प्रदेश अर्थमन्त्रीलाई आफ्नै क्षेत्रमा कालोझण्डा
धनगढी : १६ दिन लगाएर प्रतिपक्षलाई फकाउदै बजेट पास गराएका प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई बजेटको समानुपातिक वितरण नभएको भन्दै आफ्नै निर्वाचन क्षेत्रका जनताले कालोझण्डा देखाएर विरोध गरेका छन्।
१६ दिन लगाएर विपक्षीलाई फकाएर बजेट पास गराएका मन्त्री बोहरालाई उनकै निर्वाचन क्षेत्र अछाम १ को (ख) मा कार्यकर्ताले कालोझण्डा देखाएका हुन्।
आइतबार अछामको रामारोसन गाउँपालिकाको मुजाबगर पुगेका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई चुनावका बेला गरेका प्रतिवद्धता अनुसार पर्यटकीय क्षेत्र रामारोसनका लागि बजेट विनियोजन नगरेको, सहिद परिवार, घाइते र अपांगका लागि बजेटमा व्यवस्था नगरेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका हुन्। अछामको रामारोसन गाउँपालिका तत्कालीन माओवादीको आधार इलाका हो। त्यहाँ ५६ परिवार द्वन्द्वपीडित बसोबास गर्छन्।
‘चुनावका बेला गरिएका प्रतिवद्धता बजेटमा समावेश भएनन्, अर्थमन्त्रीले आफ्नो क्षेत्र बान्नीगडीमा मात्रै साढे १४ करोडका योजना पारे, आफ्ना स्वकीय सचिवको वडा मलाठीकोटमा १० करोडका योजना पारे, अनी अरु ठाउँमा योजना नै परेनन, त्यसैले आफ्नै पार्टीका मन्त्रीलाई कालोझण्डा देखाउन बाध्य भयौं’, साविकको रामारोसन गाविसका माओवादी इञ्चार्ज सुशील साउदले भने।
साविकको रामारोसन गाउँपालिकाका एमाले इञ्चार्ज मानबहादुर गिरीले पनि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले आफूहरुले तयार पारेको ज्ञापनसमेत नबुझेर जान थालेपछि कालोझण्डा देखाउन बाध्य भएको बताए। उनले चुनावका बेला मन्त्री बोहराले जयगढ–रामारोसन पर्यटकीय सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाए पनि अहिलेको प्रदेशको बजेटमा त्यो योजना पनि समावेश नभएको आरोप लगाए।