महिनावारीका लागि विद्यालय सुरक्षित

महिनावारीका लागि विद्यालय सुरक्षित

तम्घास : गुल्मीको मदाने गाउँपालिका नेपालकै दोस्रो महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा भएको छ। सुरक्षित महिनावारीका लागि आवश्यक पर्ने सवै सुचक विद्यालयले पुरा गरेपछि गाउँपालिकालाई सुरक्षित घोषणा गरिएको हो। श्रम तथा रोजगारमन्त्री एवं गुल्मी २ का प्रतिनिधीसभा सदस्य गोकर्ण विष्टले कार्यक्रमबीच सुरक्षित महिनावारी पालिकालाई घोषणा गरेका हुन्।

निमावी र मावी गरी गाउँपालिकाभित्र रहेका १७ वटा विद्यालयले सुरक्षित महिनावारीको क्षेत्रमा तोकिएका सवै सूचकहरु पुरा गरेका छन्। विद्यालयमा नियमित सेनेटरी प्याडको व्यवस्था, फोकल शिक्षिका, सञ्जाल गठन र सवै किशोरी छात्राहरुलाई सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम अनिवार्य संचालन हुनुपर्ने सूचक तोकिएको छ। ‘पहिलो चरणमा मावी र निमावीलाई लक्षित गरी कार्यक्रम ग¥यौँ’,प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले भने,‘आउँदो वर्ष प्राथमिक तह र समुदायलाई लक्षित गर्ने योजना छ।’ विद्यालयहरु महिनावारीका लागि सुरक्षित भएपछि छात्राहरुको नियमित उपस्थितीमा टेवा पुगेको उनले जानकारी गराए।

घोषणा सभालाई सम्वोधन गर्दै मन्त्री गोकर्ण विष्टले जिल्लाकै दुर्गम क्षेत्रमा भएरपनि सामाजिक जागरणको क्षेत्रमा गाउँपालिकाले अनुकरणीय कार्य गरेकोप्रति प्रशंशा गरे। ‘महिनावारी भएको बेला धेरै छात्राहरु विद्यालय नजाने देखिन्थ्यो’,विगतमा गाउँको संझना गर्दै उनले भने,‘महिनावारी प्राकृतिक प्रक्रिया हो। यसलाई कसैले पनि हाउँगुजी सम्झनु हुँदैन्।’ नीतिगत रुपमै यसलाई राज्यले अझ सहज बनाउनतर्फ ध्यान दिने उनले विश्वास दिलाए। दुर्गमका नागरीकहरुलाई सामाजिक सचेतनाको क्षेत्रमा अगाडी ल्याउन सवै स्थानीय तहले जोड दिन उनले आग्रह समेत गरे।

गाउँपालिका घोषणा भएपछि झण्डै एक हजार तीनसय किशोरी छात्राहरु प्रत्यक्ष लाभांवित भएको विद्यालय निरिक्षक टुकलाल सापकोटाले जानकारी गराए। शैक्षिक गुणस्तर खस्कनुमा छात्राहरु मासिक रक्त श्राव भएको बेला विद्यालय नआउनुले पनि असर पारिरहेको उनको भनाई छ। कार्यक्रम संचालन गरेपछि छात्राहरुले आफ्ना समस्या खुलेरै राख्न थालेको उनले अनुभव सुनाए।

दक्ष जनशक्ति उत्पादन गर्न विद्यालय तहबाटै राज्यले लगानीलाई जोड दिनुपर्ने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उल्लेख गरे। ‘विद्यालयका धेरै छात्राहरुले महिनावारी रोगजस्तै सम्झने गर्छन्’,उनले भने,‘व्यक्तिको सोँचलाई परिवर्तन गर्न पालिका अभियानै बनाएर अघि बढ्यो।’ यसअघि गुल्मीकै इस्मा गाउँपालिका नेपालकै पहिलो महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.