गंगामायको अवस्था बुझ्न वीर अस्पतालमा कांग्रेस नेता
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको प्रतिनिधि टोलीले वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । छोरा कृष्ण अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै अनसनरत अधिकारीको स्वास्थ्य उपचारका बारेमा जानकारी लिन प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरी, लक्ष्मी परियार, डा. अमरेश कुमार सिंह, प्रमिला राई, बिमला नेपाली, देवप्रसाद तिमिल्सिना र नमिताकुमारी चौधरी वीर अस्पतालमा पुगेका हुन्।
कांग्रेस प्रतिनिधि टोलीसँग अधिकारीले आफ्ना मागप्रति वर्तमान सरकारले कुनै चासो नदेखाएकाले सरकारको कुनै विश्वास नरहेको भन्दै गुनासो गरेकी छिन् । अधिकारीसँग छोटो कुरा गर्दै कांग्रेस प्रतिनिधि टोलीले गंगामायाको स्वास्थ्य अवस्था र मागका सम्बन्धमा आफूहरु गम्भीर रहेको बताउँदै संसदमा कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाए ।
प्रतिनिधि टोलीले वीर अस्पतालका कार्यकारी निर्देशक डा. भुपेन्द्र बस्नेत र स्वास्थ्य उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यका बारेमा जानकारी लिदाँ गंगामायाको मुटुको चाल कम हुनुका साथै स्वास्थ्य अवस्था कमजोर भएकाले औषधि दिनलाई समेत कठिनाइ भएको बताए ।
बुधबारको कांग्रेस संसदीय दलको बैठकले अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था र जुम्लामा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न एक प्रतिनिधि टोली पठाउने निर्णय गरेको थियो । डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार टोली जुम्ला जाँदै छ।