सभामुखले मागे संसदीय समितिका सदस्यकाे नाम
काठमाडौं : सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरे ।सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग बिहीबार कुराकानी गर्दै उनले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए ।
राजनीतिक दलले संसदीय समितिमा रहने सदस्यको नाम नपठाएकै कारण समिति गठन हुन सकेको छैन । सभामुख महाराले संविधान कार्यान्वयनका क्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानूनका विधेयक संसद्मा पठाउन पनि आग्रह गरे।
नयाँ संविधान जारी भई लागू भएपछि पुराना कानूनको संशोधन तथा नयाँ कानून गरी संसद्मा १०० विधेयक आउनुपर्ने हुन्छ । कानून पारित गर्नुपर्ने समयावधि अत्यन्त कम भएकाले सभामुख महराले सरकारलाई सो आग्रह गरे ।
सदनमा आफूले सत्ता पक्ष र प्रतिपक्ष दुवैका आवाजलाई समान महत्व दिने भन्दै उनले निर्णायक अवस्था आउँदा बहुमतकै सहारा लिनुपर्ने अवस्था रहेको स्पष्ट पारे ।संसदीय समिति गठन हुँदा चार ठूला दलबाहेकका साना दललाई पनि कुनै न कुनै समितिमा समावेश गराउन आफूले पहल गर्ने सभामुख महराले भने ।