा कर्जाको सहज उपलब्धता हुनुपर्छ। एकद्वार प्रणालीमार्फत व्यवसाय दर्ता सहज बनाइनुपर्छ। युवाहरूलाई कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लाग्न विशेष कर छुट र बजारको सुनिश्चितता राज्यले दिनुपर्छ।
२. शिक्षा प्रणालीको पूर्णसंरचना : वर्तमान शिक्षा प्रणालीलाई बेरोजगार स्नातक उत्पादन गर्ने कारखानाभन्दा पनि सीपमूलक, व्यावहारिक र बजारमुखी बनाउनु आवश्यक छ। प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिई विद्यार्थीलाई अध्ययनकै क्रममा आत्मनिर्भर हुन सिकाउनुपर्छ।
३. श्रमको सम्मान र चेतनामा परिवर्तन : समाज र परिवारले सफलताको परिभाषा बदल्न जरुरी छ। विदेश जानु नै प्रतिष्ठा हो र स्वदेशमा पसिना बगाउनु सानो काम हो भन्ने मानसिकता त्याग्नुपर्छ। जुनसुकै वैधानिक काम गर्ने युवालाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ।
४. सुशासन, राजनीतिक स्थिरता र मेरिटोक्रेसी : युवाहरूमा देशप्रतिको भरोसा जगाउन सुशासन र योग्यता तन्त्रको प्रत्याभूति हुनुपर्छ। कसैको ओत नलागी, आफ्नै पौरखले देशमा बाँच्न सकिन्छ भन्ने विश्वास राज्यले दिलाउनुपर्छ।
निष्कर्षमा ‘समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा : युवाहरू देशका मेरुदण्डमात्र होइनन्, उनीहरू वर्तमानका हिस्सेदार र भविष्यका एकमात्र निर्माता पनि हुन्। समृद्धिको सपना देख्नु र अवसरको खोजीमा निस्कनु आफैंमा अपराध होइन, तर राज्यको लाचारीका कारण
त्यो सपना बाध्यतामा परिणत हुनु र समाजको अन्धानुकरणका कारण एउटा घातक लहर बन्नु भने अवश्य पनि राष्ट्रिय मूलधारकै पराजय हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको त्यो आँसु र उदासीले भरिएको लामो लाइनलाई आगमन कक्षको उत्साह, सीप र पुँजीसहितको सुखद संसारमा बदल्न अब धेरै ढिलो भइसकेको छ। विदेशी माटो र मरुभूमिलाई आफ्नो पसिनाले हरियाली बनाउन सक्ने नेपाली युवाको पाखुरी र मस्तिष्कले मातृभूमिलाई सिञ्चित गर्ने वातावरण बनाउनु आजको मुख्य आवश्यकता हो।तबमात्र ‘समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा केवल चुनावी नारामा सीमित नभई यथार्थमा परिणत हुनेछ। समयमै चेतौं, युवाको सुरक्षित भविष्य नै नेपालको सुनौलो भविष्य हो।
न्यौपाने, अधिवक्ता हुन्।
प्रतिक्रिया दिनुहोस !