ललितपुर महानगर प्लास्टिकमुक्त हुँदै

ललितपुर महानगर प्लास्टिकमुक्त हुँदै

ललितपुर : प्लास्टिकले वातावरणमा नराम्रो प्रभाव पारेको भन्दै ललितपुर महानगरपालिकाले केही दिनभित्र प्लास्टिक निषेध गर्ने तयारी गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले विश्व वातावरण दिवस जुन ५ मा साउनदेखि ललितपुर प्लास्टिक निषेधित क्षेत्र हुने भनाइ राखेका थिए । उनले वातावरणविद्सँगको अन्तरक्रियापछि महानगरपालिकालाई प्लास्टिकमुक्त बनाउने निर्णय गरेका हुन् । उनले भने, ‘प्रदूषणका कारण उपत्यकामा दैनिक ९ जनाले ज्यान गुमाएको तथ्य थाहा पाएपछि चाँडोभन्दा चाँडो प्लास्टिकमुक्त बनाउन खोजेको हुँ ।’ उनले इलेक्ट्रोनिक सवारीमा जोड दिने पनि बताए ।

उनका अनुसार यतिबेला प्लास्टिक निषेध तयारी अन्तिम अवस्थामा पुगेको तर प्लास्टिकको विकल्पबारे कपडा र कागजको झोला बनाउनेहरूसँग छलफल भइरहेको छ । ‘उनीहरूले केही समय मागेका छन्’, उनले भने । वातावरणविद् भूषण तुलाधरले ३ वर्षअघि नै नेपालमा प्लास्टिक निषेध गरिए पनि कार्यान्वयन नभएको बताए । २०७२ सालको भूकम्पले कार्यान्वयनमा अवरोध गरेको उनको भनाइ छ । ‘सबैभन्दा पहिले सन् १९९८ मा बंगलादेशले प्लास्टिक निषेध गरेको थियो । त्यसबेला त्यहाँ आएको बाढीले ल्याएको प्लास्टिकले पानीका पाइप थुनिनेलगायत विभिन्न समस्या उब्जेका थिए’, उनले भने ।

 ‘प्रदूषणका कारण उपत्यकामा दैनिक ९ जनाले ज्यान गुमाएको तथ्य थाहा पाएपछि प्लास्टिकमुक्त बनाउन खोजेको हुँ ।’
–चिरीबाबु महर्जन, मेयर, ललितपुर महानगरपालिका

प्लास्टिक धेरे वर्षसम्म नकुहिने तथा जलाउन पनि हानिकारक भएकाले निषेध नै गरिनुपर्ने उनको सुझाव छ । यहाँ अहिले डिपार्टमेन्टल स्टोर र बिगमार्टमा प्लास्टिकका झोलाको साटो कपडाको झोला राख्न थालिएको दृष्टान्त पनि उनले दिए । उनले भने, ‘प्लास्टिकभन्दा सवारीसाधनले फाल्ने धुवाँ र गुड्दा उड्ने धुलोले वातावरण धेरै नै प्रदूषित भइरहेको छ ।’ साना झोला रिसाइकल गर्न गाह्रो हुने र फाइदा नहुने भएकाले प्लास्टिक संकलन गर्नेलेसमेत यसमा खासै ध्यान नदिने उनको अनुभव छ । वातावरण स्वच्छ राख्न यातायात प्रणालीमा नै परिवर्तन ल्याउनुपर्ने उनी बताउँछन् ।

गत महिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार बर्सेनि वातावरण प्रदूषणका कारण विश्वभर ७ लाख मानिसको मृत्यु हुने गरेको छ । प्रतिवेदनमा उल्लेख छ– प्रत्येक १० जनामध्ये ९ जनाले प्रदूषित श्वास फेरिरहेका छन् ।’ वातावरण प्रदूषणले मुटुरोग, फोक्सोको क्यान्सर, श्वासप्रश्वासमा समस्या, निमोनियालगायत स्ट्रोक हुनसक्ने डब्ल्यूएचओले उल्लेख गरेको छ । प्रदूषण न्यूनीकरण गर्न काठमाडौं र ललितपुर महानगरपालिकाकोे सहकार्यमा विद्युतीय बस सञ्चालन गर्न लागेको र चाँडै तीन वटा विद्युतीय बस नमुनाका रूपमा सञ्चालन गरिने मेयर महर्जनले बताए । यसका लागि काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड छुट्याइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.