माण्डवीका जनप्रतिनिधिलाई सुझाव, 'टुक्रे योजना नल्याउनू'
नयाँगाउँ(प्यूठान) : नयाँ आर्थिक वर्षमा साना योजना नल्याउन माण्डवी गाउँपालिकाबासीले जनप्रतिनिधिलाई सुझाव दिएका छन्। साना लगानीका योजनाले जनताको जीवनस्तरमा परिवर्तन नगर्ने भएकाले ठूला योजना संचालनमा उनीहरुले जोड दिएका हुन्।
बुधबार नयाँगाउँमा आयोजना गरिएको आर्थिक वर्ष २०७५/०७६ को योजना तर्जुमा तथा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो सुझाव दिएका हुन्।'साना योजनाले आम नागरिकको जीवनस्तरमा परिवर्तन गर्न सक्दैन्,मर्कावाङका स्थानीय माधव शर्मा पौडेलले भने, 'रोजगारी सृजना गर्न र गाउँपालिकालाई आत्मनिर्भर गराउन ठूला लगानीका योजना संचालन गर्नुपर्छ।'
उनले 'कनिका छरेजस्तै' गरी योजनामा बजेट विनियोजन नगर्न समेत जनप्रतिनिधिलाई सुझाव दिए । आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी ल्याउन थालिएको एकीकृत सम्पती करलाई गाउँपालिकाबासीसँग विस्तृत छलफल गरेर कार्यन्वयनको चरणमा लैजान प्यूठान उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामचन्द्र पौडेलले सुझाव दिएका छन्। 'सबैलाई कर शिक्षाको जरुरी छ, उनले भने, 'करदातालाई कर तिर्ने विषयमा जानकारी हुनुपर्छ।'
माण्डवी माध्यमिक विद्यालयमा धेरै टाढाका विद्यार्थीहरु पढ्न आउने भएकाले उनीहरुलाई लक्षित गरी 'स्कुल बस' संचालनका लागि पौडेलले गाउँपालिकाको ध्यानाकर्षण गराए। नीति तथा कार्यक्रम र बजेट ल्याउनुपूर्व विपक्षी दलका नेतासहित पालिकाबासीसँग राय सुझाव लिनू अनुकरणीय कार्य भएको उनको भनाई छ।
अधिकांश गाउँपालिकाबासीले कृषि र पर्यटन क्षेत्रको विकासले नै समृद्ध बनाउन सकिने बताएका छन् ।सबैको सुझावले नै गाउँपालिकालाई समृद्ध बनाउन मद्दत पुग्ने अध्यक्ष श्रीधर रोकामगरले विश्वास लिएका छन्। 'विस्तृत गुरुयोजना बनाएर नीति, कार्यक्रम र बजेट ल्याउँदैछौँ' ,उनले भने, 'आगामी आर्थिक वर्ष धेरैजसो ठूला योजना संचालन गर्ने तयारी थालेका छौँ।'
आम गाउँपालिकाबासीले परिवर्तनको महशुस गर्ने गरी आगामी योजनाहरु संचालन गर्ने सोँचमा रहेको समेत उनले उल्लेख गरे। अघिल्लो वर्ष सडक सञ्जाललाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको गाउँपालिकाले आउँदो वर्ष कृषि, पर्यटन, स्वास्थ्य र शैक्षिक क्षेत्रको गुणात्मक विकासलाई प्राथमिकता दिने तयारी रहेको समेत जानकारी गराए।
गाउँपालिकालाई समृद्ध बनाउन सबैले रचनात्मक सुझाव दिन समेत उनले पालिकाबासीलाई आग्रह गरेका छन्। असार २० गते नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेलले बताएका छन्।कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले गरेका थिए।