४१० मेगावाटको नलगाडमा लगानी गर्न जापानसँग प्रस्ताव
काठमाडौँ: सरकारले जजरकोटमा निर्माण हुन लागेको नगलाड जलविद्युत आयोजनमा लगानीका लागि जापानसँग प्रस्ताव गरेको छ। पहुँच मार्ग निर्माण सुरु गरिएको यो ४१० मेगावाटको यो आयोजनाका लागि स्रोत जुटाउने पहल थालेको सरकारले जापान सरकारसँग लगानीका लागि प्रस्ताव गरेको हो ।
ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनले नेपालका लागि जापानी राजदूत मासामिची साईगोसँगको सोमबार भएको भेटमा यस्तो प्रस्ताव गरेका हु्न् । नेपालको जलविद्युत्मा अथाह सम्भावना रहेको भन्दै मन्त्री पुनले नलगाडमा लगानीका लागि प्रस्ताव गरेका हुन् ।
भेटमा मन्त्री पुनले ऊर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागि सहयोगको आग्रह गरेका हुन् । ऊर्जा मन्त्री पुनका प्रेस सल्लाहकार रोशन खड्काका अनुसार जाजरकोटस्थित नलगाड जलविद्युत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन जापानी राजदूतलाई आग्रह गरिएको हो ।
'हामीले ऊर्जा र जलविद्युतको क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण,सहयोग र लगानीको अपेक्षा गरेका छौं', मन्त्री पुले भेटका क्रममा भने ।
पुनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युतमा लगानीका लागि वातावरण बनाइदिनसमेत राजदूत साईगोसँग आग्रह गरेका छन् । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो साझेदार मुलुक भएको भन्दै आगामी दिनमासमेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
भेटमा जापानी राजदूत साईगोले नेपाल र जापानको सम्बन्ध विगतदेखि सुमधुर रहेको भन्दै आगामी दिनमासमेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राखे । उनले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान इच्छुक रहेको बताए ।
जापानी राजदूत साईगोलले जापानले कुलेखानी-१, कुलेखानी-२ र कालिगण्डकी 'ए' मा समेत सहयोग गरेको जानकारी दिादै आगामी दिनमासमेत ऊर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको बताए ।