भारतीय नागरिकसँग नेपाली ड्राइभिङ लाइसेन्स
बिर्तामोडः भारतीय नागरिकले नेपालमा नक्कली सवारी चालक अनुमति पत्र बनाएर हिँड्ने गरेको खुलासा भएको छ ।
मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका भारतको पश्चिम बंगालस्थित आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियालीमाथि अनुसन्धान गर्ने क्रममा यस्तो खुलासा भएको हो ।
अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसन्धान अधिकारीले उनको साथबाट नेपाली लाइसेन्स समेत फेला पारेका थिए ।
नेपाली लाइसेन्स भेटिएपछि शंका लागेर यातायात व्यवस्था कार्यालय, कोशीमा लाइसेन्स बारे बुझ्दा भोजपुरको ज्यांग्रे–७ का किरणबहादुर कार्कीको नाममा जारी भएको लाइसेन्समा उनले आफ्नो फोटो टाँसेर प्रयोग गरेको खुलेको इलाका प्रहरी कार्यालय झापाका प्रमुख डिएसपी कृष्ण कोइरालाले बताए ।
कोइरालाका अनुसार उनको साथबाट ०२–२२४७६ नेपाली र डब्लूबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद भएको छ । दियालीमाथि सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, झापाबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।