ढल फुटेर महापालमा दुर्गन्धित
ललितपुर : ललितपुर महानगरपालिका वडा नम्बर १६ महापालमा चालिस वर्ष अघिदेखि ‘विद्या पुस्तक भण्डार’ सञ्चालन गर्दै आएका शरणगोपाल डंगोल सोमबार पसलमा बिलखबन्दमा परेको देखिए । कारण थियो, ‘पसलै अगाडि ढल निकासको अभावले बनेको तलाउ ।’ ढलको फोहोर पानी जमेर बनेको तलाउले दिनभरको व्यापार चौपट भएको दुखेसो डंगोलको थियो ।
ललितपुरको पर्यटकीयस्थल पाटन दरबार स्वायरसँगै जोडिएको महापालमा ढल निकासको व्यवस्थापन नभएको वर्षौ भइसकेको डंगोलको अनुभव छ । विगतमा विभिन्न निकायले ढल व्यवस्थापनका लागि छलफल गरे पनि यद्यपी समस्या समाधान नभएको अनुभव डंगोलसँग छ ।
उनले भने, ‘लगातार दश मिनेट पानी प¥यो भने ढलको फोहोर जम्म सुरु भइहाल्छ । निकास हुन घन्टौ लाग्छ ।’
ठूलो पानी दर्केपछि पसलमा पानी छिरेर वर्षेनी पुस्तक बिगार्ने गरेको तितो अनुभव उनीसँग छ । उनको पसल छेवैमा सञ्चालित ‘दीपक स्टोर’ को हालत पनि उस्तै छ । दशकौंदेखि किराना पसल चलाइरहेको दीपक अमात्यले यो ठाउँ गहिरो भएका कारण बंगलामुखी, गाभाहल, इखल्को, कृष्णमन्दिरलगायतका क्षेत्रका पानी आउने जानकारी दिए ।
अमात्यका अनुसार सोमबार ११ बजेदेखि सुरु भएको जाम मध्यह्न दुई बजेसम्म खुलेको थिएन । ढल निकास नभएर जाम हुँदा आफ्नो पसलका थुप्रै सामान बिग्रने गरेको दीपकले सुनाए । ‘ढल व्यवस्थापनका लागि विभिन्न निकायमा धाएँ तर सुनुवाई भएन,’ दीपकले भने ।
पानी जमेको ठाउँमा सवारी साधन दुर्घटनामा पर्नु सामान्य जस्तै भएको छ । ‘मोटरसाइकलमा सवार वृद्ध दम्पत्तीले ढलको पानी जमेर बनेको तलाउ पार गर्न नसक्दा सडकमा बाइक रोके । चौबाटोमा एउटा सवारी रोकिने बित्तिकै सवारी जाम हुने नै भयो । जाममा परेका सवारी चालकले ति वृद्धलाई गाली गर्न सुरु गरेपछि भनाभन नै भयो’ दीपकले सोमबारको अवस्था बारे जानकारी दिँदै भने ।
पाटन दरबार स्वायरका पछाडि महापालमा पानी जम्ने गरेको वर्षौं भइसकेको १६ नम्बर वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । उनका अनुसार महापाल क्षेत्रमा ढल व्यवस्थापनका लागि महानगरपालिका विकास बोर्डले ४० करोड रुपैयाँ छुट्याएको छ ।
‘लगनखेल, पाटन दरबार स्क्वायर, शंखमुल हुँदै युएन पार्कसम्म ढल व्यवस्थापनको योजना अघि बढिसकेको छ,’ उनले जानकारी दिए ।