प्रहरीले यात्रुलाई फिर्ता गरायो बढी भाडा, ९ वटा गाडी कारबाहीमा
जाजरकोटः यहाँ तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनबाट प्रहरीले यात्रुलाई भाडा फिर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी जिल्ला ट्राफिक प्रहरी जाजरकोटले गरेको संयुक्त अनुगमणको क्रममा बढी भाडा लिएको पाइएपछि बढी भाडा फिर्ता गरिएको हो ।
जाजरकोटदेखि नेपालगञ्जसम्म प्रतियात्रु पाँच सय रुपैयाँ भाडा तोकिएको छ । साना जीपहरुले प्रतियात्रु ६ सय रुपैया लिँदै आएका थिए । नागरिकको गुनासोको आधारमा छड्के चेक जाँच गर्दा बढी भाडा तिरेका १८ यात्रुलाई एक सय रुपैयाँका दरले बढी भाडा फिर्ता गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रवीन्द्रबहादुर सिंहले बताए ।
बढी भाडा लिएको, छतमा यात्रु राख्ने र सवारी दर्ता कितावमा नवीकरण नगरेका चार जीपलाई एक हजार पाँच सयका दरले जरिवानासमेत गरिएको डिएस्पी सिंहले बताए ।
प्रहरीका अनुसार ग १ ज ६१७४ नम्बरको जीप, भे १ ज ७८१ नम्बरको जीप, भे १ ज ७५२ नम्बरकोे जीप र ग १ ज ५३४७ नम्बरको जीप कारवाहीमा परेका छन् । त्यस्तै सवारी ऐन विपरीत चलाउने ५ वटा मोटरसाइकललाई पनि पाँच सयका दरले जरिवाना गरिएको छ ।