कालोपत्रेपछि यात्रामा सहज

कालोपत्रेपछि यात्रामा सहज

प्युठान : प्युठानका ग्रामीण क्षेत्र जोड्ने सडक निर्माण भएपछि गाउँको उत्पादन सहर पठाउन किसानलाई सहज भएको छ । कच्ची सडक हिउँदमा मात्रै सञ्चालन हुँदै आएका थिए । तर, अहिले घरअगाडिकै सडक कालोपत्रे हुँदा स्थानीय हर्षित भएका छन् ।

मुख्य सडकबाहेक जिल्लाका भित्री सडक कालोपत्रे भएका थिएनन् । खलंगा–चुँजाठाटी–जोगिटारी सडकअन्तर्गत पहिलो चरणमा १३ किलोमिटर र दोस्रो चरणमा ६ किलोमिटर सडक कालोपत्रे गर्र्ने काम भइरहेको छ ।

सालठाँटीको सिमलटारी र जोगिटारी बीचमा काम भइरहेको छ । बर्खामा दुःख पाएका सदरमुकाम खलंगासहित व्यापारिक केन्द्र विजुवार पुग्ने स्थानीय यसपालि हौसिएका हुन् । ‘हिलो र धुलोले यात्रा गर्न धेरै कठिन थियो’, ऐरावती गाउँपालिका–६ हाँडीखोलाका स्थानीय रामप्रसाद पोखरेलले भने, ‘सडक कालोपत्रे भएको देख्दा खुसी लागेको छ ।’

कालोपत्रे सडकले मल्लरानी गाउँपालिकामा पर्ने खलंगा, चुँजाठाटी, धरमपानी, बिजुली, रस्पुरकोट र ऐरावती गाउँपालिकासहित अर्घाखाँचीका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली दर्शन गर्ने तीर्थालुहरू यसै सडक भएर ओहोरदोहोर गर्छन् । जोगिटारीको खोलामा पक्कीपुल बनेपछि वर्षभरि नै यातायात चल्नेमा स्थानीय अझ ढुक्क छन् । निर्माण कम्पनीले निर्धारित समयमा लक्ष्यअनुसार भने सडक कालोपत्रे नगरेको पोखरेलले जानकारी गराए । बाटो राम्रो भएपछि खेतीपाती गर्ने हौसला बढेको बिजुलीका स्थानीय किसान डोरबहादुर खड्काले बताए । ‘वर्षौंदेखि व्यवसायिक रूपमा कागती खेती गरिरहेको छु’, उनले भने, ‘बजार लैजान सजिलो हुने भयो ।’

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण परियोजना (एसएनआरटीपी)ले विश्व बैंक र नेपाल सरकारको सहयोगमा सडक (वटासिल) कालोपत्रे गर्न थालेको हो । प्राथमिकतामा परेका जिल्लाका चार सडकअन्तर्गत उक्त सडक वटासिल गरिएको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख जिल्ला इन्जिनियर चन्द्रबहादुर शाहले जानकारी दिए । दुई खण्डमा विभाजन गरेर काम थालिएको उनले बताए । हालसम्म तीन किलोमिटर बढी सडक वटासिल भइसकेको उनको भनाइ छ ।

‘५० प्रतिशत वित्तीय र ७० प्रतिशत भौतिक प्रगति भइसकेको छ’, शाहले भने, ‘लक्ष्यअनुसार यसवर्ष सबै काम हुन सकेन । अर्को वर्ष पूरा गर्छौं ।’ खलंगादेखि जोगिटारीसम्म १९ किलोमिटर वटासिल गर्ने योजना रहेको उनले बताए । मौसम अनुकूल भए चालु आर्थिक वर्षसम्म करिब १० किलोमिटर सकड वटासिल गर्ने योजना रहेको उनले उल्लेख गरे । वटासिल सडकका लागि झण्डै १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडक क्षेत्रमा पर्ने ९७ जग्गाधनीलाई प्रतिव्यक्ति पा“च हजार रुपैयाँका दरले रकम दिएको छ । मल्लरानी गाउँपालिकाको बञ्चरेस्थित ६ सय मिटरमा घरहरू रहेको क्षेत्रबाहेक अन्यत्र सबै स्थानमा सडक चौडा बनाइएको छ ।

लोहनी एन्ड ब्रर्दश काठमाडांैले ठेक्कामार्फत निर्माणको जिम्मा लिएको छ । ०७२ असोज २७ गते कम्पनीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, निर्धारित समयमा काम पूरा नगरेपछि स्थानीय निराश भएका थिए । हाल निर्माणले गति लिएपछि नागरिक खुसी छन् । मधेश आन्दोलन, नाकाबन्दी, प्रदेश आन्दोलन, समन्वय समितिले निर्धारित समयमा काम गर्ने क्षेत्र निर्धारण नगर्दा निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माण कम्पनीले चुजाठाँटीमा कार्यालय खोलेर दुई प्याकेजमा काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.