हात्ती र छावासहितको बथान गाउँ पस्यो

हात्ती र छावासहितको बथान गाउँ पस्यो

बिर्तामोड : बुधबार राति भारतबाट झापाको ज्यामिरगढीमा १८ वटा जंगली हात्ती पसेपछि स्थानीय त्रसित बनेका छन्। ज्यामिरगढीस्थित चियाबगान हुँदै बस्ती नजिकैको जंगलमा छावासहितका हात्तीको लावालस्कर नै देखिएको छ।

‘राति घरमा बाँधेको राँगा भैसीले दाम्लो चुँडाएर भाग्न थालेपछि उठेर हेर्दा हात्ती चियाबगानमा पस्दै गरेको देखियो, अहिलेसम्म यहाँ हात्ती आइपुगेको मलाई थाहा नै थिएन,’ ज्यामिरगढी १० का श्याम राजवंशीले भने।

मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा मध्यरातमा नै छिरेको हात्ती खेत बिचमा रहेको झाडीमा पसेपछि विहीबार दिनभर हात्ती हेर्नेको भीड लागेको थियो। हात्ती गाउँ नजिकैको जंगल र चिया बारीमा पसेको तर क्षति भने नगरेको वडाध्यक्ष गुणराज भट्टराईले बताए। भने,‘हात्तीले उपद्रो गरेको छैन।’

हात्तीको बथाननै आएको बारे राति नै गाउँलेबाट जानकारी आएको उनले बताए। हात्ती बसेको चिया बगानबाट करिब दुई किलोमिटरको दूरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेकाले बिहीबार दिनभर विद्यालयमा हात्तीकै कारण पढाइ बन्द गरियो।

‘विद्यार्थी सबै हात्ती हेर्न दौडिएपछि विद्यालयमा पढाइ नै भएन’, वडाध्यक्ष भट्टराईलेभने, ‘विद्यालय नजिकै हात्ती आएपछि विद्यालय आएका सबै विद्यार्थी हात्ती हेर्न गए।’ बस्ती नजिकै हात्ती आउँदा हात्ती भएको स्थानमा ठूलो भींड लागेको थियो। यसलाई नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले हात्तीको अवस्था हेरी जिल्ला वन कार्यालयसँगको समन्वयमा हात्ती आएकै स्थानतर्फ फर्काउने तयारी रहेको बताए।

मेचीनगरस्थित बाहुनडाँगीमा जंगली हात्तीलाई रोक्न तीन वर्षअघि लगाइएको तारबारले काम गर्न छाडेपछि हात्तीले पुनः उपद्रो गर्ने डरले बाहुनडाँगीका स्थानीय त्रसित बनेका छन्। तारबार लगाएपछि भारतबाट हात्तीको हुल आउन बन्द भए पनि अहिले तारबारमा विद्युत् बहन छाडेपछि हात्ती गाउँ पस्न थालेको स्थानीय विष्णु लिम्बूले बताए।

सौर्य विद्युत् प्रणालीबाट तारबारमा विद्युत् छोडिने हुँदा ब्याट्रीमा समस्या आएको हुन सक्ने जिल्ला वन कार्यालयको भनाइ छ।

जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले तारबार मर्मत र ब्याट्री परिवर्तन गर्ने बेला भएको बताए। मेची नदीको नेपालपट्टीको किनारमा १८ किलोमिटर क्षेत्रमा विश्व बैंकको आर्थिक सहयोगमा विद्युत्ीय तारबार लगाइएको छ। एक करोड ५० लाख रुपैयाँको लागतमा बनेको उक्त तारबारको उचित रेखदेख नभएका कारण तारबारले काम नगर्दा स्थानीय पुनः हात्तीको त्रासमा बस्न बाध्य भएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.