खानेपानीमा दिसाका जिवाणु !

खानेपानीमा दिसाका जिवाणु !

ललितपुर : जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले पछिल्लो समय गरेको पानीको अनुगमनबाट जिल्लाका सतप्रतिशत ठाउँका पानीमा (दिसाजन्य पदार्थ) कोलीफर्मको मात्रा भेटिएको छ। जिल्ला जनस्वास्थ्यको प्रतिवेदन अनुसार विभिन्न स्थानका पानी परीक्षण गर्दा ७१.४ प्रतिशत पानीमा कोलीफर्म भेटिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन शंकर पौडेलले तीन वर्षको प्रतिवेदन प्रस्तुत गर्दै भने सन् २०१७–१८ मा जिल्लामा ७१.४ प्रतिशत पानीमा कोलीफर्म भेटिएको छ। त्यस्तै २०१६–१७ मा ५८.५ प्रतिशत र २०१५–१६ मा ६८.७ प्रतिशत पानीमा कोलीफर्म भेटिएको थियो।

पौेडेलले भने, ‘यो वर्ष ललितपुरमा ८४ वटा पानीका नमूना परीक्षण गर्दा ६० वटामा कोलीफर्म भेटियो।’

२०७४–०७५ मा चार चरणमा पानीको परीक्षण गरिएको थियो। पहिलो चरणमा २२ वटा पानीका नमूना परीक्षण गरिएकामध्ये १६ वटामा कोलीफर्म भेटिएको थियो। दोस्रो चरणमा १७ वटा नमूनामध्ये ५ वटामा, तेस्रो चरणमा ४५ मध्ये ३९ वटामा कोलीफर्म भेटिएको थियो। ‘८४ वटा पानीको नमूना मध्ये ६० वटामा कोलीफर्म भेटिनु भनेको पानी पिउन अयोग्य हुनु हो’, पौडेलले भने।

जिल्ला जनस्वास्थ्य कार्यालयका उपप्रशासक खगेश्वर गेलालले ०७३ मा मुलुकभर एक सय ६९ जना हैजाका बिरामी भएका र तीमध्ये एक सय १९ बिरामी ललितपुरमा फेला परेको बताए। ललितपुरका ठैब, गोदावरी, लुभु, लामाटार, पाटन बंगलामुखी आसपासका क्षेत्रमा हैजा भेटिएको थियो।

केही समय पहिला भैसेपाटीस्थित निर्माणाधीन एउटा घरमा २७ जना मजदुर एकैपटक बिरामी परेका थिए। त्यहाँको पानी परीक्षण गर्दा कोलीफर्म भेटिएको पौडेलले जानकारी दिए।

त्यस्तै, ललितपुरमा सञ्चालित विभिन्न खानेपानी आयोजनामा पनि कोलीफर्मको मात्रा भेटिएका हुन्। लुभुको तल्लो दोभान, माथिल्लो दोभान खानेपानी योजना लामाटार, चापाखर्क खानेपानी योजना, शशम्भु खानेपानी योजनालगायतमा पनि कोलीफर्म भेटिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भैंसेपाटीस्थित पानी ट्यांकीमा कोलीफर्म नभेटिए पनि सोही ट्यांकीबाट धारामा बाँडिएको पानीमा भने कोलीफर्म भेटिएको पौडेलको भनाइ छ।

बुङ्मतिको स्वास्थ्यचौकी नजिकै, चापागाउँ प्रहरी स्टेसन, सुनाकोठी स्वास्थ्यचौकी नजिकै, धापाखेल तथा ठेचोको सार्वजनिक धारा, नखु खोलामा सञ्चालित डीप बोरीङलगायतका ठाउँमा कोलीफर्म भेटिएका हुन्।

त्यस्तै पछिल्लो अनुगमनमा छम्पी, बडीखेल, गोदावरी, गोदामचौर, पाटनढोकाका सार्वजनिक धारा, बंगलामुखी, कृष्णमन्दिर, ढोलाछे, त्यागल, धोलाची, टंगाल, सानेपा, धोवीघाटलगायतका क्षेत्रमा पनि कोलीफर्म भेटिएका छन्।

एकदेखि ३ वटासम्म कोलीफर्मका जिवाणु भेटिए त्यसलाई खासै जोखिम मानिदैन। ‘जब दशवटा कोलीफर्मका जीवाणु भेटिन्छन् त्यो पानी पिउन अयोग्य मानिन्छ्’, पौडेलले भने। विश्व स्वास्थ्य संगठनका अनुसार पिउने पानीमा एउटा पनि कोलीफर्मको मात्रा भेटिनु हुँदैन छ।

सफा पानी भन्नाले हेर्दा सफा देखिनुपर्ने, गन्ध नआउने, नुनको मात्रा हुन नहुने तथा पानीको पाइप खिया लगाउने खालको हुनु हुँदैन।

पानीमा आइरन, आरसेनिक, म्याग्नेसियमलगायतका धातु मिसिएको हुनु हुँदैन। यी पदार्थ मिसिएका पानीले मृगौला फेल गराउने,, फोक्सो बिगार्ने, स्नायु प्रणालीलाई कमजोर बनाउने, छालाको समस्या देखिने, आँखा रातो हुने, कान पाक्ने र महिलामा पिसाव इन्फेक्सन हुने समस्या देखिने पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.