प्रदेश अर्थमन्त्रीलाई आफ्नै क्षेत्रमा कालोझन्डा
धनगढी : १६ दिन लगाएर प्रतिपक्षलाई फकाउँदै बजेट पास गराएका प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई बजेटको समानुपातिक वितरण नभएको भन्दै आफ्नै निर्वाचन क्षेत्रका जनताले कालोझन्डा देखाएर विरोध गरेका छन् । १६ दिन लगाएर विपक्षीलाई फकाएर बजेट पास गराएका मन्त्री बोहरालाई उनकै निर्वाचन क्षेत्र अछाम–१ को (ख) निर्वाचन क्षेत्रमा कार्यकर्ताले कालोझन्डा देखाएका हुन् ।
आइतबार अछामको रामारोसन गाउँपालिकाको मुजाबगर पुगेका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई चुनावका बेला गरेका प्रतिबद्धताअनुसार पर्यटकीय क्षेत्र रामारोसनका लागि बजेट विनियोजन नगरेको, सहिद परिवार, घाइते र अपांगका लागि बजेटमा व्यवस्था नगरेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले कालोझन्डा देखाएका हुन् । अछामको रामारोसन गाउँपालिका तत्कालीन माओवादीको आधार इलाका हो । त्यहाँ ५६ परिवार द्वन्द्वपीडित बसोबास गर्छन् ।
‘चुनावका बेला गरिएका प्रतिबद्धता बजेटमा समावेश भएनन्, अर्थमन्त्रीले आफ्नो क्षेत्र बान्नीगडीमा मात्रै साढे १४ करोडका योजना पारे, आफ्ना स्वकीय सचिवको वडा मलाठीकोटमा १० करोडका योजना पारे, अनि अरू ठाउँमा योजना नै परेनन्, त्यसैले आफ्नै पार्टीका मन्त्रीलाई कालोझन्डा देखाउन बाध्य भयौं’, साविकको रामारोसन गाविसका माओवादी इन्चार्ज सुशील साउदले भने ।
उनले द्वन्दका बेला रामारोसन क्षेत्रमा राज्य पक्षले एकदमै दमन गरेकाले त्यहाँ सहिद परिवार, युद्धमा घाइते भएका व्यक्ति र अपांगता भएका व्यक्ति रहे पनि बजेटमा कुनै व्यवस्था नभएको आरोप लगाए ।
साविकको रामारोसन गाउँपालिकाका एमाले इन्चार्ज मानबहादुर गिरीले पनि आर्थिक मामिला तथा योजनामन्त्री बोहराले आफूहरूले तयार पारेको ज्ञापनसमेत नबुझेर जान थालेपछि कालोझन्डा देखाउन बाध्य भएको बताए । उनले चुनावका बेला मन्त्री बोहराले जयगढ–रामारोसन पर्यटकीय सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए पनि अहिलेको प्रदेशको बजेटमा त्यो योजना पनि समावेश नभएको आरोप लगाए ।
‘रामारोसन प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय सम्भावना भएको ठाउँ हो, त्यहाँ रहेको रामारोसन ताल, सीमसार क्षेत्र संरक्षणका लागि पनि बजेटमा योजना परेन’ गिरीले गुनासो गरे । ‘आफ्नै पार्टीका मन्त्रीले कार्यकर्तालाई नभेटी हिँड्न थालेपछि कालोझन्डा देखाएका हौँ’, उनले भने ।