आगोमा होमिएको हाम्रो मानवता

आगोमा होमिएको हाम्रो मानवता

नेपालीको यो वियोगान्त घटना कुनै एक व्यक्तीको कथा मात्र होइन, यो चरम निराशामा बाँचिरहेका सम्पूर्ण आम नागरिकको अनुहार देखिने स्पष्ट ऐना हो। देशलाई ठूला भवन, चिल्ला सडक र कठोर कानुनले मात्र समृद्ध बनाउँदैन; यसलाई मानवीय व्यवहार, करुणा र संवेदनाले मात्र उँचो बनाउँछ।

एउटा मानिसले आफ्नै शरीरमा आगो लगाउनु केवल एउटा दुःखद आत्महत्या मात्र होइन, यो कान नसुन्ने राज्य र संवेदनहीन समाजप्रतिको अन्तिम र सबैभन्दा कठोर विद्रोह हो। काठमाडौंमा गणेश नेपालीले गरेको आत्मदाहको प्रयास र त्यसपछिको अमानवीय उद्धार प्रक्रियाले हाम्रो राज्यसंयन्त्रको क्रूरता र हराउँदै गएको मानवीय संवेदनालाई नांगो पारेको छ। हजारौं सपनाहरू भित्रभित्रै जलिरहेको हाम्रो वर्तमान समाजमा, यो घटनाले शरीरभन्दा धेरै हाम्रो मानवता पोलिएको यथार्थलाई छर्लंग पार्दै हामीलाई गम्भीर प्रश्न गरेको छ, के हामी र राज्य साँच्चै सभ्य छौं ? 

हो, एउटा मानिसले आफ्नै शरीरमा आगो लगाउनु कुनै सामान्य घटना होइन। यो केवल एउटा व्यक्तिको निर्णय मात्र पनि होइन; यो त समाजसँगको अन्तिम संवाद हो, राज्यसँगको अन्तिम प्रश्न हो। जब सबै आशा सकिन्छन्, सुन्ने कानहरू भेटिँदैनन् र बाँच्ने आधारहरू हराउँछन्, तब निस्किने अन्तिम चीत्कार हो यो। नेपालीले गरेको आत्मदाहको प्रयास एउटा समाचारमा मात्र सीमित हुन मिल्दैन। यसले हाम्रो राज्यव्यवस्था, कानुन कार्यान्वयन गर्ने निकाय, समाज र हामी सबैको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। नेपालमा यो पहिलो घटना होइन। संसद् भवनबाहिरदेखि देशका विभिन्न स्थानमा आत्मदाहका प्रयास र मृत्युकापीडादायी घटना पटक–पटक दोहोरिएका छन्।

हरेक घटनापछि केही दिन चर्चा हुन्छ, सामाजिक सञ्जालमा आक्रोश पोखिन्छ, अनुसन्धानको कुरा उठ्छ, अनि बिस्तारै सबै मौन हुन्छन्। तर, समस्या भने जहाँको तहीँ रहन्छ। नेपालीको घटनाले मानिसलाई सबैभन्दा धेरै झस्काएको कुरा आत्मदाह मात्र होइन, जलेर गम्भीर अवस्थामा पुगेका उनलाई उद्धार गर्ने क्रममा देखिएको अमानवीय व्यवहार पनि हो। शरीरको ठूलो भाग आगोले जलिसकेको व्यक्तिलाई कुनै अपराधीलाई जस्तो पाखुरा समातेर घिसार्दै लगिएको दृश्य हेर्दा जोसुकैको मन चसक्क हुन्छ। जलेको ठाउँमा सामान्य कपडाले छुँदा मात्रै पनि असह्य पीडा हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यसमाथि शरीरको आधाभन्दा बढी भाग जलेको मानिसलाई त्यसरी तान्दै लैजानु कति पीडादायी थियो होला ?  त्यो सोच्दा मात्रै पनि मन भारी हुन्छ।

घटनास्थल तनावपूर्ण हुनसक्छ, सुरक्षाकर्मी र नगर प्रहरीले तत्काल निर्णय लिनुपर्ने अवस्था पनि आउन सक्छ। तर, संकटको घडीमा सबैभन्दा पहिले देखिनुपर्ने कुरा मानवीय व्यवहार हो। कानुन लागू गर्ने अधिकारसँगै मानवीय संवेदना पनि हुनुपर्छ। उद्धार गर्ने सीप, प्राथमिक उपचारको ज्ञान र घाइतेलाई सुरक्षित ढंगले अस्पताल पुर्‍याउने तयारी त्यत्तिकै आवश्यक हुन्छ। नगर प्रहरी र ट्राफिक प्रहरीको जिम्मेवारी सडकको व्यवस्थापन गर्नु र नियम उल्लंघन रोक्नु हो। तर उनीहरूको भूमिका त्यतिमै सीमित हुँदैन, उनीहरू नागरिकसँग प्रत्यक्ष भेटिने राज्यका प्रतिनिधि पनि हुन्। त्यसैले, उनीहरूको व्यवहारले राज्यप्रतिको नागरिकको विश्वासलाई बलियो वा कमजोर दुवै बनाउन सक्छ।

यस घटनाले अर्को एउटा अहम् प्रश्न उठाएको छ, के हाम्रो सुरक्षा संयन्त्र आपत्कालीन उद्धारका लागि पर्याप्त रूपमा प्रशिक्षित छ ? जलेका बिरामीलाई कसरी उठाउने, कसरी सुरक्षित राख्ने र कसरी तुरुन्त उपचारमा लैजाने भन्ने आधारभूत ज्ञान र उपकरण सम्बन्धित निकायसँग छ कि छैन ?  यदि छैन भने यो कमजोरी तत्काल सच्याउनुपर्छ। गाउँ र सहरको तुलना गर्दा हामी गाउँलाई प्रायः पछाडि परेको ठाउँका रूपमा चित्रण गर्छौं। तर, मानवीय सम्बन्धको हिसाबले गाउँ अझै धेरै धनी छ। गाउँमा कुनै मानिस अचानक बिरामी पर्दा डोको खोजिन्छ, छिमेकी दौडेर आउँछन्। 

कसैले पानी ल्याउँछ, कसैले बाटो बनाउँछ, कसैले अस्पताल पुर्‍याउन काँध थाप्छ। त्यो सहयोग कानुनले सिकाएको होइन, मानवताले सिकाएको हो। तर, आफूलाई विकसित र सभ्य ठान्ने सहरमा जलेर थिलथिलो भएको मानिसलाई सम्मानका साथ उठाउनुको सट्टा घिसार्दै लगिएको दृश्यले हामी साँच्चै आधुनिक भएका छौं कि छैनौं भन्ने गम्भीर प्रश्न जन्माइदिएको छ। सहरमा भवनहरू अग्ला हुँदै गए, तर मानवता भने तल्लो स्तरमा पुगेको महसुस भयो।

यो घटनाको अर्को पाटो अझ गम्भीर छ। एउटा मानिस किन आफ्नै शरीरमा आगो लगाउने अवस्थामा पुग्छ ? कोही पनि मानिस आत्मदाह गर्ने सपना बोकेर जन्मिएको हुँदैन। ऊ पनि अरू जस्तै बाँच्न, परिवारसँग रमाउन र आफ्ना सपना पूरा गर्न चाहन्छ। तर, जब उसले आफ्नो आवाज कसैले नसुनेको महसुस गर्छ, न्यायको ढोका बन्द भएको देख्छ र भविष्य अन्धकार देख्छ, तब ऊ निराशाको अन्तिम किनारा पुग्छ। आज नेपालका हजारौं युवाको मनभित्र आगो बलिरहेको छ। 

बेरोजगारीले उनीहरूलाई पोलिरहेको छ। श्रमको सम्मान नहुँदा पोलिरहेको छ। अवसरको असमानताले पोलिरहेको छ। महँगी, अन्याय, निराशा र भविष्यप्रतिको अनिश्चितताले भित्रभित्रै डढाइरहेको छ। कसैले त्यो आगो बाहिर देखाउँदैनन्, तर भित्रभित्रै उनीहरू जलिरहेका छन्।

हामी अहिले एउटा जलेको शरीरबारे चर्चा गरिरहेका छौं, तर वास्तवमा हाम्रो समाजमा हजारौं सपनाहरू दैनिक जलिरहेका छन्। कसैको विदेश जाने सपना, कसैको आफ्नै देशमा सम्मानपूर्वक काम गर्ने सपना त कसैको परिवारलाई सुख दिने सपना। शरीरभन्दा पहिले सपना जल्न थालेपछि समाज कमजोर बन्छ। त्यसैले आत्मदाहलाई व्यक्तिगत घटना भनेर पन्छाउन मिल्दैन, यो गहिरो सामाजिक, आर्थिक र मनोवैज्ञानिक सन्देश पनि हो। यस्तो अवस्थासम्म कुनै नागरिक पुग्नु भनेको राज्य र समाज कसैले पनि समयमैउसको पीडा बुझ्न नसक्नुको संकेत हो।

यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, उद्धारमा भएका कमजोरीहरू सुधारिनुपर्छ र जिम्मेवारी निर्धारण हुनुपर्छ। नगर प्रहरी, ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मीलाई आपत्कालीन उद्धार तथा मानवीय व्यवहारसम्बन्धी नियमित तालिम दिनुपर्छ। 

आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ। संकटको समयमा एउटा सही निर्णयले जीवन बचाउन सक्छ भने एउटा गलत व्यवहारले पीडा अझ बढाउन सक्छ। तर छानबिन र कारबाही मात्रै पर्याप्त हुँदैन, हामीले समाजको संवेदनशीलता पनि पुनः जागृत गर्नुपर्छ। दुर्घटना होस् वा विपत्ति, सबैभन्दा पहिले ‘मान्छे’ देख्न सिक्नुपर्छ। उसको राजनीतिक विचार, जात, धर्म, आर्थिक अवस्था वा परिचय होइन, उसको ‘जीवन’महत्वपूर्ण हो भन्ने चेतना बलियो बनाउनुपर्छ।

गणेश नेपालीको घटना कुनै एक व्यक्तिको कथा मात्र होइन, यो सबै नेपालीको अनुहार देखिने ऐना हो। त्यो आगोले एउटा शरीर मात्र जलाएको छैन, हाम्रो संवेदनशीलतालाई पनि नराम्ररी पोलिदिएको छ। यदि यस घटनाबाट पनि हामीले केही सिकेनौं भने भोलि फेरि अर्को शरीर जल्नेछ, अर्को परिवार रोइरहेको हुनेछ, अर्को सपना खरानी हुनेछ। देशलाई सडक, पुल, भवन र कानुनले मात्र समृद्ध बनाउँदैन, मानवीय व्यवहार, करुणा र संवेदनाले पनि देशलाई उचो बनाउँछ। संकटमा परेको नागरिकलाई बचाउन दौडिने हातहरू नै सभ्य समाजको असली परिचय हुन्। हामीसँग अझै पनि आगो निभाउने समय छ, शरीरमा लागेको आगो मात्र होइन, युवाका मनमा बलिरहेको निराशाको आगो पनि। जलेको शरीरभन्दा धेरै पोलिएको कुरा हाम्रो मानवता हो। त्यो मानवतालाई बचाउन सक्यौं भने मात्र यस्ता पीडादायी घटनाको पुनरावृत्ति रोक्ने कदम अघि बढ्न सक्ला।

नेपालीको यो वियोगान्त घटना कुनै एक व्यक्तिको कथा मात्र होइन, यो चरम निराशामा बाँचिरहेका सम्पूर्ण आमनागरिकको अनुहार देखिने स्पष्ट ऐना हो। देशलाई ठूला भवन, चिल्ला सडक र कठोर कानुनले मात्र समृद्ध बनाउँदैन; यसलाई मानवीय व्यवहार, करुणा र संवेदनाले मात्र उचो बनाउँछ। त्यसैले, अब हाम्रो प्रमुख दायित्व भनेको शरीरमा लागेको आगो निभाउनु मात्र होइन, युवाका मनमा बलिरहेको निराशाको डढेलो निभाउनु पनि हो। पोलिएको मानवतालाई बेलैमा बचाउन सकेनौं भने, यस्ता विदारक घटनाहरूले भोलि हाम्रो समाजको अस्तित्व नै पूर्णरूपमा खरानी बनाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.