नेता रामशरण महत भन्छन् : कांग्रेसको आर्थिक नीतिले मुलुक आजकाे अवस्थाको पुगेको हो
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. रामशरण महत कांग्रेस सरकारले ल्याएको आर्थिक नीतिले नै अहिले मुलुक अगाडि बढिरहेको जिकिर गरेका छन्।
कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा बिहीबार आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको विचारगोष्ठीमा उनले नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान कोइरालाको ठूलो योगदान छ भन्दै कांग्रेसले आर्थिक उदारीकरणलाई अगाडि बढाएका कारण अहिले मुलुक यस अवस्थामा आइपुगेको भनाइ राखे।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कांग्रेसले मुलुकको आर्थिक नीतिलाई नेतृत्व दिएको बताउँदै वर्तमान सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको आरोप लगाए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माणको चाहना गिरिजाबाबुमा रहेको बताउँदै गिरिजाबाबु विकासप्रेमी नेता भएको बताए ।
श्रमिक प्रतिष्ठानका उपाध्यक्ष सुधा दाहाल र जिपी प्रतिष्ठानका सदस्य हरि ढुंगानाले स्व कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउँदै अहिले मुलुकमा उहाँजस्तो नेताको अभाव भएको बताए ।
श्रमिक प्रतिष्ठानका महासचिव सूर्य नेपालले विसं २०६४ मा नेता कोइराला छँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले गिरिजाबाबुका नाममा थुप्रै सामाजिक काम गर्दै आइरहेको जानकारी दिए।