‘मेरो लडाइँ जारी छ’
जुम्ला : चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीले माग पूरा नभएसम्म आफ्नो लडाइँ जारी रहने दोहो¥याएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले भने, ‘चिकित्सा शिक्षा विधेयक सरकारले मेडिकल माफियाका पक्षमा ल्याउन खोजेको छ, मैले त्यसको विरोध गरेको हुँ।’
डा. केसीले शिक्षा र स्वास्थ्यजस्ता सेवामूलक क्षेत्रलाई दलहरूले व्यवसायीकरण गर्न खोजेको भन्दै आफूले पद्धति बसाल्न खोजेको जिकिर गरे। ‘तीन करोड जनताको हितका लागि मैले उठाएको माग सम्बोधन नभएसम्म मेरो लडाइँ जारी रहनेछ’, उनले भने।
यता, डा. केसीलाई कैदी सरहको व्यवहार गरिएको भन्दै जुम्ला नागरिक समाजले आपत्ति जनाएको छ। ‘कैदीलाई समेत आधारभूत आवश्यकतासहित थुनामा राखिन्छ तर डा. केसीलाई पानी चुहिने अँध्यारो हलमा अव्यवस्थित तरिकाले राख्नु राम्रो होइन’, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘विरोध प्रदर्शन हुने सार्वजनिक स्थललाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले नागरिक अधिकार कुण्ठित पारेको छ।’
तीन दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिगिँ्रदै गएको भन्दै चिकित्सकहरूले समेत आपत्ति जनाएका छन्। उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सार्न चिकित्सकको सुझाव छ। केसीको उपचारमा संलग्न डा. प्रवीण गिरीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ।
‘केसीको स्वास्थ्य अवस्था हरेक दिन बिग्रिँदै गएको छ’, उनले भने, ‘चिसोसँगै उनलाई हातखुट्टा बाँउडिने, सुन्निने, रिंगटा लाग्ने, टाउको दुख्ने, ढुकढुकी बढ्नेजस्ता स्वास्थ्य समस्या बढ्दै गएका छन्।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बारम्बार कभर्ड हलमै गएर केसीको स्वास्थ्य अवस्था बुझ्न अफ्ठ्यारो भएको बताएको छ। ठाँउ अव्यवस्थित र विद्युत् नभएकाले आवश्यक स्वास्थ्य परीक्षणका उपकरण जडान गर्न नसकिएको डाक्टरहरूले बताएका छन्।