'झोले डाक्टर'ले लिए बालकको ज्यान
राजविराज : एक झोले डाक्टरको लापरवाहीले सप्तरीमा एक बालकको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका रामचन्द्र मुखियाका १५ वर्षीय छोरा बलराम मुखियाको सोमबार राति मृत्यु भएको हो।
सामान्य ज्वरो लागेका बलरामलाई झोले डाक्टर तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका ५५ वर्षीय श्यामसुन्दर साहले सुइ लगाइदिएपछि बालकको मृत्यु भएको परिवारका सदस्यले आरोप छ।
सुई लगाएपछि बालकको शरीर निलो भएको र मुखबाट फिंज निक्लिएर मृत्यु भएको मृतकका काका ओमप्रकाश मुखियाले बताए। मृतक बालक तिलाठी कोइलाडीस्थित पब्लिक माविमा कक्षा नौ मा अध्ययनरत थिए।
घरमा पुरुषहरु कोही नभएका बेला मृतककी आमाले साहसँग उपचार गराएको र साहले दुईवटा सुई लगाएपछि बालकको मृत्यु भएको हो। ‘लापरवाही र गलत औषधिका कारण बालकको मृत्यु भएको हो’, अर्का काका उपेन्द्र मुखियाले आँखाभरी आँसुु पार्दै भने, ‘उसलाई कडा कारबाही गर्नुपर्छ।’ मृतकका बुवा रामचन्द्र मुखिया भने दुई वर्षदेखि सउदी अरबमा मजदुरी गर्छन्।
बालकको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मंगलबार साँझ पोष्टमार्टम गरी सप्तकोशी नदीमा अन्तिम संस्कार गरिएको छ। हनुमाननगर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा कार्यरत साह दुई वर्ष अघि अवकाश पाएपछि गाउँमा स्वास्थ्य पचारको काम गर्दै आएका छन्।
सप्तरीमा दर्जनौ झोले डाक्टर बिना अनुमति क्लिनिक सञ्चालन गरेर बसेका छन्। तर, सम्बन्धित निकाय मौन छन्। जिल्लामा गाउँदेखि शहरसम्म झोले डाक्टरको बिगबिगी भए पनि सम्बन्धित निकायले कुनै कानुनी उपचार गर्न सकेको छैन। सरकारले अनुगमन नगर्दा झोले डाक्टरो संख्या बढ्दै गएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए। झोले डाक्टर साह भने फरार छन्।