जिप खस्दा सात जनाको मृत्यु
ओखलढुंगा : सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ तिङ्लामा शुक्रबार बिहान भीरबाट जिप खस्दा सात जनाको मृत्यु भएको छ । सोलुखुम्बुको नेचा सल्यानबाट काठमाडौं हिंडेको बोलेरो पत्ताले हाटबजारतिर आउँदै गर्दा दुर्घटनामा परेको हो ।
ना१ज १८६० नम्बरको बोलेरो जिप बिहान साढे ७ बजे तिङ्लाको महादेव भीरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित जिपमा सवार सबै सात जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उदयपुर सिरिसेका जिप चालक २१ वर्षीय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, खोटाङ खाल्टेका २४ वर्षीया कोपिला बस्नेत कार्की, नेचा सल्यान–२ सोलुखुम्बुका ३५ वर्षीया उर्मिला कट्टेल बास्तोला र नेचा सल्यान–२ कै २५ वर्षीया सुशीला खड्का, ओखलढुंगाको चिसंखुगढी गाउँपालिका माम्खाका ४२ वर्षीय गाडीसाहु श्यामकुमार राई छन् ।
गम्भीर घाइते आठ वर्षीया बालिका सुष्मा खड्काको दुर्घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल फाप्लुमा लगिएको थियो । उपचारका क्रममा घाइते खड्काको दिउँसो ११ः१५ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए । दुर्घटनामा मृत्यु हुने सबैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ ।
‘निकै अफ्ठेरो ठाउँबाट जिप निकै तल खसेकाले सवार यात्रु बाँच्न सकेनन्’, प्रहरी निरीक्षक अधिकारीले बताए ।
जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो । कच्ची र साँघुरो बाटो भएकाले चिप्लिएर जिप भीरबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।