छाडा चौपायाका कारण दुर्घटना
ललितपुर : चक्रपथ निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले सञ्चालन गरिरहेको अलकत्रा फ्याक्ट्रीमा परी तीनवटा चौपाया घाइते भएपछि छाडा पशुको व्यवस्थापनको विषय उठेको छ। छाडा चौपायाका कारण दुर्घटना बढेपछि कान्जि हाउस (छाडापशु व्यवस्थापन गर्ने घर) बनाउनु पर्ने माग उठेको छ।
ललितपुर महानगरपालिका-४ बागडोल मलपोखरीमा अलकत्रा फ्याक्ट्रीमा परी गम्भीर घाइते भएका तीनवटा बाच्छाको उपचार गरिरहेको ‘स्नेहा केयर’ का कार्यकारी निर्देशक कपिलमणि काफ्लेले चिनियाँ कम्पनीले निश्चित क्षतिपूर्ति दिन तयार भएपनि क्षतिपूर्ति लिन आफू सहमत नभएको अन्नपूर्णलाई बताए।
उनले भने ‘क्षतिपूर्ति लिएर यस्ता मुद्दा मिलाउँदा यस्ता घटना बारम्बार दोहोरिन सक्छन्।’
चिनियाँ कम्पनीमाथि कारबाही माग गरेपछि यो मुद्दा सडक विभागले ह्यान्डल गर्छु भनेर लिएको उनले सुनाए। प्रहरी अनुसन्धानले जानीजानी यो घटना गराएको नदेखाए पनि यस्ता घटना नदोहोरियोस भनेर क्षतिपूर्ति नलिएको भनाइ छ।
‘उनीहरूले निको नभइन्जेल औषधि उपचारको जिम्मा लिन मानेनन्’ काफ्लेले भने। स्नेहा केयरमा दैनिक एउटा केस आउने गरेको छ। यस्ता घटनालाई व्यवस्थित गर्न कान्जिहाउसले केही मात्रामा सहयोग गरे पनि चौपाया पाल्ने नियममा कडाइ गर्नुपर्ने उनको तर्क छ।
‘किसानलाई नियममा नबाँधेसम्म सडकमा चौपायाहरू छाडा छाडिने क्रम रोकिदैन’ उनले भने। यो विषय जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यो विषयमा प्रहरीलाई स्थलगत अनुसन्धान गर्न निर्देशन दिइएको जानकारी दिए।
‘अलकत्रा भण्डारण गरिँदै आएको स्थानलाई व्यवस्थित गर्नुपर्ने थियो गरेनन्’ सीडिओ पन्थले भने, ‘चौपाया छाडा छाड्ने मालिकको खोजी कार्य भइरहेको छ।’
ललितपुर ट्राफिक प्रहरी इन्सपेक्टर सिताराम हाथेछुका अनुसार पछिल्लो दुई सातामा तीनवटा दुर्घटना चौपायाकै कारण भएका छन्। उनले भने, ‘एउटा घटनामा गाई पनि म¥यो, अरुमा मान्छे आफंै ठोक्किन पुगेका छन्। राति दू्रतगतिमा सवारी चलाउँदा धेरै दुर्घटना भएका छन्।’
चक्रपथ खण्डका निर्माणधीन सडकमा बत्ती नहुँदा तथा राति चौपायासँग ठोक्किएर धेरै दुर्घटना भएका छन्। कुपन्डोल, ग्वार्को, बालकुमारीलगायत खोला छेउछाउमा धेरै चौपाया भेटिने गरेका छन्। कुकुरको तुलनामा चौपायबाट धेरै दुर्घटना हुने गरेका छन्।
छाडा चौपाया नियन्त्रणका लागि यसपटक महानगरपालिकाको नीति तथा कार्यक्रममा समेटिने ४ नम्बर वडाका अध्यक्ष नारायण केसीले बताए।‘सडकमा पशुले समस्या दिएका छन्। कान्जि हाउसको विकल्प छैन’, उनले भने।
जिल्ला पशु कार्यालयका ललितपुरका प्रमुख डाक्टर मोगल प्रसाद शाहले सडकका छाडा चौपायलाई व्यवस्थित गर्ने अभियान चलाइरहेको जानकारी दिए।
पशुसेवा कल्याणकारी निर्देशिका २०७३ मा पशु ढुवानी गर्दा कष्ट नदिने, समयमा दाना पानी खुवाउनुपर्ने, घाउचोट लागेमा उपचार गर्ने, पशुलाई पिट्न, कुटन र अनाहकमा दुख नदिनेलगायत पशु स्वतन्त्रताका विषयमा उल्लेख छ।
गोदावरी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यसैबर्ष कान्जि हाउस व्यवस्थापन गर्ने विषय समेटेको छ।