नेतृत्वमा अड्कियो राप्रपा एकता

नेतृत्वमा अड्कियो राप्रपा एकता

काठमाडौं : राप्रपा धारका दलबीच पार्टी एकता लागि सुरु भएको वार्ता नेतृत्वमा आएर अड्किएको छ । पार्टीको वैचारिक र सैद्धान्तिक विषयमा एक ठाउँमै रहे पनि शीर्ष नेताहरूबीचको व्यक्तिगत टकराव, नेतृत्व गर्ने होडबाजीका कारण पटक पटक विभाजित हुँदै आएका राप्रपाधारका दलबीच अहिले पनि नेतृत्वकै विषयमा कुरा नमिलेको वार्ता समितिमा सहभागी राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए । उनले भने, ‘हामीबीच पार्टी एकता हुनुपर्छ भन्नेमा कुनै विवाद छैन तर नेतृत्व चयनको आधार कस्तो हुने भन्नेमा कुरा मिल्न सकेको छैन ।’ अघिल्लो हप्ताको मंगलबार दुई राप्रपाद्वारा गठित वार्ता समितिको पहिलो बैठक बसेपछि दोस्रो बैठक बस्न सकेको छैन ।

राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवं वार्ता समितिका संयोजक दीपक बोहराको पहलमा पहिलो चरणको वार्ता भएको थियो । एक साताभित्रै दोस्रो चरणको वार्ता गर्ने भनिए पनि वार्ता अनिश्चित बनेको छ । राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं वार्ता समिति सदस्य सुनीलबहादुर थापाले छिट्टै पार्टी एकताको आधार तय गरिने दाबी गरे । उनले भने, ‘हतारमा निर्णय गरेर हुँदैन । हामीबीच सकारात्मक छलफल भइरहेको छ । यस बीचमा विश्वकप, विभिन्न धार्मिक कार्यक्रमले गर्दा वार्ता समितिको बैठक बस्न नसकेको हो ।’ उनले पहिलो चरणको वार्ता आफ्नो पार्टीको सक्रियतामा बसेको उल्लेख गर्दै दोस्रो चरणको वार्ताका लागि भने राप्रपाका नेताले समय तोक्ने जनाए ।

राप्रपाका प्रवक्ता सुशील   श्रेष्ठले नेताबीच व्यक्तिगत रूपमा अनौपचारिक छलफल भइरहेको बताए । उनले भने, ‘नेताबीच अनौपचारिक छलफल त जारी छ तर औपचारिक रूपमा वार्तामा बस्न समय लाग्न सक्छ । एकताका लागि हामीले पर्याप्त छलफल गर्न आवश्यक छ ।’ राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी गरी तीन धारमा राप्रपा विभाजन भए पनि अहिले भने राप्रपा र राप्रपा प्रजातान्त्रिकले राप्रपा धारसहित विचार मिल्ने अन्य दल र व्यक्तिलाई पनि एकतामा समेट्न भन्दै वार्ता समिति गठन गरेका हुन् । वैचारिक र सैद्धान्तिक रूपमा दुई दलबीच मतभिन्नता नरहे पनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमै वार्ता समितिमा कुरा मिल्न नसकेको हो ।

एकता महाधिवेशनबाट पारित पार्टीको सिद्धान्तलाई नै स्वीकार गरेर जान राप्रपा प्रजातान्त्रिक तयार रहे पनि कमल थापाको नेतृत्वमा पार्टी एकता गर्न नसकिने उसको अडान छ । ‘हिजो थापाकै व्यवहार र कार्यशैलीका कारण पार्टी विभाजन भएको हो, अब फेरि उनकै नेतृत्वलाई त कसरी स्वीकार गर्न सकिन्छ र ? ’ राप्रपा प्रजातान्त्रिकका एक नेताले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कि उहाँ नेतृत्व छाड्न तयार हुनुपर्‍यो र पशुपति शम्शेर राणालाई अध्यक्ष बनाएर एकतामा जानुपर्‍यो ।’ उसो त राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकताका लागि आफू अध्यक्ष छाड्न तयार रहेको यसअघि नै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । राप्रपाका प्रवक्ता राजेन्द्र गुरुङले एकीकृत पार्टीको नेतृत्व कस्तो हुने भन्नेमा पनि छलफल भइरहेको जनाए ।

उनले भने, ‘एकल, सामूहिक वा सक्रिय कस्तो नेतृत्व बनाउने भन्नेमा छलफल जारी छ, पार्टी एकताका लागि सबैलाई मान्य हुने विधि अपनाउँछौं ।’ २७ वर्षअघि स्थापना भएको राप्रपा अहिलेसम्म ६ भन्दा बढी पटक विभाजित भइसकेको छ । निर्वाचनको मुखमा विभाजन हुँदै आएको राप्रपा निर्वाचनमा पराजय भएपछि भने फेरि एकताका लागि जुट्ने गरेका छन् । अहिले पनि प्रदेश र संघीय निर्वाचनको संघारमा विभाजित भएका उनीहरू निर्वाचनमा नराम्ररी पराजित भएपछि एकतामा जुटेका हुन् । दुवै दलले पराजयको कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.