बहाव क्षेत्र मासिँदा बाढीको उच्च जोखिम
बुटवल : ०७२ साउन ११ मा तिनाउ नदीमा आएको बाढीले बुद्धनगरका रुकबहादुर दर्जीको आँगन आधा बगायो। सोही दिनको बाढीले बुद्धनगर–हात्तीसुड जोड्ने झोलुंगे पुलसहित दुई दर्जन घरटहरासमेत बगाएको थियो। गत वर्षसमेत झोलुंगे पुल छेउका केही घर तिनाउ नदीमा खसे।
यस वर्ष खोलामा बाढी आउन थालेपछि बुद्धनगरका दर्जीको निद्रा हराएको छ। ‘आकाश अँध्यारो भयो भने एक जनाले रातभर ड्युटी गर्नुपर्छ, ७२ वर्षीया उनले भने, ‘रातभर जागा बस्ने, दिनभर सुत्न थालेका छौं।’ आँगन नै बगाएपछि टहराको भित्रैबाट खोलाको भेल देखिन्छ।
दर्जी मात्रै होइन, तिनाउ बगरछेउ बस्ने करिब दुई हजार घरपरिवारको अवस्था उस्तै छ। तिनाउ बगरमा दशकदेखि बस्दै आएकाहरू बाढीको उच्च जोखिममा छन्। तैपनि, नदीको बहाव क्षेत्रमा टहरा बन्ने क्रम रोकिएको छैन। न त बुटवल उपमहानगरले सुरक्षित स्थानमा व्यवस्थापन गरेको छ।
पछिल्लो पाँच वर्षमा तिनाउ बगरमा बनेका करिब दुई सय टहरा बगे। बुटवल उपमहानगरपालिकाले गरेको सर्वेक्षणअनुसार तिनाउ बगरमा ६ हजार ५ सय घर टहरा बनेका छन्। यीमध्ये ५० प्रतिशत घर बाढीको जोखिममा छन्।
तिनाउमा बाढी सुरु भएपछि नगरपालिकाले सतर्क रहन चेतावनी दिएको छ। तर, नदी छेउमा बसोबास गर्नेहरूलाई हटाउने प्रयाससमेत भएको छैन। सुकुम्बासीको नाममा पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलमुनिदेखि गत वर्ष बाढी हिँडेकै स्थानमा करिब पाँच सय टहरा निर्माण भएका छन्।
‘करिब पाँच सयजति घरटहरा खोलो हिँडेकै स्थानमा बनेका छन्, बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले भने, ‘उहाँहरूलाई बाढी आउन सक्छ, सतर्क रहनुहोला भनेका छौं।’
तिनाउ नदी छेउमा बस्ने अधिकांश गैरासुकुम्बासी रहेको नगरपालिकाका पदाधिकारी बताउँछन्। तर, ती बस्ती खाली बनाउने योजना भने छैन। अव्यवस्थित बसोबास भएकै क्षेत्रमा पूर्वाधार निर्माण गरी नगरपालिकाले लाखौं रकम खर्चिएको छ। चालु आर्थिक वर्षमा मात्रै ८० लाखभन्दा बढी रकम नदीको बग्ने बस्तीमा खर्च भएको छ।
बिजुली, खानेपानी, सडक कालोपत्रे, नाली निर्माणका नाममा रकम छुट्याउने गरिएको वडाध्यक्ष क्षेत्रीले बताए। अव्यस्थित बसोबास क्षेत्रमा रहेका टोल समितिमार्फत योजना माग हुने गरेको छ। बुटवलको भोट बंैकका रूपमा रहेको सो क्षेत्रमा स्थानीय स्तरका मात्रै नभई केन्द्रीय योजनासमेत पर्ने गरेका छन्।
बिनापाते, हात्तीसँुड, तिनाउ नगर, मजुवा, बुद्धनगर, प्रगतिनगर बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन्। यी बस्तीमा बस्ने करिब १५ हजार जनसंख्या उच्च जोखिममा रहेको विज्ञहरू बताउँछन्।
अत्यधिक दोहनले तिनाउ गहिरिएपछि बगरमा बस्ती बस्ने क्रम बढेको हो। यो जोखिमयुक्त क्षेत्रमा आवासीय पक्की घर मात्रै होइन, विद्यालयसमेत निर्माण भएका छन्। यसले ठूलो क्षति निम्त्याउने सरोकारवाला बताउँछन्।
उत्तर क्षेत्रमा कटान गरेर क्षति पु¥याउने तिनाउ नदीबाट दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। रुपन्देहीका मर्चवारी गाउँपालिकाका अधिकांश खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ। गत वर्ष भर्थापुर डुवानमा पर्दा दुई महिनासम्म विद्यालय बन्द भएका थिए। तर, जोखिमयुक्त क्षेत्रमा बाढी रोक्ने कुनै उपाय अवलम्बन भएको छैन। जिल्ला दैवीप्रकोप समितिमा जोखिमयुक्त क्षेत्रसमेत तोकिएको छैन। प्रमुख जिल्ला अधिकारी उदय रानाले समितिले पहिल्यै गर्नुपर्ने काम नगरेको बताउँछन्। केही समयअघि मात्रै रुपन्देही आएका उनले विपद् व्यवस्थापनका लागि स्थानीय सरकारलाई तयारी गर्न भनिएको बताए।