कम्युटर शिक्षामा बढ्दो आकर्षण
ओखलढुंगाः चिसंखुगढी गाउँपालिका-३ दियालेमा वडा कार्यालयले कम्युटर कक्षा सञ्चालन गर्ने भएपछि पढ्ने विद्यार्थी छान्न परीक्षा नै लिनुपर्यो। गाउँमा प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्न सुरु गरिएको कम्युटर कक्षामा अहिले ३२ जना विद्यार्थी अध्ययनरत छन्।
गाउँमा बिजुली पुगेपछि प्रविधिप्रति सामान्य नागरिकको पनि चासो देखिएको छ। कम्युटरबिना अब कुनै काम नहुने भएपछि वडाभित्रका युवा युवतीलाई लक्षित गरेर कक्षा सञ्चालन गरिएको वडा अध्यक्ष गंगा श्रेष्ठले बताए।उनले भने, 'इमेल, इन्टरनेट र कम्युटरबिना त काम नै नहुने अवस्था आइसक्यो, यसैलाई ध्यान दिएर कक्षा सञ्चालन गरिएको हो।'
गाउँमै कम्युटर पढ्न पाउँदा सहज भएको कक्षामा सहभागी सुनिता ढुंगानाले बताइन्। गाउँमै कम्युटर कक्षा सुरु भएपछि अभिभावक पनि खुसी छन्। चिसंखुगढी गाउँपालिकामै पहिलो पटक वडा नं. ३ मा कम्युटर कक्षा सञ्चालन गरिएको हो।