सांसदहरुले भनेः प्रदेश २ लाई मदिरामुक्त बनाऊँ
जनकपुर: प्रदेश नम्बर २ लाई मदिरामुक्त बनाउनुपर्ने आवाज प्रदेश सांसदहरुले बिहीबारको संसद बैठकमा उठाएका छन् । मदिरारले मानिसको स्वास्थ्यमा तथा समाजमै पनि नराम्रो असर परिरहेको जनाउँदै सांसदहरुले प्रदेश २ मा मदिरा प्रतिब्ध गरिनुपर्ने माग गरेका हुन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रका संसदीय दलका ने तथा हाल नेपाल कम्युनिस्ट पार्टीका सांसद रामकुमार मण्डलले प्रदेश २ लाई मदिरामुक्त बनाउन सभामुख मार्फत सरकारसँग माग गरेका हु्न्। त्यसैगरी सत्तारुढ दल संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका सांसदहरुले पनि प्रदेश २ लाई मदिरामुक्त बनाउन सभामुखमार्फत सरकारसँग माग गरेका छन् ।
घरेलु मदिरा पिउँदा धनुषाको एकै टोलका चारजनाको ज्यान गएपछि सांसदहरुले प्रदेशलाई नै मदिरामुक्त बनाइनुपर्ने माग गरेका हुन् । धनुषाको मला नगरपालिका–५ लक्कड निवासी दलित समुदायका बुधबार चारजनाको बुधबार मृत्यु भएको थियो।
मृत्यु हुनेमा ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान निवासी ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिएका थिए ।
घरेलु मदिरामा प्रयोग हुने अखाद्य वस्तुहरुका कारण उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिए पनि चिकित्सकहरुको जाँच र मेडिकल रिर्पोटपछि मात्रै मृत्युको कारणबारे खुलाउन सकिने प्रहरी नायब उपरीक्षक साहीले बताएका थिए।