आइसल्यान्डको आँट

आइसल्यान्डको आँट

आइसल्यान्डका राष्ट्रिय टोली अन्य कुनै पेसाबाट सापटी ल्याएका जस्ता देखिन्छन्। आइसल्यान्डका प्रशिक्षक हेमिर हलग्रिमसन पेसाले डेन्टिस्ट हुन् भने मुख्य गोलरक्षक हानेस थोर हाल्डोर्सन फिल्म तथा म्युजिक भिडियो निर्देशक हुन्।


रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबल भर्खरै नकआउट चरणको रोमाञ्चकतातर्फ पुग्दैछ। त्यसअघि नै रुस विश्वकपबाट एउटा इतिहास भने छुटेको छ।

जनसंख्याको हिसाबले विश्वकप खेल्ने सबैभन्दा सानो देश आइसल्यान्ड प्रतियोगिताको समूहगत चरणबाटै घर फर्किएको छ। यसको अर्थ रुस विश्वकपको नकआउट चरणमा आइसल्यान्डको फरक फुटबल शैलीसँगै ‘थन्डर क्ल्याप सेलिब्रेसन’ पनि देखिने छैन।

यद्यपि रुस विश्वकपमा आइसल्यान्डले देखाएको आँट र प्रदर्शनले केही फुटबल पारखीहरू अझै पनि रोमाञ्चित हुनेछन्। विश्वकपको आफ्नो डेब्यु खेलमै दुई पटक उपाधि जितेको लियोनल मेसीको टोली अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेको आइसल्यान्डले फेरि एक पटक आफूलाई ठूला प्रतियोगिताका लागि तयार रहेको सन्देश दियो। केवल दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप खेलेको आइसल्यान्डले त्योभन्दा राम्रो नतिजा के निकालोस् ?

आइसल्यान्डसँगको त्यही बराबरी र क्रोएसियासँगको पराजयले त अर्जेन्टिनालई रुस विश्वकपको प्रिक्वार्टरफाइनल निक्कै मुस्किल देखिएको थियो। यद्यपि अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गरेपछि अर्जेन्टिना समूह उपविजेता बन्दै प्रतियोगिताको अन्तिम १६ मा पुग्यो। बलियो क्रोएसियासँग २–१ ले पराजित भएपछि आइसल्यान्ड आफ्नो पहिलो विश्वकप सहभागिताको समूहगत चरणबाटै घर फर्किन बाध्य बन्यो।

०००

रुस विश्वकप फुटबलमा आइसल्यान्डको प्रदर्शनभन्दा अन्य प्रसंग अझ रोचक छन्, जसले यो लेखलाई पनि रोचक बनाउन मद्दत गर्नेछ। आइसल्यान्ड यस्तो देश हो, जहाँ पूर्णकालीन फुटबलर औंलामा गन्न सकिने छन्।

त्यसैले, उसको राष्ट्रिय टोली अन्य कुनै पेसाबाट सापटी ल्याएका जस्ता देखिन्छन्। आइसल्यान्डका प्रशिक्षक हेमिर हलग्रिमसन पेसाले डेन्टिस्ट हुन्। उनकै प्रशिक्षणमा आइसल्यान्डले पहिलो पटक विश्वकपका लागि छनोट पक्का गर्ने र खेल्ने ऐतिहासिक उपलब्धि हात पार्‍यो।

टोलीका मुख्य गोलरक्षक हानेस थोर हाल्डोर्सन फिल्म तथा म्युजिक भिडियो निर्देशक हुन्। उनले निर्देशन गरेको ‘नेभर फर्गेट’ बोलको गीत युरोपमै चर्चित बनेको थियो, जसले सन् २०१२ को युरोभिजन संगीत प्रतियोगितामा आइसल्यान्डबाट पहिलो पटक प्रवेश पाएको थियो।

प्रशिक्षक हलग्रिमसनका लागि चिकित्सा र गोलरक्षक हाल्डोर्सनका लागि फिल्म÷गीत निर्देशन पहिलो पेसा हो। यी दुवैले प्रशिक्षक र खेलाडी बन्नुअघि आफ्नो यी पेसामा बढी मेहनत गरेका छन्। विश्वकप सम्पन्न भएपछि प्रशिक्षक हलग्रिमसन आफ्नो आँखा डेन्टल क्लिनिक र गोलरक्षक माल्डोर्सन आफ्नो फिल्म÷गीत निर्देशन गर्न सुटिङ स्पटमा पुग्नेछन्। अनि फेरि अन्तर्राष्ट्रिय प्रतियोगिताअघि त्यसको तयारीका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन फर्कने छन्।

उनीहरूजस्तै टोलीका महŒवपूर्ण सदस्य एवं रक्षक बिर्किर मार साइभर्सनको पनि मुख्य पेसा अर्कै छ। उनी आइसल्यान्डको राजधानी रेक्जाभिकस्थित एक नुन फ्याक्ट्रीमा काम गर्छन्। आइसल्यान्डले आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता स्वरूप सन् २०१६ को युरोकप फुटबल खेल्दा टोलीको प्रायः सबै खेल खेलेका उनी राष्ट्रिय टोलीको नियमित प्रशिक्षणबाहेक नुन फ्याक्ट्रीमा बिहान ९ देखि ५ बजेसम्मको ड्युटी गर्छन्। टोली विश्वकपका लागि अन्तिम तयारीमा जुटिरहँदासमेत साइभर्सन नुन फ्याक्ट्रीमै काम गरिरहेको तस्बिर र फुटेज भाइरल बनेको थियो।

आइसल्यान्डका खेलाडीका लागि फुटबलबाहेकको अर्काे पेसा रोज्नु रहरभन्दा पनि बाध्यता हो। आइसल्यान्डमा १९औं शताब्दीको मध्यबाटै फुटबल सुरु भए पनि त्यसमा प्रगति गर्न सकेन। त्यहाँ अझै पनि महिला र पुरुष गरी मुस्किलले दुई हजारमात्रै फुटबलर छन्।

युरोपेली फुटबलको विकासको रवाफले लामो समयसम्म छुन नसकेको आइसल्यान्डमा अझै पनि पूर्ण व्यावसायिक लिग छैन। आइसल्यान्डका खेलाडीहरू अझै पनि घरमा अर्धव्यावसायिक लिगमा खेल्न बाध्य छन्। विदेशी क्लबसँग अनुबन्धित भएका सीमित खेलाडीले मात्रै नियमित रूपमा फुटबल खेल्ने अवसर पाउने गर्छन्। त्यसैले आइसल्यान्डका फुटबलरहरू जीविकोपार्जनका लागि फुटबलबाहेक अन्य पेसा वा जागिरमा संलग्न हुने गर्छन्।

घरेलु फुटबलको कमजोर संरचनाका बाबजुद पनि आइसल्यान्डले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा आफूलाई सशक्त रूमा प्रस्तुत गर्दै आइरहेको छ। सन् २०१० यता घरमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्न थालेको आइसल्यान्डको सिनियर राष्ट्रिय टोलीले पनि घरबाहिरको अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा आफूलाई बलियो उभ्याउन सफल भएको छ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलको छनोट नजिक पुगेर चुकेको आइसल्यान्डले त्यसको दुई वर्षपछि भएको युरोकप भने खेलेरै छाड्यो, जुन आइसल्यान्डको पहिलो अन्तर्राष्ट्रिय ठूलो प्रतियोगिता थियो। आइसल्यान्डले त्यसमा सनसनीपूर्ण प्रदर्शन पनि गर्‍यो।

समूहगत चरणको आफ्नो पहिलो खेलमै पोर्चुगललाई बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वार्टरफाइनल चरणमा त इङ्ल्यान्डलाई पराजित नै गर्‍यो। आइसल्यान्डले नेदरल्यान्ड्सलाई त युरोकपको छनोट प्रतियोगितामै पराजित गरिसकेको थियो। त्यहीपछि नै हो, आइसल्यान्डले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो नामको पछाडि जोडिएको अन्डरडगको ट्याग हटाएर टपडगको ट्याग जोड्न सफल भएको पनि।

अन्तर्राष्ट्रिय फुटबलकै शक्ति राष्ट्रहरू रहने युरोकपको यो प्रदर्शनले आइसल्यान्ड र उसको थन्डर क्ल्याप सेलेब्रेसनले पनि निक्कै चर्चा पायो। टोली समूहगत चरणबाटै बाहिरिँदा रुसमा भने आइसल्यान्डको थन्डर क्ल्यापको चर्चा लम्बिन पाएन। यद्यपि यही प्रदर्शनपछि आइसल्यान्डले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो यात्रा फेरि दोहोर्‍याउने संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.