गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ
काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चारजनालाई पक्राउ गरेको छ। परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर-त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेष्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैँझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
त्यस्तै नागढुंगाबाट लागूऔषधसहित दुई पक्राउ परेका छन्। परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले बिहीबार बिहान लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९० नंको यात्रुवाहक बसको जाँचका क्रममा लागूऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो।प्रहरीले उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको छ।रासस