प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव र बाइक भीरमा
धनगढी : कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन्।कैलालीको कञ्चनपुरमा पुर्नवास नगरपालिका-२ दशरथ बस्तीका २४ वर्षीय तेजबहादुर विष्टलाई उनकी श्रीमती लक्ष्मी बढेला र प्रेमी दीपक खत्री मिलेर हत्या गरी भीरमा खसालेको प्रहरीले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिका-११ ओलानी ससुराली भएका विष्टलाई उनकी श्रीमती लक्ष्मी बढेला र प्रेमी दीपक खत्रीले हत्या गरी भीमदत्त पन्त राजमार्गमा पर्ने भासु भीरमा खसालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
असार ८ गते ससुरालीमा रहेकी पत्नीलाई बोलाउन गएका विष्ट सोही दिनदेखि वेपत्ता थिए। आमा हिरादेवी विष्टले कैलालीको मालाखेती प्रहरीमा ससुराली गएको छोरा वेपत्तासम्बन्धी उजुरी दिएपछि प्रहरीले सोमबार राति लक्ष्मी र दीपकलाई पक्राउ गरेको थियो।
दुबैजनाले आफू एकअर्कालाई प्रेम गर्ने गरेको र तेजबहादुरलाई घुम्न जाउँ भनेर भासु भीरतिर लगेर टाउकोमा रडले हानेर मोटरसाइकलसहित भीरमा फालेको बयान दिएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
हत्या गरिएका तेजबहादुरको शव र उनले चढेको म २ प ६४७७ नम्बरको मोटरसाइकल भीरमा फेला परेको प्रहरी उपरीक्षक घिमिरेले बताए।
मंगलबार बिहान अभियुक्त द्वयलाई लगि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो। प्रहरी निरीक्षकसहितको प्रहरी टोलीले भासु भीरबाट शव र मोटरसाइकल निकाल्न गएको प्रहरीले जनाएको छ।
लक्ष्मीले- ८ गते नै खानीडाँडा घुम्न जाउ भनेर श्रीमान्लाई लगेको र त्यसपछि भासुको भीरमा पनि हेरेर आउँ न भनेर लगेको प्रहरीले जनाएको छ। भासुको भीरमा फलामको रड लिएर बसिरहेका प्रेमी खत्रीले पुग्ने वित्तिकै टाउकोमा फलामको रड हानेर भीरमा फालेको बयान दिएका छन्।